वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं.७ का वडाध्यक्ष हिराकाजी महर्जनले प्रहरी चौकी नगवाका प्रहरी नायब निरिक्षक सई रविन्द्र साह तुराहाले आफुमाथि कुटपिट गरेको भन्दै कारवाहीको माग गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरी वडा नम्बर ७ का वडाध्यक्ष हीराकाजी महर्जनले प्रहरीले कुटपिट गरी आँखा फुटाइदिएको आरोप लगाएका हुन्। गत आइतबार अष्टमीको राति वडा नम्बर ७ स्थित दुर्गा पूजाको अवसरमा आयोजित साँस्कृतिक जागरण कार्यक्रमका क्रममा आफूमाथि कुटपिट भएको वडाध्यक्ष महर्जनले पत्रकार सम्मेलनमा बताए।
राति साढे ११ बजे नवरात्रिको अवसरमा टोलमै साँस्कृतिक जागरण कार्यक्रमको लागि युवाहरुले आफूलाई बोलाएर प्रहरीसित कार्यक्रम गर्न दिन भनी छलफलका क्रममा प्रहरी चौकी नगवाका प्रहरी नायब निरीक्षक सई रबिन्द्र तुरहाले आँखामा हानेको वडाध्यक्ष महर्जनको भनाइ छ।
साथै उनले प्रहरीले आफूसहित पूजा समितिका अध्यक्षलाई पनि एक राति थुनामा राखेको बताए। छलफलकै क्रममा थप प्रहरीहरु बोलाएर छलफलमै रहेको बेलामा सई तुराहाले आँखामा प्रहार गरि घाईते बनाएको बताए।
आँखामा प्रहार पछि चोट लागेकाले आफू अहिले डाक्टरसित उपचारको क्रममै रहेको वडाध्यक्ष महर्जनले बताए। अष्टमीको दिन रहेकाले आफू रक्सी सेवन गरेको भनी वडाध्यक्ष महर्जनले स्वीकार गरेका थिए।
पत्रकार सम्मेलनमा उपस्थित भएका वीरगंज महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले जनप्रतिनिधिलाई कुटपिट गर्ने प्रहरीमाथि कारवाही हुनुपर्ने माग गरे। उनले टोलमा कार्यक्रम गर्दा वडाध्यक्षलाई नै कुटपिट भएकाले घटनामा संलग्न प्रहरीलाई कारवाही नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए।
यसैगरी वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह परागले टोलमै हिन्दुहरुको महान पर्ब चलिरहेको बेलामा साँस्कृतिक कार्यक्रम गर्दा कुटपिट हुनु दुखद बिषय भएको बताए।
उनले महानगरले अबेर रातिसम्म रात्रि बजार लगाउदा पनि प्रहरीले केही नगर्ने तर वडाध्यक्षले आफनो वडामा साँस्कृतिक जागरण कार्यक्रम गर्न पनि नदिने भन्दै चाडपर्बमा प्रहरी हस्तक्षेप भएको जिकिर गरे।
गत आईतबार अष्टमीका राति पर्सा प्रहरीले वडाध्यक्ष महर्जनसहित केही ब्यक्तिलाई पक्राउ गरि एक रात थुनामा राखेको थियो। रक्सी खाएर होहल्ला गरेको भन्दै प्रहरीले वडाध्यक्ष महर्जनसहितका ब्यक्तिलाई थुनामा राखिएको बताएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता कुमार बिक्रम थापा र प्रहरी उपरीक्षक कोमल विक्रम शाहलाई यस समबन्धमा प्रतिक्रिया लिन खोज्दा दुबैजनाको फोन उठेन।आयोजित पत्रकार सम्मेलनमा वीरगंज महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष जगत साह कानु, वडा नं. ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ता, वडा नं. २० का वडाध्यक्ष रामकिशोर सिंह पराग, वडा नं. २४ का वडाध्यक्ष विजय प्रसाद कुर्मी, वडा नं. २६ का वडाध्यक्ष शम्भु मिश्रा, वडा नं. २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, वडा नं. २८ का वडाध्यक्ष सर्जुग महतो, कार्यपालिका सदस्य कन्हैया ठकुर लगायतको पनि उपस्थिती रहेको थियो ।