पर्सामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना,सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाईने : एसपी शाह

वीरगंज । पर्सा प्रहरीले चाडपर्वलाई ध्यानमा राखेर वीरगंजका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको हो।

आउँदै गरेको नेपालीहरूको मुख्य चाड दसैँ, तिहार र छठमा यात्रा गर्नेहरूको सहजताका लागि सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्वका बेला यात्रुलाई हैरानी हुनसक्ने भन्दै वीरगंजको बसपार्क, परवानीपुर चोक र भारतबाट नेपालको प्रवेश बिन्दु शङ्कराचार्यद्वार अगाडि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहले जानकारी दिए।

पर्वको समयमा आफ्नो गन्तव्य तर्फ जाने यात्रुहरूले भोग्ने गरेको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको प्रहरी उपरीक्षक शाहले बताए। उनले समस्या परेको खण्डमा सोझै यात्रु सहायता कक्षामा पुगेर त्यहाँ खटाइएका प्रहरी प्रतिनिधिलाई सम्पर्क गर्न यात्रुहरूसँग आग्रह पनि गरे ।

‘चाडपर्वको मौका छोपी साना तथा ठूला दुरीका सवारीसाधनले यात्रुलाई ठग्ने, बढी भाडा असुल गर्ने, क्षमता भन्दा बढी यात्रु चढाउने जस्ता गुनासो आउने गरेका छन्,’ प्रहरी उपरीक्षक शाहले भने, त्यस्तो समस्यालाई न्यूनीकरण गर्दै यात्रुलाई सुरक्षित ढङ्गबाट गन्तव्य तर्फ पुर्‍याउने हाम्रो उद्देश्य हो । हालसम्म यसमा सयौँ यात्रुले यसको लाभ उठाइसकेका छन् ।’

त्यस्तै यात्रा गर्ने क्रममा हुने चोरी, डकैती, लुटपाट नियन्त्रण, सवारीसाधनले मापदण्ड अनुसार बुज्रुग, महिला र अपाङ्गता भएका व्यक्तिलाई दिनुपर्ने सहुलियतको निगरानी गर्न पनि सहायता कक्षले सहयोग पुर्‍याउने उनको विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *