वीरगंज, २५ कात्तिक । त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले प्रथम वीरगंज गोल्डकपको उपाधी उचालेको छ ।
वीरगंजस्थित आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीलाई टाइब्रेकरमा २-० ले पराजित गर्दै पुलिसले उपाधी उचालेको हो ।
प्रतिस्पर्धात्मक विभागीय फाइनल भिडन्तको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी नतिजा टाइब्रेकरबाट निकालिएको हो । टाइब्रेकरमा आर्मीका चार खेलाडीको प्रहार फितलो बन्न पुग्दा पुलिसले सिजनकै पहिलो उपाधी उचाल्न सफल भएको हो ।
टाइब्रेकरमा पुलिसका लागि रामचन्द्र वाजी र बुद्ध तामाङले गोल गर्दा हुचोल राईको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरे । यता आर्मीका कप्तान नवयुग श्रेष्ठ, बिमल पाण्डे, सन्तोष केसी र जितेन्द्र कार्कीको प्रहारले जाली चुम्न सकेन ।
कप्तान श्रेष्ठको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्दा कार्कीको प्रहार पोस्टमा ठोक्किन पुगेको थियो । यसैगरी पाण्डे र केसीको प्रहारलाई बिफल तुल्याउदै पुलिसका गोलरक्षक शत्रुधन चौधरीले टिमलाई उपाधी दिलाए ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपाधी विजेता पुलिस क्लबलाई रु ११ लाख ११ हजार एक सय ११ र ट्रफी प्रदान गरे ।
वीरगंज महानगरपालिकाकै उपमेयर ईम्तियाज आलमले उपविजेता आर्मी क्लबलाई रु ५ लाख ५५ हजार ५ सय ५५ प्रदान गरे ।
यो पुरस्कार राशि मधेस प्रदेशमा आयोजना हुने प्रतियोगिता मध्येको उच्च रहेको आयोजकले जनाएको छ ।
वीरगंज महानगरपालिकाको मुख्य सहयोग र भेट्रान्स सिटि क्लब वीरगंजको आयोजनामा कार्तिक १८ गतेदेखी सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागि भएका थिए ।