राष्ट्रीय स्वयंसेवक संघको शताब्दी वर्षको अवसरमा रक्सौलमा आयोजना हुने भव्य हिन्दू सम्मेलनको तयारी तीव्र

अभिलाष गुप्ता

रक्सौल, १५ माघ । राष्ट्रीय स्वयंसेवक संघको शताब्दी वर्षको अवसरमा रक्सौलमा आयोजना हुने भव्य हिन्दू सम्मेलनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। समग्र हिन्दू उत्थान समितिको आयोजनामा रक्सौल छत्रपति शिवाजी बस्तीअन्तर्गत पोस्ट अफिस रोडस्थित श्रीराम जानकी मन्दिर सह विवाह परिसरमा शनिबार ३१ जनवरी २०२६ का दिन साँझ ५ बजेदेखि राति ८ बजेसम्म सम्मेलन सम्पन्न हुने तय भएको छ। यस ऐतिहासिक कार्यक्रमलाई लिएर रक्सौल नगर तथा आसपासका क्षेत्रमा उत्साहको माहोल देखिएको छ।

सम्मेलन सफल बनाउन समितिका पदाधिकारी तथा स्वयंसेवकहरू निरन्तर बैठक, जनसम्पर्क, पर्चा वितरण तथा व्यवस्थागत तयारीमा जुटिरहेका छन्। सम्मेलनमार्फत हिन्दू समाजलाई संगठित गर्ने, सांस्कृतिक चेतनालाई सशक्त बनाउने तथा सामाजिक समरसताको सन्देश प्रवाह गर्ने उद्देश्य लिइएको छ।

आयोजनास्थलमा मञ्च निर्माण, ध्वनि व्यवस्था, अतिथि स्वागतलगायत आवश्यक तयारीलाई अन्तिम रूप दिइँदैछ। साथै नगरभर पोस्टर–ब्यानर तथा प्रचार अभियानमार्फत आम नागरिकलाई सम्मेलनमा सहभागी गराउने प्रयास भइरहेको छ।

समितिका सचिव धीरज कुमारले जानकारी दिँदै राष्ट्रिय स्वयंसेवक संघको शताब्दी वर्षमा आयोजना गरिएको यो हिन्दू सम्मेलन समाजका लागि प्रेरणाको स्रोत बन्ने र हिन्दू एकता तथा राष्ट्रभक्तिको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। सम्मेलनमा समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

उहाँका अनुसार तीन सत्रमा सम्पन्न हुने कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघका जिल्ला प्रचारक शिवम सोनूजीको बौद्धिक सम्बोधन रहनेछ भने श्रीराम जानकी म्युजिकल ग्रुप, जानकी स्थान सीतामढ़ीकी सञ्चालिका सुप्रसिद्ध भजन गायिका जूहीराज एण्ड मण्डलीद्वारा संगीतमय भजन प्रस्तुत गरिनेछ। सम्मेलनको समापन प्रसाद वितरणसँगै गरिनेछ।

समितिले रक्सौलमा आयोजना हुने यो हिन्दू सम्मेलन सामाजिक चेतना र सांस्कृतिक पुनर्जागरणको सशक्त मञ्च सावित हुने विश्वास व्यक्त गरेको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *