स्वर्गीय राजा महेन्द्रको १०७ औँ जन्मजयन्ती वीरगंजमा दीप प्रज्वलन गरी मनाइयो

वीरगंज, जेष्ठ  ३० । नेपाल विद्वत् परिषद् जिल्ला कार्य समिति वीरगंज–पर्साले स्वर्गीय श्री ५ महेन्द्र वीर विक्रम शाहदेवको १०७ औँ जन्मजयन्तीको अवसरमा शनिबार वीरगञ्जको घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाएको छ।

परिषद्का जिल्ला अध्यक्ष श्री रामनारायण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै स्वर्गीय राजा महेन्द्रप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा नेपाल विद्वत् परिषद्का जिल्ला उपाध्यक्ष हरिनारायण साह, नगर अध्यक्ष पुरुषोत्तम सिंह, जिल्ला सदस्यहरू प्रेमनारायण साह, किशोरी साह तथा सन्दीप पटेलको उपस्थिति रहेको थियो।त्यसैगरी नेपाल राष्ट्रवादी शान्ति समूह बारा–पर्साका संस्थापक तथा नेपाल राष्ट्रवादी संघर्ष समिति केन्द्रीय सदस्य एवं अञ्चल संयोजक अब्दुल सतार अन्सारी, नेपाल विश्व हिन्दु महासंघका शिवशंकर साह, नेपाल राष्ट्रवादी संघर्ष समितिका महेन्द्र प्रसाद साह, प्रमोद शर्मा, पुनम देवीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले स्वर्गीय राजा महेन्द्रले नेपालको राष्ट्रिय एकता, विकास तथा राष्ट्रनिर्माणमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गरेका थिए।

नेपाल विद्वत् परिषद् जिल्ला कार्य समिति वीरगञ्ज–पर्साले आयोजना गरेको उक्त कार्यक्रम श्रद्धा, सम्मान र स्मरणका साथ सम्पन्न भएको परिषद्ले जनाएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *