भारत–नेपाल सीमाबाट एसएसबीद्वारा एक विदेशी नागरिक पक्राउ

अभिलाष गुप्ता

रक्सौल, पूर्वी चम्पारण २६ पुष । भारत–नेपाल सीमा क्षेत्रमा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का जवानहरूले बिना वैध भिसा अवैध रूपमा नेपालबाट भारत प्रवेश गर्न खोजिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरेका छन्।

४७ औँ वाहिनी सशस्त्र सीमा बल, रक्सौलका कमाण्डेन्ट सञ्जय पाण्डेयको निर्देशनमा प्राप्त सूचनाका आधारमा, वाहिनी कार्यक्षेत्र अन्तर्गत बोर्डर पिलर नम्बर ३९०/३३ नजिक भारत–नेपाल मैत्री पुलमा तैनाथ ४७ औँ वाहिनीको बोर्डर इन्टरएक्सन टिमले एक भारतीय नागरिक सहित एक श्रीलंकाली नागरिकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने श्रीलंकाली नागरिकको नाम हनीफ काची मुहम्मद, पिता काची मुहम्मद रहेको छ। प्रारम्भिक सोधपुछका क्रममा उनीसँग वैध भारतीय भिसा नरहेको पुष्टि भएपछि कानुनी कारबाहीका लागि हरैया प्रहरी चौकीलाई जिम्मा लगाइएको छ। पक्राउ परेका श्रीलंकाली नागरिकको साथबाट भारतीय, नेपाली तथा अन्य विदेशी मुद्रा, क्यामेरा र मोबाइल फोन समेत बरामद गरिएको एसएसबीले जनाएको छ।

एसएसबीका अनुसार, पक्राउ परेका श्रीलंकाली नागरिक जनवरी ५ मा उज्बेकिस्तानबाट पर्यटक भिसा लिएर नेपाल आएका थिए। त्यसपछि नेपाल हुँदै भारतको केरल राज्य जानका लागि सीमा पार गर्ने क्रममा उनी पक्राउ परेका हुन्। उनको साथमा रहेका भारतीय नागरिकको पहिचान केरल निवासी रौशिद कनोत का रूपमा भएको छ।

जानकारी अनुसार, ती दुईबीच वर्षौँ अघि कतारमा काम गर्ने क्रममा भेट भई मित्रता बढेको थियो। श्रीलंकाली नागरिक नेपाल आएपछि भारतीय नागरिकले उनलाई रिसिभ गरी केरल लैजान खोज्दा सीमा क्षेत्रमा पक्राउ परेको जनाइएको छ।
४७ औँ वाहिनीका असिस्टेन्ट कमाण्डेन्ट उत्तम घोषले जानकारी दिँदै सोधपुछका क्रममा श्रीलंकाली नागरिक हनीफ काची मुहम्मदले केरलमा रहेका आफ्नो साथीको निमन्त्रणामा घुम्न जान लागेको बयान दिएका छन्।

उल्लेखनीय छ कि यसअघि पनि डिसेम्बर ३१ मा भारत–नेपाल सीमा क्षेत्रबाट एसएसबीले तीन जना संदिग्ध बंगलादेशी नागरिकलाई पक्राउ गरी हरैया प्रहरीलाई बुझाएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *