दुर्गा प्रसाईद्वारा मंसिर ३० गतेभित्र समानान्तर सरकार चलाउने घोषणा

काठमाडौं, १७ मंसिर ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँँदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने घोषणा गरेका छन् । आइतवार पत्रकार सम्मेलन गरी प्रसाईंले यस्तो घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनका लागि आफ्नो आन्दोलन निर्णायक बनाउने बताए । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने पनि दाबी गरे ।
‘वैदिक सनातन सापेक्ष मुलुक यो देशलाई शान्ति र अक्षूण राख्नलाई राजसंस्थाको मुद्दालाई थप स्थापित गराउनेछौ । अव आउने २०८० साल फागुन १ गते मेचीमा बालेको दियो काठमाडौंको वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र सापेक्ष हिन्दु राष्ट्र बनाई यो जनविद्रोह सशक्त बनाउँदै व्यवस्था परिवर्तनका लागि मूर्त रूप दिनेछौ’, पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै प्रसाईंले भने, ‘र फागुन १ गतेदेखि व्यवस्था परिवर्तनका लागि आजैबाट स्वदेश तथा विदेशमा रहेका दाजुभाइ दिदीबहिनीलाई सहयोगका लागि अपिल गर्दैछौँ ।’
उनले मङ्सिर ३० बाट नागरिक सरकार गठनका लागि गाउँँ गाउँँबाट आन्दोलन सशक्त बनाउने बताए । उनले अभियानका मुख्य माग समेत पढेर सुनाएका छन् । जसमा बैंक तथा लघुवित्तका बीमा कम्पनी राष्ट्रियकरण गर्ने, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने र अति विपन्न गरिबको २० लाख ऋण मिनाहा गर्नुपर्ने तथा धितो फिर्ता गर्नुपर्ने रहेका छन् ।
उनले एक हजार ५ सयका नोटबन्दी गर्नुपर्ने, राजा जनक बुद्धको तस्बिर भएका नोट छाप्नुपर्ने लगायतका माग पत्रकार सम्मेलनमा अघि सारेको सुनाए । उनले प्रदेश संरचना खारेज, सर्वाेच्च अदालतमा सय जना न्यायाधीश नियुक्ति, विदेशमा बन्दी जीवन बिताएका युवाहरूलाई स्वदेश फर्काउने र ५० लाख युवालाई रोजगारीको व्यवस्था मिलाउने लगायतका माग अघि सारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *