Blog

  • मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो

    मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो

    काठमाडौँ, २१ जेठ नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।
    मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पा¥यो ।
    मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ बलमा ६ चौकाको मद्दतमा ३४ रनको योगदान दिइन् । त्यसैगरी कप्तान रुविना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् । अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योती पान्डेले ११ रन जोडिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिइन् ।
    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९ रन बनाएको थियो । मलेसियाका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् भने विनिफ्रेड दुराईसिङ्घमले २५ बलमा २४ रन जोडिन् । त्यस्तै महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाइन् ।
    बलिङतर्फ नेपालकी कविता जोशीले दुई विकेट लिइन भने ईश्वरी विष्टले एक विकेट झारिन् । यसअघि भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपालले २७ रनले विजयी हुँदा चौथो खेलमा मलेसियाले नेपाललाई ६ विकेटले हराएको थियो ।
  • १६ वर्षपछि गौर हत्याकाण्डविरूद्ध सर्वाेच्चमा मुद्दा दर्ता

    १६ वर्षपछि गौर हत्याकाण्डविरूद्ध सर्वाेच्चमा मुद्दा दर्ता

    रौतहट, २१ जेठ । रौतहटको गौर हत्याकाण्ड विरूद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएको छ । आइतवार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् ।
    उक्त मुद्दाको पेशी जेठ २२ गते सोमवारलाई तोकिएको छ । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ।
  • पर्साबाट हजार र पाँच सयको नक्कली नोट बरामद

    पर्साबाट हजार र पाँच सयको नक्कली नोट बरामद

    वीरगंज, २१ जेठ । वीरगंज महानगरपालिका–१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली फेला परेको छ ।
    प्रहरीले नक्कली नोटसहित सर्लाही बरहथवा नगरपालिका–५ रामजानकी टोल बस्ने ३० वर्षीय रामविश्वास महतोलाई पक्राउ गरेको छ ।
    यसैगरी, चितवनको भरतपुर महानगरपालिका–३ शहीद चोकबाट १ हजार दरको ६ थान नक्कली नेपाली नोटसहित भारतीय पुरूष समातिएका छन। भारतको मध्य प्रदेश घर भएका ४९ वर्षीय करतार सिंहलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।
    भरतपुर महानगरपालिका–१ जुनहल रोडस्थित स्टोरमा जुत्ता खरिदको क्रममा सिंहले १ हजारको नक्कली नोट दिएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
  • नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध

    नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध

    काठमाडौँ, २१ जेठ

    नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरोध गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो ।

    तर प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रतिपक्ष दलहरुले नागरिकता विधेयकको कुरा उठाएर संसद् अवरोध गरेका हुन् । नागरिकता विधेयकलाई संसदीय प्रक्रियाबाटै पारित गरिनुपर्ने एमाले, रास्वपा र राप्रपाको माग छ ।

    एमाले प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रक्रियाअनुसार नागरिकता विधेयक संसद्मा प्रस्तुत हुनुपर्ने र त्यसलाई एक हप्ताभित्रै पारित गर्न सक्नेगरी संसद् चलाउनुपर्ने बताउनुभयो ।

    “प्रमाणिकरण गरिएको भनिएको नागरिकता विधेयक निष्क्रिय राखियोस् । नयाँ संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गरियोस् र एक हप्ताभित्र घनीभूत ढङ्गले छलफल गरेर नागरिकताबिहीनलाई नागरिकता दिने प्रबन्ध गरियोस”, गिरीले भन्नुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता दिनु राज्यको दायित्व भए पनि नागरिकता विधेयक प्रमाणीकरण गर्दा त्यसको विधि र प्रक्रिया नमिलेको बताउनुभयो । “धेरै नागरिकले नागरिकता नपाएर उनीहरुलाई परेको समस्याबारे हामीलाई थाहा छ । तर यो गम्भीर परिस्थितिमा सरकारले विधेयक प्रमाणीकरण गर्दा विधि र प्रक्रिया बाहिर गएको हामी स्वीकार गर्दैनौँ”, उहाँले भन्नुभयो, “नागरिकता विधेयक राजनीतिक विषय हो । यो नेपालको सुरक्षा, मानव अधिकार र भूराजनीतिकसँग जोडिएको विषय हो ।”

    संशोधनको माग
    राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्लेनले राष्ट्रपति कुनै दल विशेष र सरकारको आदेशमा चलेको बताउनुभयो । “राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा र आज्ञापालक होइन । दलको निर्देशनमा चलेको राष्ट्रपति संस्थाको औचित्यको प्रश्न छ”, उहाँले भन्नुभयो, “जुन प्रक्रिया र जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो, त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भत्र्सना र विरोध गर्दछ । हामी चाँडोभन्दा चाँडो त्यसलाई प्रक्रियामा ल्याएर संसद्बाट अगाडि बढोस् भन्ने चाहान्छौँ ।”

    लिङ्देनले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट भएको आममाफीका विषयमा पनि प्रश्न उठाउनुभयो । प्रतिपक्ष दलको विरोधपछि प्रतिनिधिसभाको अर्को बैठक आजै एक घण्टापछि बस्नेगरी स्थगित भएको छ ।

  • कृषि उत्पादकत्व बढाउन जम्मु काश्मिरका लाखौं किसानलाई तालिम

    कृषि उत्पादकत्व बढाउन जम्मु काश्मिरका लाखौं किसानलाई तालिम

    श्रीनगर, २१ जेठ/
    केन्द्र शासित प्रदेश जम्मुकाश्मिरमा कृषि उत्पादकत्व बढाउँदै त्यहाँका सीमान्तकृत वर्गको उत्थानमा योगदान गर्न सरकारले थालेको पाँचमहिने किसान सम्पर्क अभियानअन्तर्गत हालसम्म एक लाख अठहत्तर हजार किसान सहभागी भएका छन् ।

    गत एप्रिलको अन्तिम सातादेखि आगामी अगस्टभर सञ्चालन हुने अभियानको मुख्य लक्ष्य सबै किसानका घरमा पुगेर उनीहरूका खेतीकिसानीसम्बन्धी समस्या हल गर्नु हो । समग्र कृषि विकास कार्यक्रमअन्तर्गत सञ्चालित अभियानमा सहभागी किसानले आफ्नो आवश्यकतासम्बन्धमा विवरण दिएपछि कृषि विभागका सम्बद्ध अधिकारीले समस्यामा परेका किसानलाई सल्लाह र सुझाव दिनेछन् ।

    बीउबिजन, फलफूलखेती, सागसब्जी उत्पादन, मलखाद व्यवस्थापनदेखि पानी पटाउने विषयसम्म अनि पशुपालन होस् वा माछा पालन कृषिकर्मसँग सम्बन्धीत सबै क्षेत्रका व्यावहारिक ज्ञान दिन सरकरीस्तरमा छ सय ५१ जनालाई सघन प्रशिक्षण दिएर किसान सम्पर्क अभियान थालिएको हो । किसानले गर्ने सबै कामको विवरण अभिलेखीकरण गरेपछि प्रशिक्षकहरूले किसानका आवश्यकताअनुसार समूह–समूहमा ज्ञान र सीप सिकाउने गरेका छन् ।
    कृषि विभागका अधिकारीहरूका अनुसार जम्मुकाश्मिरका सबै एक हजार छ सय २६ वटा पञ्चायतका किसान अभियानमा सहभागी भएका छन् । हरेक साताका पहिला तीनदिन केही घण्टा कृषि प्राविधिक एवम् प्रशिक्षकले किसानका समस्या र जिज्ञासा साम्य पार्ने गरेका छन् ।
    जिल्लाअनुसार विभागले समयसारिणी निकालेर प्रशिक्षण जारी राखको छ । सूचनाप्रविधिको अधिकतम प्रयोग गर्दै प्रशिक्षकहरूले छोटा चलचित्र र भिडियोका माध्यमबाट किसानलाई सिकाउने गरेका छन् ।

    काश्मिरी, डोग्री, अङ्ग्रेजी, हिन्दी र उर्दुमा छापिएका पुस्तिकामार्पmत पनि किसानलाई उनीहरूका खेतीका समस्या समाधानमा सघाउने प्रयास भएको अभियानका प्रवक्ताले बताएका छन् । एक सय २१ वटा सीप विकास तालिममार्पmत किसानले उत्साहपूर्वक अभियानमा भाग लिएका उनले बताए ।

    आफ्नो स्थानको जलवायु, भूवनोट एवम् भूमिको उर्वरतालगायत विषयलाई ध्यानमा राखेर उत्पादकत्व बढाउन प्रेरित गर्ने अभियानको परिणामको समीक्षा गरिने ती प्रवक्ताले बताएका छन् ।

  • हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

    हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

    काठमाडौँ, २१ जेठ
    नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पु¥याएका छन् ।

    यसको राम्रो उदाहरण बनेको छ, लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘जारी’ । यो चलचित्रले प्रदर्शनको एकाउन्न दिन पार गर्दै व्यावसायिक रुपमा सफल भएको छ । आउँदो जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ । उक्त समुदायमार्फत कथा वाचन गरिएको भएता पनि यो जनजातिको मात्र कथा नरहेको चलचित्रका निर्देशक फूलमान वलले जानकारी दिनुभयो ।

    यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “चरित्रहरू तामाङ समुदायको भए पनि यसमा तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन । कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो तर यो परिवारको बिछोड र मिलनको कथा हो । यो कथालाई हरेक समुदायको मानिसले महसुस गर्न सक्नुहुन्छ ।”

    समीक्षक हुँदै निर्देशकसम्मको यात्रा तय गर्दा कमीकमजोरीलाई बुझ्न मदत पुगेको निर्देशक वलले बताउनुभयो । दुई दशक लामो पत्रकारिता यात्रापश्चात् निर्देशनमा उदाउदै गर्नुभएका उहाँले यो यात्रा समीक्षक भएकै कारण सम्भव बताउनुभयो ।

    “समीक्षक रहँदा अन्य चलचित्रमा देखिएको कमीकमजोरीलाई केही हदसम्म बुझ्ने मौका पाएको थिएँ । सकभर त्यो गल्ती नगर्ने कोसिस गरेको छु”, निर्देशक वलले भन्नुभयो, “नेपाली चलचित्रमा खोजिएको नयाँपन यसमा हुन् सक्छ । यसमा हाम्रो कथा र व्यथा छ ।”

    चलचित्रका अभिनेता दयाहाङ राईले विस्तारै नेपालका विविध संस्कृतिले चलचित्रमा मूलरुपमै स्थान पाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो जरुरी पनि थियो । किनकि हामीसँग हाम्रो मौलिक कथा धेरै छन् । नीरफूलजस्ता चलचित्रले कथामा विविधता ल्याउँछन् ।”
    उहाँले यस्ता चलचित्रको महत्व कालान्तरमा अझै बढी हुने बताउनुभयो । ‘जारी’ ले प्राप्त गरेको सफलताले विविध संस्कृतिलाई चलचित्रको पर्दासम्म आइपुग्न व्यावसायिक जोखिमसमेत कम गरिएको उहाँको भनाइ थियो ।

    हिमाली भेगमा छायाङ्कन गर्नुपर्ने भएकाले धादिङगको रुबी भ्यालीमा यसको छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिनुभयो । “हामीलाई हिउँ नभएको हिमाली भूभाग चाहिएको थियो । त्यहीँ क्रममा त्यहाँ पुग्दा छायाङ्कन गर्ने तय गर्यौं”, निर्देशक वलले भन्नुभयो ।
    अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधैँ बाँचिरहने चलचित्र ‘नीरफूल’ बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ । यसमा हामीले भोगेको समयको कथा भेटिनेछ ।”

    भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा अभिनेता राईसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ ।

    चलचित्रमा पटकथा लेखन निर्देशक वल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गर्नुभएको छ ।

  • पाँच दिनसम्म मधेसमा ‘लू’ लाग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

    पाँच दिनसम्म मधेसमा ‘लू’ लाग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

    वीरगंज, १९ जेठ । बारासहितका मध्य तराईमा आगामी पाँच दिनसम्म लू लाग्न सक्ने सम्भावना रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाले शुक्रवार दिउँसो ‘तातो दिन तथा लू सम्बन्धी बुलेटिन’ सम्बन्धी विशेष बुलेटिन जारी गरेर उक्त जानकारी दिएको हो।
    आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार मध्य तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने महाशाखाले जनाएको छ।

    साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन अनुरोध गरिएको छ।

    तातो हावा तथा लूबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ।

    तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्पोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउँने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ।

    ‘लू’बाट कसरी बच्ने ?
    अहिले सबैको ध्यान कोरोनातर्फ सोझिएको छ । यद्यपि अन्य किसिमका स्वस्थ्य समस्याले पनि मान्छेहरूलाई सताइरहेकै छ । त्यसैले कोरानाको संक्रमणबाट बच्ने सावधानी अपनाइरहँदा अन्य स्वास्थ्य समस्याप्रति पनि सर्तक हुनुपर्छ ।

    गर्मी बढेसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु गर्छ । गर्मी मौसममा खासगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । यो समयमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुग्छ। गर्मी मौसममा हरेक मानिस त्यस्तो तातो हावाबाट बच्न चाहन्छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर चिनिन्छ ।

    ‘लू’ कसरी लाग्छ ?
    मानव शरीरको संरचना अनौठो छ । बाहिरको तापक्रम जति सुकै परिवर्तित भए तापनि शरीर भित्रको तापक्रम सधैं ३७ डिग्री सेन्टिग्रेड नै भइरहन्छ । गर्मीमा जब हामी लापरवाहीपूर्वक बाहिर निस्कन्छौं, तब चर्को घाम र तातो हावाले शरीरको बाहिरी छालालाई अत्यधिक तातो बनाइदिन्छ ।

    जसका कारण हामी ‘लू’को चपेटामा आउँछौं । अत्यधिक गर्मीका कारण रक्तनलीहर” फराकिलो हुन्छ । यसले गर्दा रक्तसञ्चार प्रकृया बढ्छ र शरीरभित्रको पानी पसिनाको रुपमा बाहिर निस्कन्छ । रक्तसञ्चार प्रक्रिया बढ्नु र शरीरको रगत तातो हुनाले शरीर भित्रको तापक्रम पनि बढ्छ, जसलाई ‘लू’ लाग्नु भनिन्छ ।

    ‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो । पसिनाको रुपमा नुन र पानीको ठूलो मात्रा शरीरबाट निस्कन्छ र रगतको तापक्रम बढाइदिन्छ । टाउको भारी भएको महसुस हुनु, नाडीको गति बढ्नु, रगतको गति पनि तीव्र हुन थाल्नु यसका लक्षणहरू हुन् । त्यस्तै सास गति पनि अनियमित हुनु, ज्वरो बढ्नु, हातको हत्केला र खुट्टाको पैताला पोल्नु, आँखा पोल्नु जस्ता समस्याहरू देखिन्छन् । जसका कारण बिरामी बेहोस हुन्छ र कसै-कसैको यही कारण मृत्यु पनि हुन्छ ।

    ‘लू’का लक्षणहरू
    -बारम्बार प्यास लागिरहनु ।
    -अनुहार रातो हुनु, टाउको दुख्नु, दिगमिग हुनु र बान्ता हुनु ।
    -अत्याधिक तापक्रमका कारण बेहोस हुनु ।
    -नाडीको गति धेरै बढ्नुका कारण बिरामीको शरीरको तापक्रम १०१ देखि १०४ सम्म हुनु ।
    -बिरामीमा छटपटी र उदासीनताको भाव देखिनु ।

    ‘लू’ लागेमा के गर्ने ?
    -लूको  प्रथम उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । ‘लू’बाट पीडित व्यक्तिलाई शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ ।
    यदि तपाईंलाई ‘लू’ लाग्यो भने नजिकको चिकित्सकबाट तुरुन्त प्राथमिक उपचार गराउनुपर्छ, जसका कारण समयमा नै सबै कुराको नियन्त्रण हुन्छ ।
    -‘लू’ लागेको बिरामीले आफ्नो जीवन रक्षाका लागि घोल (नुन,चिनी,कागती र पानी) समय–समयमा पिइरहनुपर्छ ।

    -‘लू’ लागेपछि स्पञ्जलाई पानीमा भिजाएर बिरामीको निधार, हात, खुट्टामा दल्नुपर्छ । यसका साथै निधारमा बरफको पट्टी राख्नुपर्छ ।

    -‘लू’ लागेमा पाकेको तित्री (इमली) को गुदीलाई हत्केला र खुट्टाको पैतालामा लगाउनाले ‘लू’को असर कम हुन्छ । इमली पानी पिउनाले ‘लू’बाट तुरुन्तै राहत प्राप्त हुन्छ ।

    -दही र मौसमी फलफुल जस्तै सुन्तला, अंगुर, खरबुजा र मौसमको रस लू ग्रस्त बिरामीलाई पिउन दिनुपर्छ ।

    -पुदिनाको सर्बत पिउनाले पनि लूबाट राहत प्राप्त हुन्छ । लूका बिरामीलाई तरल पदार्थ नै पिउन दिनुपर्छ ।

    -लू लागेमा प्याजलाई पकाएर त्यसमा जिरा, चिनी र गाईको घिउ मिसाएर बिरामीलाई खानदिनु पर्छ। यसो गर्दा बिरामीलाई धेरै आराम प्राप्त हुन्छ ।

    ‘लू’बाट बच्ने उपाय

    –काँक्रोको सेवन गर्नुपर्छ । गर्मी मौसममा काँक्रो खानाले शरीरले शीतलता प्राप्त गर्दछ । जसबाट एकाएक ‘लू’को असर पनि हुँदैन ।

    –बेल, आँप, कागतीको सर्बतको सेवन गर्नुपर्छ । गर्मीमा बेल, आँप तथा कागतीको सर्बतले हाम्रो शरीरमा पानीको स्तरलाई कायम गरिराख्छ। जसले निकै हदसम्म लूबाट बचाउन पनि सहयोग पुर्‍याउँछ ।

    –गर्मीको मौसममा कहिलेकाहीँ टाउको, खुट्टा तथा हातहरूमा मेहन्दी लगाउनाले पनि लूको असर कम हुन्छ ।

    -घाममा खाली पेट निस्कनुहुँदैन, कागतीको सर्बत भए पनि खाएर निस्कनुपर्छ ।

    –सकेसम्म धेरैभन्दा धेरै पानी पिउनुपर्छ ।

    –घाममा धेरै ननिस्कनु नै उत्तम उपाय हो । यदि निस्कनै छ भने शरीरलाई पूरै तरिकाले ढाकेर मात्र निस्कनु होला ।

    के खाने, के नखाने ?

    कागती पानी प्रचुरमात्रामा खानुपर्छ । नुन, चिनी तथा कागतीको रस (भिटामिन-सी) लाई जीवन रक्षक तरल पदार्थ पनि भनिन्छ ।

    साँझको बेला तारिएका खानेकुराहरु तथा चिल्लो-पिरो खानेकुरा खानु हुँदैन । प्राय: हल्का खाना खानुपर्छ। तर, धेरै व्रत बस्नु हुँदैन । मदिरापान नगर्नु नै उत्तम हुन्छ । भोजनमा प्याज, पुदिना, सलाद तथा काँचो आँपको चाना बढी खानुपर्छ ।

    ध्यान दिनु पर्ने कुराहरू

    थोरैमात्र लापरवाहीले पनि तपाईंलाई लुले आफ्नो शिकार बनाउन सक्छ । त्यसैले हरेक सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्छ । यदि तपाईं एसी अथवा कुलरको अगाडि बस्नु भएको छ भने कहिले पनि अत्यधिक घाम अथवा हावामा नजानुहोला ।

    एसीमा बस्दा रक्तनलीहरू संकुचित हुन्छन् । अचानक एसीबाट सोझै चर्को घाममा जानाले शरीरको तापमान अचानक परिवर्तन हुन्छ । जसबाट खुम्चिएको रक्तनलीहरू अचानक फैलिन थाल्छ र ब्लड प्रेसर बढ्छ ।

    यो स्थितिमा कुनै पनि व्यक्ति लूको शिकार बन्न सक्छ । यसबाट बच्नका लागि एउटा सरल तरिका के छ भने एसीबाट बाहिर आएको केही समयका लागि कुनै शीतल ठाउँमा बसेर शरीरको तापमानलाई सामान्य बनाउनुपर्छ ।

    कुनै पनि प्रकारको क्रिम लगाएर घाममा निस्कनुहुँदैन । क्रिम तैलीय पदार्थ भएकाले त्यसलाई लगाउनाले छालाको रौं छिद्र बन्द हुन्छ। जसबाट पसिना नआउनाले शरीरको तापमान नै असन्तुलित हुनपुग्छ ।

  • स्वास्थ्य पत्रकार समुहको पहलमा आँखा शिबिर सहित स्टेशनरी बितरण

    स्वास्थ्य पत्रकार समुहको पहलमा आँखा शिबिर सहित स्टेशनरी बितरण

    जेठ १९ वीरगञ्ज ।

    स्वास्थ्य पत्रकार समुह पर्साको पहलमा ठोरी गाउँपालिका ३ सिकारिवासमा रहेको श्री नेराप्रावी विध्यालयमा आँखा शिबिर तथा स्टेशनरी बितरण कार्यक्रम बिहीबार सम्पन्न गरेको छ ।

    समुहका उपाध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा भएको आँखा शिबिरमा किरण आँखा अस्पताल वीरगनञ्जले बिध्यार्थी तथा स्थानियको निशुल्क आँखा परिक्षण गरेको हो । बिहान ९ बजे देखि भएको शिबिरमा बिध्यार्थी सहित १०९ जनाको परिक्षण भएको अस्पालका संचालक डाक्टर अमर क्यालले जानकारी दिनु भयो । आँखा शिबिरमा समुहका सल्लाहाकार मनोज कुमार मिश्रले पनि सहयोग गरेका थिए ।

    यसै बिच स्वास्थ्य पत्रकार समूहको पहलमा वडा नं. ०३मै रहेको श्री नेराप्रावी विधालयमा कक्षा शिशु देखि ५ सम्मका ४५ बिद्यार्थीहरुलाई ३ महिना पुग्ने स्टेशनरी सामाग्रीहरु वितरण गरिएको छ ।लायन्स क्लब आफ क्योरेटीभले उपलब्ध गराइएको एक हजार थान कपि, कलम, सिसाकलम, कटर लगायतका सामाग्री बितरण भएको समुहका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिनु भयो ।

    सो अवसरमा विध्यालयका प्रधानाध्यापक नारायण कुमार श्रेष्ठ एवं विध्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजित कुमार बस्नेत स्वास्थ्य पत्रकार समुहका उपाध्यक्ष लालबाबु सिंह,सल्लाहकार मनोज मिश्र,सदस्य राजकुमार सरार्फ, शिक्षक राजेश्वर कुमार श्रेष्ठ, सुशिला अर्याल, सगुन बस्नेत, किरण कुमारी,हिरामती देबि खवास लगायत स्थानिय अग्रज, महिला,युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।

  • उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

    उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

    बेइजिङ, १८ जेठ ( रासस÷एएनआई) ः

    कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ ।

    न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक रुपमा संघर्ष गरिरहेका छन् । यद्यपि देशका शीर्ष नेता सी चिनफिङले युवाहरूलाई आफू सामान्य काम गरिरहेको छु वा ग्रामीण इलाकामा जाँदैछु भन्ने सोच्न छोड्न आग्रह गर्नुभएको छ ।

    “युवाहरूले ‘कठिन समयसँग जुध्न’ सिक्नुपर्छ,” सीले भन्नुभयो ।

    द न्युयोर्क टाइम्सका अनुसार अब सरकारले उनीहरूलाई कठिनाइहरू सहन भनिरहेको छ । गत वर्षको जुनमा स्नातकोत्तर गरेकी ग्लोरिया ली जागिर पाउन भौतारिरहेकी हुनुहुन्थ्यो । लीले भन्नुभयो, “हामीलाई तिक्ततासँग जुध्नु भनेको छलजस्तै हो, हामी बिनाशर्त आफूलाई समर्पित गर्नेछौं र उनीहरू आफैले गर्न नचाहेको काम गर्नेछौं तर रोजगारीको सहज सुनिश्चतता हुनुपर्छ ।”

    न्युयोर्क टाइम्सका अनुसार मे महिनामा युवा दिवससम्बन्धी आधिकारिक पिपुल्स डेलीको पहिलो पृष्ठको लेखमा सीलाई उद्धृत गर्दै भनिएको छ, “जीवनमा सफलताका अनगिन्ती उदाहरणहरूले के देखाउँछ भने युवावस्थामा कटुता व्यहोर्नु भनेको इनाम पनि प्राप्त गर्नु हो ।” उक्त लेखमा सीले युवाहरूबाट गरेको अपेक्षाबारे चर्चा गरिएको थियो ।

    सांस्कृतिक क्रान्तिको दौडान ग्रामीण इलाकामा काम गरेको आफ्नो अनुभव प्रयोग गर्दै राष्ट्रपति सीले युवाहरूलाई ‘आफैले भोगेका कष्टहरू खोज्न’ बारम्बार आग्रह गर्नुभएको छ ।

    एक स्वतन्त्र राजनीतिक टिप्पणीकार काई शेन्कुनले एक ट्वीटर पोस्टमा लेख्नुभएको छ, “युवाहरूले शान्तिपूर्ण र स्थिर जीवन त्यागेर दुःख भोग्नुपरोस् भन्ने उहाँ किन चाहनुहुन्छ?” यस वर्ष उच्च एक करोड १६ लाख स्नातकहरू राष्ट्रिय जनशक्तिका लागि तयार भएका छन् तर पाँच मध्ये एक युवा बेरोजगार बन्नुपर्ने अवस्था आएको छ ।

    न्युयोर्क टाइम्सका अनुसार चीनको नेतृत्वले बढ्दो समृद्धिको बीचमा हुर्केको पुस्तालाई फरक वास्तविकता स्वीकार्न तयार गराउने अपेक्षा गरेको छ । युवा बेरोजगारी दर चिनियाँ कम्युनिस्ट पार्टीले गम्भीरताका साथ लिएको तथ्याङ्क हो किनभने निष्क्रिय युवाहरूले आफ्नो शासनलाई खतरामा पार्न सक्छन् भन्ने विश्वास गर्दछ ।

    चिनियाँ नेता माओत्सेतुङले सांस्कृतिक क्रान्तिका क्रममा सीसहित एक करोड ६० लाखभन्दा बढी सहरी युवालाई ग्रामीण क्षेत्रमा श्रम गर्न पठाउनुभएको थियो ।
    सांस्कृतिक क्रान्तिपछि यी बेरोजगार युवाहरू सहरमा फर्कनुले पार्टीलाई केही हदसम्म स्वरोजगार, वा राज्य–योजनाबद्ध अर्थव्यवस्था भन्दा बाहिरको रोजगारी अँगाल्न बाध्य बनाएको थियो ।
    –––

  • सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

    सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

    –विशेष समाचारदाता रमेश लम्साल

    नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई महत्वपूर्ण पाइप लाइन निर्माणमा सहमति भएको छ ।

    त्यसका लागि भारतले झण्डै रु १७ अर्ब बराबरको सहयोग उपलब्ध गराउने भएको छ । त्यसबाट दुई वटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारणस्थल निर्माण हुने भएको छ । भण्डारणस्थल भने नेपालले आफ्नै खर्चमा निर्माण गर्नुपर्नेछ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भारतको सिलिगुडीदेखि झापासम्म र बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै झापामा भण्डारणस्थल निर्माण हुनेछ ।

    नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच लामो समयदेखि उक्त पाइपलाइन निर्माणका विषयमा छलफल हुँदै आए पनि सहमति हुन सकेको थिएन । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सरकारीस्तरमै ती परियोजना अगाडि बढाउने सहमति भएको हो ।

    नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीका अनुसार दुई पाइपलाइन र झापाको टर्मिनल भारतले अनुदानमा निर्माण गरिदिनेछ । यसअघि नै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पाइपलाइन भारत सरकारले अनुदानमा निर्माण गरिदिन सहमत भएको बताउनुभएको थियो ।

    निगमले सिलिगुडी–झापा, अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन, झापा र चितवनको लोथरमा भण्डारणस्थल निर्माण गर्ने बताउँदै आएको थियो । त्यसको अध्ययनसमेत भइसकेको छ । आजको सम्झौतापछि आयोजना तीव्ररुपमा अगाडि बढ्ने विश्वास लिइएको छ ।

    निगम र आइओसीले संयुक्तरूपमा सन् २०२१ मा तयार पारेको प्रतिवेदनअनुसार यी चार परियोजनाको कूल लागत रु १७ अर्ब बराबर छ । अन्तर्राष्ट्रियस्तरमा भएको अनेकन मूल्यवृद्धिका कारण लागत थप केही बढ्ने अनुमान गरिएको छ ।

    निगमका अनुसार अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइनको दूरी ६२ किलोमिटरको हुनेछ । त्यस्तै ५० किमी लामो सिलिगुडी–झापा पाइपलाइन निर्माण हुनेछ । ती आयोजनाकोसमेत कूल लागत निर्धारण भएको छ ।

    यी परियोजनाको भारतीय सरकारी कम्पनी आइओसी र निगमले संयुक्तरूपमा अध्ययन सम्पन्न गरिसकेका छन् । विवरणअनुसार झापाको इन्धन भण्डारण क्षमता ४२ हजार किलोलिटर र लोथर टर्मिनलको क्षमता एक लाख तीन हजार एक सय ५० किलोलिटर बराबर हुनेछ ।

    यसअघि नै मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भइसकेको छ । त्यसबाट ढुवानी लागत, वातावरण प्रदूषण नियन्त्रणलगायतका विषयमा ठूलो फाइदा भएको छ ।
    नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माणका बारेमा लामो समयदेखि छलफल भए पनि विसं २०७६ भदौ २४ गतेदेखि मात्रै मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सञ्चालनमा आउन सकेको थियो ।

    मोतिहारी–अमलेखगञ्जको सफल उदाहरणका कारण पनि पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पाइपलाइन परियोजना अघि बढाउन महत्वपूर्ण सफलता हासिल भएकोे हो । थप पाइपलाइन निर्माणपछि इन्धन आपूर्ति सहज हुने निगमले विश्वास लिएको छ ।

    पाइपलाइन निर्माणले ढुवानी भाडा बचत हुनुका साथै नेपालमा आउने पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा सहयोग पुगेको छ । पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको चर्को मूल्य घट्ने, चोरी, चुहावट र मिसावटमा कुनै पनि गुनासो सुन्नु नपर्ने अवस्था सिर्जना भएको छ । ट्राफिक जाम, वातावरणीय विषयमा समेत धेरै सहजता हुने कार्यकारी निर्देशक थानीको भनाइ छ ।

    सिलगुढी–झापा पाइपलाइन निर्माणपछि कोशी प्रदेशको आपूर्ति सहज हुनेछ । हाल सञ्चालनमा रहेको मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले मात्रै देशको माग धान्न नसक्ने भएपछि विकल्प खोजिएको निगमको भनाइ छ । थानीका अनुसार सिलिगुडी–झापा पाइपलाइनमा करिब ३५ किमी बराबरको क्षेत्र भारत र १५ किमी बराबरकोे क्षेत्र मात्रै नेपालको पर्नेछ ।

    ऊर्जा सुरक्षा, दिगो वितरण प्रणाली तथा अन्य लागतलगायतका विषयलाई सम्बोधन गर्न पनि पाइपलाइन नै उत्तम विकल्प भएको जानकारहरुकोे भनाइ छ । त्यसो त भरपर्दो संरचनाको अभावमा अनेकन झन्झट बेहोर्नुपर्ने अवस्थाकोसमेत अन्त्य हुनेछ ।