विवाहित महिलाको शंकास्पद मृत्यु

रौतहट, १५ माघ । रौतहटको सदरमुकाम गौर नगरपालिका–४, गढवा टोलमा एक जना विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । मृतकको माइती पक्षले दाइजोको निहुँमा हत्या भएको आरोप लगाएको छ ।
मौलापुर नगरपालिका, बौधाटोल घर भइ हाल गौर–४ मा बस्दै आएका सुनिल बैठाकी २१ वर्षीय श्रीमती पुनम बैठा दुर्ई दिन अघि आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । पुनमले घरको ढोका भित्रैबाट लगाएर आत्महत्या गरेको घरका सदस्यहरूले बताउँदै आएका छन् ।
भारतको बिहार, मोतिहारी जिल्ला, रूसुलपुर घर भइ हाल काठमाडौंमा व्यापार गरी बस्दै आएका मृतकको बुबा संजय बैठाले २०७७ साल जेठ महिनामा सामाजिक परम्परा अनुसार छोरी पुनमको सुनिल बैठासँग विवाह गरेको बताए । दाइजोको विषयलाई लिएर छोरी पुनमलाई घर पक्षकाले शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाउँँदै उनले ज्वाइँ सुनिल बैठा र उनकी आमा मिलेर आफ्नो छोरीको हत्या गरेर घरमा झुण्ड्याएको दाबी गरेका छन् ।
बिहेमा नगद रुपियाँँ कम दिएको, पलङ नदिएको भन्दै यातना दिँदै आमाछोरा मिलेर छोरी पुनमको हत्या गरेको मृतकका बुबाको दाबी छ । ज्वाइँ संजय बैठाले आफ्नो बुबा बिजुली बैठाको इशारामा यो घटना गरेको पुनमको माइती पक्षको आरोप छ ।
माइती पक्षले जिल्ला प्रहरी कार्यालय रौतहटले जाहेरी लिनसमेत नमानेको गुनासो गरेको छ । तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एलिजा गिरीले मृतकको पोष्टमार्टम रिपोर्ट नआएसम्म र घटनावारे अनुसन्धान पूरा नभएसम्म हत्या हो कि आत्महत्या भनेर किटान गर्न नमिल्ने बताइन् । पोष्टमार्टम रिपोर्ट र अनुसन्धानबाट हत्या ठहर भएमा जोसुकै अपराधी भए पनि कारबाईको दायरामा ल्याउने उनले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *