वीरगंज, २९ जेष्ठ । वीरगंज महानगरपालिकाद्वारा सञ्चालित बहिरा विद्यालयका विद्यार्थीहरूको शैक्षिक वातावरण तथा दैनिक जीवनयापनलाई सहज बनाउन गौतम समाज कल्याण संस्था (Gautam Society for Social Welfare) ले आवश्यक सामग्री सहयोग गरेको छ।
बहिरा विद्यालयबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै गौतम विद्यालयद्वारा सञ्चालित उक्त संस्थाले विद्यालयको आवश्यकताअनुसार ५ थान खाट र १२ थान पङ्खा सहयोगस्वरूप उपलब्ध गराएको हो। सहयोग सामग्रीहरू बिहीबार आयोजित एक औपचारिक कार्यक्रमबीच विद्यालयलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बहिरा विद्यालयका प्रधानाध्यापक सगुन श्रेष्ठ, दोभाषे श्रीमती जानकी थापा मगर तथा विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। त्यस्तै गौतम समाज कल्याण संस्थाका अध्यक्ष गणेश क्षेत्री, सचिव रमेश शर्मा, सदस्य दिनेश क्षेत्रीलगायतको सहभागिता रहेको थियो।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका प्रतिनिधिहरूले विशेष आवश्यकता भएका विद्यार्थीहरूको शिक्षा, स्वास्थ्य तथा आवासीय सुविधामा सहयोग पुर्याउने उद्देश्यले सामग्री उपलब्ध गराइएको बताए। उनीहरूले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय तथा सेवामूलक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय प्रशासनले संस्थाले उपलब्ध गराएको खाट र पङ्खाले विद्यार्थीहरूको बसाइ तथा अध्ययन वातावरणलाई थप सहज र व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
यस प्रकारको सहयोगले समावेशी शिक्षा, सामाजिक उत्तरदायित्व तथा सामुदायिक कल्याणप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको सरोकारवालाहरूले बताएका छन्।







