29 May ,2026,Friday

spot_img
spot_img
spot_img
spot_img

शिक्षाको महत्व बुझाउने ‘लालीबजार’

भेषराज कार्की/रासस
काठमाडौँ, १५ जेठः नेपाली चलचित्र ‘लालीबजार’ पछिल्ला दिनमा सम्मानित अदालतको आदेश, सम्बद्ध समुदायबाट आउने विरोध–समर्थन र एउटी आमाको सङ्घर्षको कथालगायत विषयवस्तुका कारण चर्चामा छ ।

झट्ट नाम सुन्दा यो ‘पारिवारिक चलचित्र होइन’ की भन्ने पनि लाग्नसक्छ । नाममात्र होइन, चलचित्रको पहिलो सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का शृङ्गारिएर ढोकामा उभिनुभएको थियो । एउटी गर्भवती ढोकामा सजिएर बस्नुले कलात्मक रुपमा धेरै तथ्यलाई चित्रण गरेको थियो । यद्यपि, चलचित्र प्रदर्शन भएपछि यो पूर्ण रुपमा पारिवारिक चलचित्र रहेको भनी दर्शकले प्रतिक्रिया दिइरहेका छन् ।

यस वर्ष प्रदर्शन भएका चलचित्रको तुलनामा घरेलु बजारमा सर्वाधिक व्यापार गरेका कारण प्रदर्शनको चौथो सातामा पनि यो चलचित्र हर्ने दर्शकको भिडभाड उत्तिकै देखिन्छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शनिबारसम्म यसको व्यापार रु पाँच करोड ७६ लाख पुगिसकेको छ ।

आमा र छोरीको कथामा चलचित्र केन्द्रित छ । शासकको शोषणलाई ‘प्रथा’ मानिरहेकी आमाले छोरीलाई शिक्षा दिलाउन गर्ने सङ्घर्ष चलचित्रको मुख्य विषयवस्तु हो । कुनै पनि समुदायमा शिक्षाको ज्योतिले ल्याउनसक्ने परिवर्तनलाई चलचित्रमा देखाइएको छ । वादी समुदायकी आमाले आफूविरुद्ध भएको शोषणको जानकारी शिक्षाका माध्यमले पाउँछिन् । त्यसपछि उनी आफ्नो अधिकारको लागि समाज र सामन्तसँग लडछिन् । चलचित्र निर्माण गर्नुको मुख्य उदेश्य नै शिक्षाले ल्याउने परिवर्तनलाई दृश्यभाषाका माध्यमले बुझाउनु रहेको अभिनेता रवीन्द्रसिंह बानियाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “हामीले चलचित्र तयार गर्दा नै समुदायलाई कुनै पनि किसिमले ठेस नपुगोस् भनेर सजकता अपनाउँदै पटकथा तयार गरेका थियौँ । हाम्रो उदेश्य नै शिक्षाले जीवनमा ल्याउने परिवर्तन देखाउनु थियो । एउटा समुदायमा ‘प्रथा’ भनेर गरिएको शोषणलाई शिक्षाले नै हटाउन मद्दत गर्छ, हामीले दिएको सन्देश दर्शकसम्म स्पष्ट रुपमा पुगेको छ ।”

उहाँले कथामा रहेकी पात्र वादी समुदायको रहे तापनि चलचित्रले आमा र छोरीकै कथालाई मुख्य कथानक बनाएको बताउनुभयो । सोही कारणले पनि होला पछिल्लो समय चलचित्र हेर्न आउनेमा विद्यार्थी बढी देखिन्छन् । विद्यालयले नै विद्यार्थी शिक्षाको महत्वबारे बुझाउन चलचित्र देखाइरहेका छन् । अभिनेता बानियाँले चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘युनिभर्सल’ प्रमाणपत्र दिएका कारण सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने बताउनुभयो ।

“पछिल्लो समय म नेपालभर नै दर्शकसँग भेटघाट गर्न पुगेँ, सबै उमेर समूहका दर्शक चलचित्र हेर्न आएको पाएँ । यसपटक हामीले मनोरञ्जनसँगै चलचित्रमार्फत सन्देश पनि दिएका छौँ, जसले दर्शकमा सुक्ष्म रुपमा भए पनि प्रभाव पारेको छ । सोही कारण शिक्षक र विद्यालयले पनि चलचित्र हेराउन थालेका छन्”, अभिनेता बानियाँले भन्नुभयो ।

उक्त चलचित्रमा वादी समुदायकी महिलाको भूमिकामा अभिनेत्री खड्का देखिनुभएको छ । चलचित्रलाई वादी समुदायको पृष्ठभूमिमा रहेर तयार गरिए तापनि चलचित्र भने आमा र छोरीकै कथामा केन्द्रित रहेकी अभिनेत्री खड्काले बताउनुभयो ।

“यो चलचित्रमा आमाले छोरीको रक्षाका लागि के सम्म गर्न सक्छिन् भन्ने देखाइएको छ । ‘प्रथा’ भनेर मानिएको परम्परागत चलन ‘कुप्रथा’ रहेछ भन्ने ज्ञान र त्यसविरुद्ध आवाज उठाउने आँट शिक्षाबाट प्राप्त भएको छ, यसकारण पनि यो सामाजिक दायित्व बोकेको एउटा चलचित्र हो”, अभिनेत्री खड्काले स्पष्ट गर्नुभयो ।

उहाँले आफ्नो पात्रलाई तयार गर्न छायाङ्कन गरिएकै स्थल बर्दियामा पुगेर मान्छे भेटघाट गर्नुभएको थियो । आफ्नो पात्र वा चलचित्रको कथाले कुनै समुदायलाई चोट नपु¥याओस् भन्नेमा उहाँसँगै सम्पूर्ण निर्माण समूह नै सजग थिए । सोही कारण चलचित्र प्रदर्शन अगाडि विवादमा आए तापनि वादी समुदायकै अभियन्ताले तारिफ गरेका छन् । वादी समुदायकै अभियन्ताका रुपमा चिनिएकी देविसरा वादी ‘हन्ना’ले चलचित्रले समुदायमा शिक्षा महत्वलाई प्रष्ट्याएको बताउनुभयो ।

“मैले चलचित्रको पोस्टर हेर्दा कतै हाम्रो समुदायलाई ठेस पुग्ने कथा त छैन भन्ने सोचेकी थिएँ, तर चलचित्र हेरेपछि यो त हाम्रो समुदायले हेर्नैपर्ने रहेछ भन्ने लाग्यो । म पनि एक संस्थामार्फत हाम्रो समुदायको बालबालिकालाई शिक्षा दिने र रोजगारका लागि अब्बल बनाउने कार्यमा लागिरहेकी छु, यो सब शिक्षाकै कारण सम्भव भएको हो । त्यसैले गर्दा चलचित्रले दिएको सन्देश र हामीले समुदायको उत्थानका लागि गरिरहेको सङ्घर्ष मिलेको छ”, उहाँले भन्नुभयो ।

चलचित्र निर्माण गर्ने सल्लाह हुँदा नै यसलाई सन्देशमूलक र मनोरञ्जनात्मक बनाउन पटकथा लेखनमा धेरै समय खर्चिएको पटकथाकार प्रदीप भट्टराईले बताउनुभयो ।

“यो चलचित्र हामीले जसका लागि बनाएका छौँ, वा जुन समुदायको कथा भनेका छौँ, उहाँहरूलाई आफ्नो लागोस् भनेर हामीले धेरै छलफल र सल्लाह गरेर पटकथा तयार गरेका थियौँ । झण्डै एक वर्ष हामीले पटकथामा छलफल गरेर विज्ञको सल्लाह लिएर, स्थानीय जनता तथा सम्बद्ध क्षेत्रका अभियन्तासँग परामर्श गरेर चलचित्र छायाङ्कन गरेका थियौँ । चलचित्र निर्देशक र कथाकारको कल्पना पनि हो, तर हामीले तयार गर्दा यसलाई निकै सावधानीपूर्वक तयार गरेका छौँ”, पटकथाकार भट्टराईले भन्नुभयो ।

चलचित्रको सार्वजनिक सामग्रीले गर्दा दर्शक पहिला पारिवारिक चलचित्र होकी होइन भन्नेमा द्विविधामा हुनुहुन्थ्यो, यद्यपि प्रदर्शनका दिनहरु बित्दै गएपछि दर्शकको चाँप झन् बढ्दो छ । आज शुक्रबारदेखि प्रदर्शनको चौथो सातामा प्रवेश गरेको चलचित्र ‘लालीबजार’ मा दर्शक बढिरहेका छन्, प्रदर्शकले देशभर १६० ‘शो’ उपलब्ध गराएका छन् । यसले गर्दा पनि चलचित्रले आगामी दिनमा घरेलुबजारमा दर्शकको राम्रो साथ पाउने अनुमान गर्न सकिन्छ ।

‘टल्क जङ्ग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरूष’, ‘महाजात्रा’जस्ता चलचित्र निर्माण गरेको षट्कोण आटर््सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ मा अभिनेत्री खड्का, अभिनेता बानियाँ, विशाल देवकोटा, मुकुन्दकुमार श्रेष्ठ, प्रशंसा सुवेदी, बालकलाकार समाइरा थापालगायतको अभिनय रहेको छ । चलचित्रलाई यम थापाले निर्देशन गर्नुभएको हो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल