बाइपास रोड ओभरब्रिजबाट करिब ८३ किलो गाँजासहित एक नेपाली युवक पक्राउ

रक्सौल, पुर्वी चम्पारण १४ पुष । गुप्त सूचनाका आधारमा गरिएको जाँचका क्रममा रक्सौलस्थित आईसीपी बाइपास रोडको ओभरब्रिज नजिकबाट हरैया प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक नेपाली युवकलाई पक्राउ गरेको छ।

यस सम्बन्धमा एसडीपीओ मनीष आनन्दले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै नेपालबाट फर्किँदै गरेको एक पिकअप गाडीमा तहखाना बनाई गाँजा लुकाएर ल्याइँदैछ भन्ने गोप्य सूचना प्राप्त भएपछि आफ्नो नेतृत्वमा विशेष टोली गठन गरी आईसीपी बाइपास रोडको ओभरब्रिज नजिक सवारी साधन जाँच तथा छापेमारी गरिएको बताए।

छापेमारीका क्रममा हरैया थाना क्षेत्रअन्तर्गत ओभरब्रिज माथि रोकिएको पिकअप गाडीभित्र बनाइएको तहखानाबाट ८२.९६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। गाँजासहित अंकुश गुप्ता, पिता ललन प्रसाद, स्थायी ठेगाना वीरगञ्ज (नेपाल) लाई पक्राउ गरी आवश्यक मुद्दा दर्ता गर्दै थप अनुसन्धान अगाडि बढाइएको छ।

पक्राउ परेका युवक प्रयोग गर्दै आएको पिकअप गाडीको दर्ता नम्बर BR01GD2907 रहेको छ। बरामद गाँजा कहाँ लैजान लागिएको थियो, कसलाई डेलिभरी दिनुपर्ने थियो तथा यस अवैध कारोबारमा अरू को–को संलग्न छन् भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा हरैया थानाध्यक्ष किशन कुमार पासवान तथा अपर थानाध्यक्ष सोनलाल कुमारको उपस्थिति रहेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *