Blog

  • पैसा नदिँदा ७ दिनदेखि फोहोर नउठाएको आरोप : वीरगंज–७ को विद्यालयमा दुर्गन्ध, महानगरको ध्यानाकर्षण

    पैसा नदिँदा ७ दिनदेखि फोहोर नउठाएको आरोप : वीरगंज–७ को विद्यालयमा दुर्गन्ध, महानगरको ध्यानाकर्षण

    अभिलाष गुप्ता
    वीरगंज, १४ साउन । वीरगंज महानगरपालिका–७ अन्तर्गत कुम्हालटोल क्षेत्रमा फोहोर व्यवस्थापनमा गम्भीर लापरवाही भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। फोहोर उठाउने ट्याक्टरका चालक तथा उनीसँगै आएका व्यक्तिले “यो महानगरपालिकाको निर्देशन हो” भन्दै व्यक्तिगत रूपमा पैसा माग्ने गरेको आरोप लागेको छ। यस सम्बन्धी भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषयले थप चर्चा पाएको छ।

    कुम्हालटोलस्थित द चिल्ड्रेन गार्डेन मन्टेसरीकी सञ्चालिका रोशनी श्रीवास्तवका अनुसार विद्यालयको फोहोर विगत ७ दिनदेखि जानाजानी नउठाइएको छ। डस्टबिनमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको र यसले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने चिन्ता व्यक्त गर्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्।

    उनले आफू एक साताका लागि भारत गएको र फर्किएपछि विद्यालय परिसरमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको देखेको बताइन्। कर्मचारीसँग बुझ्दा फोहोर उठाउने टोलीले हरेक हप्ता व्यक्तिगत रूपमा पैसा माग्ने गरेको र पैसा नदिएपछि फोहोर नउठाएको जानकारी पाएको उनको दाबी छ।

    “विद्यालयमा साना बालबालिका अध्ययन गर्छन्। फोहोरका कारण संक्रमण फैलिने जोखिम बढेको छ। भोलिका दिनमा कुनै विद्यार्थीलाई स्वास्थ्य समस्या भए त्यसको जिम्मेवारी कसले लिने?” भन्दै सञ्चालिका श्रीवास्तवले चिन्ता व्यक्त गरिन्।

    स्थानीयका अनुसार फोहोर उठाउने ट्याक्टरका चालक तथा उनीसँगै रहेका व्यक्तिले व्यक्तिगत रूपमा रकम माग्दै त्यसलाई महानगरपालिकाको निर्देशन भएको दाबी गर्ने गरेका छन्। यस विषयमा सार्वजनिक भएको भिडियोले पनि घटनाप्रति थप प्रश्न उठाएको छ।

    स्थानीयवासी तथा विद्यालय प्रशासनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न, नियमित रूपमा फोहोर संकलनको व्यवस्था मिलाउन तथा यस्ता गतिविधि दोहोरिन नदिन वीरगञ्ज महानगरपालिका र वडा नं. ७ कार्यालयसँग माग गरेका छन्।

    यस विषयमा वीरगंज महानगरपालिका तथा वडा कार्यालयको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

  • युद्ध, प्रविधि, जलवायु र नैतिकताको चौबाटोमा उभिएको मानवता— बिमल सर्राफ

    युद्ध, प्रविधि, जलवायु र नैतिकताको चौबाटोमा उभिएको मानवता— बिमल सर्राफ

    रक्सौल, पूर्वी चम्पारण १३ साउन । आज यदि कसैले प्रश्न गर्‍यो, “आजको विश्व कहाँ उभिएको छ ?” भने यसको उत्तर एउटै शब्दमा दिन सम्भव छैन। आजको विश्व एकातिर अभूतपूर्व विकासको शिखरमा पुगेको छ भने अर्कोतिर गम्भीर संकटको संघारमा पनि उभिएको छ।

    कृत्रिम बुद्धिमत्ता (AI), अन्तरिक्ष अनुसन्धान, चिकित्सा विज्ञान तथा आधुनिक प्रविधिले मानव सभ्यतालाई नयाँ उचाइमा पुर्‍याइरहेका छन्। तर अर्कोतर्फ युद्ध, आर्थिक अनिश्चितता, जलवायु परिवर्तन, सामाजिक विभाजन तथा नैतिक मूल्यहरूको ह्रास सम्पूर्ण मानवताका लागि गम्भीर चुनौती बनेका छन्। पछिल्ला विश्व घटनाक्रमहरूले पनि यही वास्तविकताको संकेत गरिरहेका छन्।

    उक्त विचार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन तथा डिस्ट्रिक्ट चेयरपर्सन, भारत विकास परिषद् , रक्सौलका सेवा संयोजक, मिडिया प्रभारी एवं समाजसेवी बिमल सर्राफले सञ्चारकर्मीसँगको कुराकानीमा व्यक्त गरेका हुन्।

    आज विश्वको सबैभन्दा ठूलो चिन्ता बढ्दो युद्ध र भू-राजनीतिक तनाव हो। विभिन्न क्षेत्रहरूमा जारी द्वन्द्वले लाखौं मानिसको जीवन प्रत्यक्ष रूपमा प्रभावित गरेको छ। हतियारको होड तीव्र बन्दै गएको छ भने शान्ति र संवादको आवाज अपेक्षाकृत कमजोर देखिन्छ। संवादको स्थान टकरावले लिन थालेको छ, जसको सबैभन्दा ठूलो मार निर्दोष सर्वसाधारणले बेहोर्नुपरेको छ।अर्कोतर्फ, विश्व अर्थतन्त्र पनि अनिश्चितताको कठिन चरणबाट गुज्रिरहेको छ। महँगी, ऊर्जा संकट, आपूर्ति शृंखलामा आएको अवरोध तथा बजारको अस्थिरताले विशेष गरी विकासोन्मुख राष्ट्रहरूलाई नयाँ चुनौती दिएको छ। आर्थिक वृद्धिका तथ्यांक बढे पनि सर्वसाधारणको जीवनस्तर र आर्थिक समृद्धिबीचको दूरी अझै पनि धेरै ठाउँमा कायम छ।

    प्रविधिको क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले अभूतपूर्व सम्भावनाहरू सिर्जना गरेको छ। शिक्षा, स्वास्थ्य, उद्योग, कृषि तथा प्रशासनमा AI ले नयाँ क्रान्तिको आधार तयार गरिरहेको छ। यसले कार्यक्षमता, अनुसन्धान तथा नवप्रवर्तनलाई तीव्र बनाएको छ। तर यससँगै रोजगारी, गोपनीयता, साइबर सुरक्षा, भ्रामक सूचना तथा नैतिक प्रयोगजस्ता गम्भीर प्रश्नहरू पनि उठिरहेका छन्। प्रविधि त्यतिबेला मात्र मानवताका लागि वरदान बन्न सक्छ, जब यसको विकास र प्रयोग मानवीय मूल्य तथा उत्तरदायित्वका साथ गरिन्छ।जलवायु परिवर्तन अब केवल वैज्ञानिक बहसको विषय मात्र होइन, यो मानव अस्तित्वसँग जोडिएको विश्वव्यापी चुनौती बनिसकेको छ। विश्वका धेरै स्थानहरूमा अत्यधिक गर्मी, डढेलो, बाढी, खडेरी तथा अनियमित मौसमका घटना निरन्तर बढिरहेका छन्। प्रकृतिले बारम्बार चेतावनी दिइरहेको छ कि यदि विकास र वातावरणबीच सन्तुलन कायम गर्न सकिएन भने आगामी पुस्ताले यसको गम्भीर मूल्य चुकाउनुपर्नेछ।

    सामाजिक रूपमा पनि विश्व अनेक चुनौतीहरूले घेरिएको छ। बढ्दो एक्लोपन, मानसिक तनाव, असहिष्णुता, कट्टरता तथा सामाजिक अविश्वासले आधुनिकताको तीव्र दौडमा मानिसले आफ्नै संवेदनशीलता र मानवीय सम्बन्धको न्यानोपन गुमाउँदै गएको संकेत गर्छ। भौतिक प्रगति भए पनि मानसिक तथा सामाजिक सन्तुलन कमजोर बन्दै गएको देखिन्छ।तर पनि आशा समाप्त भएको छैन। इतिहास साक्षी छ कि मानव सभ्यताले प्रत्येक ठूलो संकटबाट शिक्षा लिएर नयाँ युगको सुरुवात गरेको छ। आज आवश्यकता यस कुराको छ कि विश्व केवल आर्थिक र सैनिक शक्तिको प्रतिस्पर्धामा सीमित नरहोस्, बरु सहयोग, संवाद, शिक्षा, वातावरण संरक्षण तथा मानवीय मूल्यलाई सर्वोच्च प्राथमिकता दिओस्।

    आज विश्वका सामु सबैभन्दा ठूलो प्रश्न कुन देश सबैभन्दा शक्तिशाली छ भन्ने होइन, कुन समाज सबैभन्दा मानवीय छ भन्ने हो। यदि विज्ञानसँग विवेक, विकाससँग नैतिकता र शक्तिसँग संवेदनशीलताको सन्तुलन कायम गर्न सकियो भने मात्र मानवता सुरक्षित, समृद्ध र दिगो भविष्यतर्फ अघि बढ्न सक्नेछ।आज सम्पूर्ण विश्व वास्तवमै एउटा यस्तो चौबाटोमा उभिएको छ, जहाँबाट दुईवटा बाटा छुट्टिन्छन्—एउटा संघर्ष, स्वार्थ र विनाशतर्फ, अर्को सहयोग, शान्ति र दिगो विकासतर्फ। अब निर्णय सम्पूर्ण मानवताले गर्नुपर्नेछ कि उसले आफ्नो भविष्य कुन दिशामा अघि बढाउनेछ।

    आजको समयको सबैभन्दा ठूलो आवश्यकता भनेको शक्ति प्रदर्शनभन्दा शान्तिलाई, प्रतिस्पर्धाभन्दा सहकार्यलाई, र केवल आर्थिक विकासभन्दा मानवीय विकासलाई प्राथमिकता दिनु हो। यही मार्गले आगामी पुस्ताका लागि सुरक्षित, सन्तुलित र सभ्य विश्व निर्माण गर्न सक्छ।

  • गुरु पूर्णिमा महोत्सव बुधबार हुँदै, माइस्थान मन्दिर पार्कमा सहभागी हुन नगरवासीलाई निमन्त्रणा

    गुरु पूर्णिमा महोत्सव बुधबार हुँदै, माइस्थान मन्दिर पार्कमा सहभागी हुन नगरवासीलाई निमन्त्रणा

    अभिलाष गुप्ता
    वीरगंज, १२ साउन । बृहस्पति फाउन्डेसन नेपालको आयोजनामा गुरु पूर्णिमाको पावन अवसर पारेर यही २०८३ साल श्रावण १३ गते (बुधबार) वीरगञ्जस्थित माइस्थान मन्दिर पार्कमा भव्य “गुरु पूर्णिमा महोत्सव” आयोजना हुने भएको छ।

    गुरुप्रतिको श्रद्धा, सम्मान तथा आध्यात्मिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन बृहस्पति फाउन्डेसन नेपालले सम्पूर्ण आदरणीय नगरवासीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।

    बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष डा. पुरुषोत्तम दुबेका अनुसार कार्यक्रम बेलुका ४ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा विभिन्न चर्चित गायक तथा कलाकारहरूको प्रस्तुतिमा भजन–कीर्तन तथा भक्तिमय सांगीतिक प्रस्तुति रहनेछ।

    उनले गुरु पूर्णिमाजस्तो पवित्र पर्वले गुरु–शिष्य परम्पराको महत्वलाई स्मरण गराउने भएकाले सबै श्रद्धालु भक्तजनलाई परिवारसहित कार्यक्रममा सहभागी भई आध्यात्मिक आनन्द लिन आग्रह गरेका छन्।

    कार्यक्रमको समापनपछि उपस्थित सम्पूर्ण श्रद्धालुहरूलाई प्रसाद वितरण गरिने आयोजकले जनाएको छ।

    आयोजकका अनुसार गुरु पूर्णिमा महोत्सवलाई धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक उत्सवका रूपमा भव्य रूपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रममा ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

  • कलियुगमा साँचो र सही सोच भएका मानिसले सम्मान किन पाउँदैनन् ? : बिमल सर्राफ

    कलियुगमा साँचो र सही सोच भएका मानिसले सम्मान किन पाउँदैनन् ? : बिमल सर्राफ

    रक्सौल, पूर्वी चम्पारण १२ साउन । आजको समयमा प्रायः यस्तो सुनिन्छ, “जो व्यक्ति साँचो, इमानदार, सरल र सद्विचार भएको हुन्छ, उसले आफू योग्य सम्मान पाउँदैन।” यो कुरा हरेक परिस्थितिमा पूर्ण रूपमा लागू नहुन सक्छ, तर समाजका अनेक अनुभवहरूले यस्तो अनुभूति जन्माएका छन्।

    उक्त विचार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन, भारत विकास परिषद्, रक्सौल शाखा का सेवा संयोजक तथा मिडिया प्रभारी एवं सामाजिक अभियन्ता बिमल सर्राफ ले सञ्चारकर्मीहरूसँग आफ्ना धारणा साझा गर्दै व्यक्त गरेका हुन्।उनले भने, वर्तमान युगमा बाह्य आडम्बर, धन, प्रभाव, प्रसिद्धि र स्वार्थलाई धेरैजसो चरित्र, इमानदारी तथा मानवीय मूल्यभन्दा बढी महत्त्व दिन थालिएको छ। यस्तो परिवेशमा सत्यको मार्गमा हिँड्ने, नियमको पालना गर्ने र कसैको अहित नचाहने व्यक्तिलाई धेरैपटक कमजोर वा असफल ठानिन्छ। जबकि वास्तविकता भनेको त्यही व्यक्ति समाजको सबैभन्दा ठूलो शक्ति हो।

    उनले थपे, आज धेरै मानिसहरूले व्यक्तिको मूल्याङ्कन उसको चरित्रका आधारमा होइन, बरु पद, प्रतिष्ठा र आर्थिक अवस्थाका आधारमा गर्न थालेका छन्। यही कारणले साँचो र इमानदार व्यक्तिहरू धेरैपटक भीडमा ओझेलमा पर्छन्, जबकि देखावटीपन गर्ने व्यक्तिहरू बढी चर्चित र प्रशंसित हुन्छन्।बिमल सर्राफले भने, इतिहास स्वयं यस कुराको साक्षी छ कि सत्यको मार्ग कहिल्यै सहज थिएन। भगवान् श्रीराम, भगवान् श्रीकृष्ण, महात्मा गाँधी, स्वामी विवेकानन्दलगायत अनेक महान् व्यक्तित्वहरूले पनि जीवनमा कठिन संघर्षको सामना गरेका थिए। उनीहरूले तत्काल सम्मान पाएनन्, तर समयले उनीहरूको सत्य, त्याग र महानतालाई स्वीकार गर्‍यो। यसबाट स्पष्ट हुन्छ कि सम्मानको वास्तविक निर्णय भीडले होइन, समयले गर्छ।

    उनले भने, साँचो मानिसले कहिल्यै सम्मान प्राप्त गर्ने उद्देश्यले असल कर्म गर्दैन। उसको लक्ष्य मानवता, सत्य र न्यायको रक्षा गर्नु हो। उसको सबैभन्दा ठूलो पुरस्कार शान्त मन, स्वच्छ अन्तःकरण र ईश्वरको आशीर्वाद हो। बाह्य सम्मान ढिलो प्राप्त हुन सक्छ, तर आत्मसम्मान र ईश्वरको सम्मान कहिल्यै व्यर्थ हुँदैन।उनले समाजलाई आग्रह गर्दै भने, व्यक्तिको मूल्याङ्कन उसको पोशाक, धन वा पदका आधारमा होइन, बरु व्यवहार, संस्कार, इमानदारी र मानवताका आधारमा गरिनुपर्छ। यदि समाजले साँचो मानिसहरूको सम्मान गर्न सिक्यो भने समाजमा विश्वास, प्रेम र नैतिकता स्वतः सुदृढ हुनेछ।

    अन्त्यमा बिमल सर्राफले भने, “कलियुगमा साँचो मानिसहरूले सम्मान पाउन ढिलाइ हुन सक्छ, तर उनीहरूका असल कर्म कहिल्यै व्यर्थ जाँदैनन्। झूट र देखावटीपन केही समयका लागि चम्किन सक्छन्, तर सत्यको प्रकाश अन्ततः सबैभन्दा उज्यालो भएर उदाउँछ। त्यसैले परिस्थिति जस्तोसुकै भए पनि सत्य, सदाचार र मानवताको मार्ग कहिल्यै छोड्नु हुँदैन, किनभने यही मार्गले जीवनलाई वास्तविक सम्मान, आत्मसन्तुष्टि र सार्थकता प्रदान गर्दछ।”

     

  • लिटिल एन्जल्स बोर्डिङ स्कुलमा जल संरक्षण सम्बन्धी अभिमुखीकरण सम्पन्न

    लिटिल एन्जल्स बोर्डिङ स्कुलमा जल संरक्षण सम्बन्धी अभिमुखीकरण सम्पन्न

    अभिलाष गुप्ता
    वीरगंज, ११ साउन । वीरगंज महानगरपालिका–२४, ज्योतिनगरस्थित लिटिल एन्जल्स बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी जल संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

    युनिसेफ नेपाल तथा सामाजिक संस्था जिल्ला समन्वय समुदाय (SODCC) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रशिक्षक अजय पटेल र श्रीमती मधु चौहानले विद्यार्थीहरूलाई पानीको महत्व, जलस्रोतको संरक्षण, वर्षाको पानी संकलन, पानीको दुरुपयोग रोक्ने उपाय तथा दैनिक जीवनमा पानीको मितव्ययी प्रयोगबारे जानकारी गराउनुभएको थियो।उहाँहरूले जलवायु परिवर्तन, बढ्दो पानीको अभाव तथा भावी पुस्ताका लागि स्वच्छ पानीको उपलब्धता सुनिश्चित गर्न सबैले पानी संरक्षणमा जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, घर, विद्यालय तथा समुदायस्तरबाटै पानी बचाउने बानीको विकास गर्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।

    कार्यक्रममा विद्यार्थीहरूले समेत जल संरक्षणसँग सम्बन्धित जिज्ञासा राखेका थिए भने प्रशिक्षकहरूले त्यसका व्यावहारिक समाधानबारे जानकारी दिएका थिए। सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई ज्ञानवर्द्धक र उपयोगी भएको प्रतिक्रिया दिएका थिए।

    कार्यक्रम विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यालय परिवारले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा वातावरण संरक्षण तथा जिम्मेवार नागरिक बन्ने संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

  • नेपालभर बीबीएसमा तेस्रो, सामुदायिक क्याम्पसतर्फ प्रथम: हरिखेतान बहुमुखी कलेजकी अञ्जली गुप्ताको ऐतिहासिक सफलता

    नेपालभर बीबीएसमा तेस्रो, सामुदायिक क्याम्पसतर्फ प्रथम: हरिखेतान बहुमुखी कलेजकी अञ्जली गुप्ताको ऐतिहासिक सफलता

    अभिलाष गुप्ता
    वीरगंज, ११ साउन । हरिखेतान बहुमुखी कलेज, वीरगञ्जकी छात्रा अञ्जली कुमारी गुप्ताले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीएस (Bachelor of Business Studies) परीक्षामा नेपालभर तेस्रो स्थान हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेकी छन्।

    यससँगै उनले सामुदायिक क्याम्पसतर्फ नेपालमै प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। उनको यो उत्कृष्ट उपलब्धिले हरिखेतान बहुमुखी कलेजसँगै सम्पूर्ण पर्सा जिल्लाको शैक्षिक प्रतिष्ठा राष्ट्रिय स्तरमा उँचो बनाएको छ।

    कलेज प्रमुख किशोरी रायका अनुसार नेपालभर रहेका ५५६ वटा कलेजमध्ये हरिखेतान बहुमुखी कलेजले यस वर्ष बीबीएस परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नेपालमै प्रथम स्थान कायम गर्न सफल भएको हो। उनले यस सफलताले कलेजको गुणस्तरीय शैक्षिक वातावरण, दक्ष शिक्षक तथा विद्यार्थीको निरन्तर मेहनतको प्रतिफल भएको बताए।

    यसैगरी, हरिखेतान बहुमुखी कलेज सञ्चालक समितिका सल्लाहकार जय प्रकाश खेतानले अञ्जली कुमारी गुप्तालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्। उनले कलेजको गौरव बढाउने यस उपलब्धिको सम्मानस्वरूप एक साताभित्र विशेष सम्मान कार्यक्रम आयोजना गरी अञ्जलीलाई सम्मान गरिने जानकारी दिए।

    अञ्जलीको यो सफलता मेहनत, अनुशासन, लगनशीलता र गुणस्तरीय शिक्षाको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ। कलेज प्रशासन,संचालक समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूले उनको उपलब्धिप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिएका छन्।

  • आजको विश्वमा असहिष्णुता : परिभाषा, वर्तमान परिदृश्य र समाधान— बिमल सर्राफ

    आजको विश्वमा असहिष्णुता : परिभाषा, वर्तमान परिदृश्य र समाधान— बिमल सर्राफ

    रक्सौल, पूर्वी चम्पारण ११ साउन । विश्व आज विज्ञान, प्रविधि र सञ्चारको क्षेत्रमा अभूतपूर्व प्रगति गरिरहेको छ। देशहरूबीचको दूरी घटेको छ, विश्वव्यापी सम्पर्क विस्तार भएको छ र विचारहरूको आदान–प्रदान पहिलेभन्दा धेरै सहज भएको छ। तर विडम्बना के छ भने विश्वका विभिन्न भागहरूमा असहिष्णुता, कट्टरता, हिंसा, वैचारिक द्वन्द्व तथा सामाजिक विभाजनको प्रवृत्ति बढ्दो देखिएको छ। यो कुनै एक देश वा समाजको मात्र समस्या होइन, सम्पूर्ण मानव सभ्यतासामु उभिएको गम्भीर चुनौती हो ।

    उक्त धारणा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन, भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक, मिडिया प्रभारी तथा सामाजिक अभियन्ता बिमल सर्राफले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा व्यक्त गरेका हुन्।

    असहिष्णुता भनेको के हो ?

    असहिष्णुताको अर्थ केवल कुनै व्यक्ति, समुदाय, धर्म, संस्कृति वा विचारसँग असहमति राख्नु मात्र होइन, त्यसलाई स्वीकार गर्न अस्वीकार गर्नु, त्यसप्रति घृणा, विभेद, उपेक्षा वा हिंसात्मक व्यवहार गर्नु पनि हो। विचारहरूको विविधता मानव सभ्यताको पहिचान हो, तर जब असहमति वैमनस्यमा रूपान्तरण हुन्छ, त्यहीँबाट असहिष्णुताको जन्म हुन्छ।

    वर्तमान विश्वको परिदृश्य

    आज विश्वका धेरै देशहरू राजनीतिक ध्रुवीकरण, धार्मिक कट्टरता, जातीय विभेद, सांस्कृतिक द्वन्द्व, युद्ध, आतंकवाद, आप्रवासीप्रतिको असहिष्णुता तथा सामाजिक सञ्जालमार्फत फैलिने घृणाजन्य सामग्रीजस्ता चुनौतीसँग जुधिरहेका छन्। प्रविधिले मानिसहरूलाई नजिक ल्याएको छ, तर यही प्रविधिको दुरुपयोग गरी अफवाह, भ्रामक सूचना र घृणा फैलाउने कार्य पनि बढ्दो छ।

    यद्यपि अर्को यथार्थ के पनि हो भने विश्वका अधिकांश मानिस आज पनि शान्ति, सहकार्य, सहअस्तित्व र मानवताको मूल्यमा विश्वास गर्छन्। विभिन्न देश, भाषा र संस्कृतिका मानिसहरू शिक्षा, व्यापार, विज्ञान, खेलकुद तथा मानवीय सेवाका क्षेत्रमा मिलेर काम गरिरहेका छन्। यही नै मानव सभ्यताको सबैभन्दा ठूलो आशा हो।

    सहिष्णुताको महत्व

    सहिष्णुता भनेको आफ्नो पहिचान गुमाउनु होइन, बरु अरूको पहिचान, विश्वास र विचारको सम्मान गर्दै सहअस्तित्वमा बाँच्नु हो। लोकतन्त्र होस् वा कुनै पनि सामाजिक व्यवस्था, यसको आधार संवाद, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्व हो। मतभेद स्वाभाविक हुन्छ, तर त्यसलाई द्वन्द्व र घृणाको कारण बनाउनु समाजका लागि घातक हुन्छ।

    असहिष्णुताका प्रमुख कारण

    • राजनीतिक तथा वैचारिक ध्रुवीकरण।
    • धार्मिक तथा सांस्कृतिक कट्टरता।
    • जातीय, नस्लीय तथा सामाजिक विभेद।
    • सामाजिक सञ्जालमार्फत भ्रामक सूचना तथा घृणा फैलाउने सामग्रीको तीव्र प्रसार।
    • संवाद, धैर्य र संवेदनशीलताको कमी।
    • आर्थिक असमानता, भय र असुरक्षाको बढ्दो भावना।

    समाधान के हुन सक्छ ?

    असहिष्णुताको समाधान केवल कानुनबाट सम्भव छैन। यसको लागि परिवार, विद्यालय, समाज, सञ्चारमाध्यम, धार्मिक संस्था तथा विश्व नेतृत्वले सहिष्णुता, मानवअधिकार, संवैधानिक मूल्य–मान्यता र नैतिक शिक्षाको प्रवर्द्धन गर्नुपर्छ। शिक्षा यस्तो हुनुपर्छ, जसले ज्ञानसँगै मानवता, करुणा, सहिष्णुता र आपसी सम्मानको भावना पनि विकास गरोस्। सामाजिक सञ्जालको प्रयोग सकारात्मक संवाद, जनचेतना र रचनात्मक परिवर्तनका लागि हुनुपर्छ, घृणा र वैमनस्य फैलाउनका लागि होइन।

    निष्कर्ष

    आज मानवता यस्तो मोडमा पुगेको छ, जहाँ विज्ञान र प्रविधिले संसारलाई नजिक ल्याएको छ, तर धेरै ठाउँमा मानिसहरूको मन अझै टाढिएका छन्। यदि विश्वलाई शान्ति, स्थायित्व र दिगो विकासतर्फ अघि बढाउने हो भने सहिष्णुता, संवाद, करुणा र आपसी सम्मानलाई जीवनको आधार बनाउनैपर्छ।

    “वसुधैव कुटुम्बकम्” अर्थात् “सम्पूर्ण विश्व एउटै परिवार हो” भन्ने दर्शन आज झन् सान्दर्भिक बनेको छ। जब हामी जात, धर्म, भाषा, राष्ट्र र विचारधाराभन्दा माथि उठेर मानवतालाई सर्वोच्च स्थान दिन्छौँ, तब मात्र शान्तिपूर्ण, न्यायपूर्ण र समावेशी विश्वको निर्माण सम्भव हुन्छ। यही आजको सबैभन्दा ठूलो आवश्यकता र सम्पूर्ण मानव समाजको साझा जिम्मेवारी हो।

  • गौतम माध्यमिक विद्यालयमा इन्भेस्टिचर समारोह–२०८३ सम्पन्न, विद्यार्थी परिषद्लाई पद तथा जिम्मेवारी हस्तान्तरण

    गौतम माध्यमिक विद्यालयमा इन्भेस्टिचर समारोह–२०८३ सम्पन्न, विद्यार्थी परिषद्लाई पद तथा जिम्मेवारी हस्तान्तरण

    अभिलाष गुप्ता
    वीरगंज, १० साउन । गौतम माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि गठन गरिएको विद्यार्थी परिषद् (Student Council) लाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै इन्भेस्टिचर समारोह–२०८३ भव्य रूपमा सम्पन्न गरेको छ।

    विद्यालयमा आयोजित समारोहमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न नेतृत्वदायी जिम्मेवारी प्रदान गर्दै ब्याज (Badge) लगाई सम्मान गरिएको थियो।

    विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाको वीरगंजस्थित श्री जंग गणका गणपति (कर्णेल) लोकेन्द्र कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख रमेश शर्मा, सहायक प्रधानाध्यापक ललित कर्ण, सौराज प्रधान, एल्भिन सर, जुनियर को–अर्डिनेटर सिपेन्द्र गुप्ता लगायत शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    समारोहमा विद्यालयको विद्यार्थी नेतृत्वलाई औपचारिक रूपमा पदभार ग्रहण गराउँदै प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले सम्बन्धित पदअनुसार ब्याज लगाइदिएका थिए। यस अवसरमा स्वरा झा हेड गर्ल, अभिनव ठाकुर हेड ब्वाय, प्रियम कुमारी सिन्हा शैक्षिक प्रमुख (हेड प्रिफेक्ट), सिद्धार्थ कुमार मिश्रा शैक्षिक प्रमुख (हेड प्रिफेक्ट), अदिति पिठाकोटे मगर अतिरिक्त क्रियाकलाप (ECA) प्रमुख, बासु चौरसिया अतिरिक्त क्रियाकलाप प्रमुख, आर्या चौरसिया अनुशासन प्रमुख, अंकित कुमार अनुशासन प्रमुख, रिजन चापागाईं सामाजिक पहुँच प्रमुख, स्वस्तिका रौनियार सामाजिक पहुँच प्रमुख, दिप्शिखा गुप्ता खेलकुद प्रमुख, अनिश चौधरी खेलकुद प्रमुख, जबेरिया खातुन भाषा प्रमुख, आलोक शाह भाषा प्रमुख, रुशाली माली श्रेष्ठ डिजिटल वेलनेस प्रमुख, अर्नव केजरीवाल डिजिटल वेलनेस प्रमुख, मेहविश प्रवीन सह–पाठ्यक्रम (CCA) प्रमुख तथा ऋषभ गुप्ता सह–पाठ्यक्रम (CCA) प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो।यसै अवसरमा विद्यालयका अन्य विभिन्न विद्यार्थीहरूलाई पनि उनीहरूको जिम्मेवारीअनुसार विभिन्न ब्याज वितरण गरिएको विद्यालयले जनाएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णेल लोकेन्द्र कार्कीले विद्यालय जीवनमै नेतृत्व, अनुशासन, जिम्मेवारी र सेवाभावको विकास गर्न सके भविष्यमा सक्षम नागरिक बन्न सहज हुने उल्लेख गरे। उनले विद्यार्थी परिषद्मा चयन भएका सबै विद्यार्थीहरूलाई इमानदारी, समर्पण र उत्तरदायित्वका साथ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे।अध्यक्षीय मन्तव्य व्यक्त गर्दै प्रधानाध्यापक गणेश क्षेत्रीले विद्यार्थी परिषद् विद्यालयको नेतृत्व विकास गर्ने महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै नवनिर्वाचित पदाधिकारीहरूले विद्यालयको अनुशासन, शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    उत्साहपूर्ण वातावरणमा सम्पन्न इन्भेस्टिचर समारोहले विद्यार्थीहरूमा नेतृत्व क्षमता, उत्तरदायित्व, अनुशासन तथा सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

     

  • गुरुपूर्णिमाको अवसरमा अन्तरविद्यालय कला महोत्सव–२०८३ सम्पन्न

    गुरुपूर्णिमाको अवसरमा अन्तरविद्यालय कला महोत्सव–२०८३ सम्पन्न

    अभिलाष गुप्ता
    वीरगंज, १० साउन । गुरुपूर्णिमाको पावन अवसरमा विद्या सदन सेकेन्डरी स्कुल, मुर्ली, वीरगञ्ज–१२, पर्साको आयोजनामा अन्तरविद्यालय कला महोत्सव –२०८३ भव्य रूपमा सम्पन्न भएको छ। वीरगंजका १० प्रतिष्ठित विद्यालयको सहभागिता रहेको महोत्सवमा पाँच समूहमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो।

    प्रतियोगिताको समूह ‘क’ (नर्सरी) मा बिनिता चौरसिया (जीएचपी सेकेन्डरी स्कुल) प्रथम, आकृति कुमारी (न्यु वेभ सेकेन्डरी स्कुल) द्वितीय तथा अनुराधा कुशवाहा (मिनी ल्यान्ड इङ्ग्लिस सेकेन्डरी स्कुल) तृतीय भइन्।समूह ‘ख’ (एल.के.जी.) मा अन्जुला राम (जीएचपी सेकेन्डरी स्कुल) प्रथम, सोनिया मण्डल (विद्या सदन सेकेन्डरी स्कुल) द्वितीय तथा साइमा खातुन (विद्या सदन सेकेन्डरी स्कुल) तृतीय भइन्।

    समूह ‘ग’ (यू.के.जी.) मा सुन्दरम कलवार (जीएचपी सेकेन्डरी स्कुल) प्रथम, आहान अली (विद्या सदन सेकेन्डरी स्कुल) द्वितीय तथा अनाया अली (विद्या सदन सेकेन्डरी स्कुल) तृतीय भए।समूह ‘घ’ (कक्षा १–२) मा अमन कुमार साह (जीएचपी सेकेन्डरी स्कुल) प्रथम, शिवानी महतो (विद्या सदन सेकेन्डरी स्कुल) द्वितीय तथा साक्षी गुप्ता (जीएचपी सेकेन्डरी स्कुल) तृतीय भइन्।

    समूह ‘ङ’ (कक्षा ३–५) मा आरुषी कुमारी प्रजापति (मनकामना सेकेन्डरी स्कुल) प्रथम, आरती सिंह (जीएचपी सेकेन्डरी स्कुल) द्वितीय तथा नैना कुमारी (न्यु वेभ सेकेन्डरी स्कुल) तृतीय भइन्।

    प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबै विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

  • भारत विकास परिषद्को मेहेन्दी प्रतियोगितामा छात्रा तथा महिलाहरूले सिर्जनात्मक प्रतिभा प्रदर्शन गरे

    भारत विकास परिषद्को मेहेन्दी प्रतियोगितामा छात्रा तथा महिलाहरूले सिर्जनात्मक प्रतिभा प्रदर्शन गरे

    रक्सौल, मोतिहारी तथा नेपालको वीरगंजबाट पनि सहभागीहरूको उत्साहजनक सहभागिता, विजेताहरूलाई पदक तथा प्रशस्तिपत्र प्रदान गरी सम्मानित गरियो

    रक्सौल, १० साउन । भारत विकास परिषद्, रक्सौल शाखाको आयोजनामा संस्कृति सप्ताह–२०२६ अन्तर्गत आइतबार श्री सत्यनारायण मारवाडी पञ्चायती मन्दिर परिसरमा भव्य मेहेन्दी प्रतियोगिता सम्पन्न भयो। न्यू परिधान, गायत्री टायल्स, छवि सैलुन तथा सुहाना मेहेन्दीको सहयोगमा आयोजित उक्त प्रतियोगितामा रक्सौल, मोतिहारी तथा आसपासका क्षेत्रका साथै छिमेकी राष्ट्र नेपालका वीरगञ्जबाट आएका छात्रा तथा महिलाहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो सिर्जनात्मक प्रतिभाको उत्कृष्ट प्रदर्शन गरे।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अवर निबन्धक आशीष अग्रवाल, विशिष्ट अतिथि सुप्रिया ड्रोलिया, भारत विकास परिषद् रक्सौल शाखाका अध्यक्ष रजनीश प्रियदर्शी, सचिव नरेश कुमार, महिला सहभागिता संयोजिका श्रीमती मेनका गुप्ता, कार्यक्रम संयोजक अजय कुमार, कैलाशचन्द्र काबरा, सुश्री मोनिका आर्य तथा मीतु गुप्ताले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभयो। त्यसपछि भारत माता तथा स्वामी विवेकानन्दको तस्बिरमा पुष्पाञ्जली अर्पण गरियो तथा सामूहिक रूपमा ‘वन्दे मातरम्’ गान प्रस्तुत गरियो। उपस्थित अतिथिहरूलाई दोसल्ला तथा स्मृति–चिन्ह प्रदान गरी हार्दिक स्वागत एवं सम्मान गरियो।

    प्रतियोगितामा ७० जना छात्रा तथा महिलाहरूले सहभागिता जनाए। परिषद्का सचिव नरेश कुमार ले स्वागत मन्तव्य व्यक्त गर्दै परिषद्का गतिविधि तथा संस्कृति सप्ताह–२०२६ को उद्देश्यबारे प्रकाश पार्नुभयो। उहाँले यस्ता कार्यक्रमहरू भारतीय संस्कृति तथा परम्परागत कला, संस्कार र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि प्रभावकारी माध्यम भएको बताउनुभयो।

    महिला सहभागिता संयोजिका श्रीमती मेनका गुप्ता तथा कार्यक्रम संयोजक अजय कुमार ले भारत विकास परिषद्ले आफ्ना पञ्चसूत्र—सम्पर्क, सहयोग, संस्कार, सेवा तथा समर्पण मार्फत समाजका प्रत्येक वर्गलाई एकताबद्ध गर्ने कार्य गरिरहेको बताउनुभयो। उहाँहरूले संस्कृति सप्ताह अन्तर्गत आयोजित यस प्रतियोगिताको उद्देश्य छात्रा तथा महिलाहरूमा भारतीय सांस्कृतिक सम्पदाप्रति जागरूकता अभिवृद्धि गर्नु, उनीहरूको सिर्जनात्मक क्षमतालाई प्रोत्साहित गर्नु तथा आफ्ना प्रतिभा प्रदर्शन गर्ने सशक्त मञ्च उपलब्ध गराउनु रहेको बताउनुभयो।

    परिषद्का सेवा संयोजक तथा मिडिया प्रभारी बिमल कुमार सर्राफ ले यस्ता कार्यक्रमहरूले लुकेका प्रतिभाहरूलाई उजागर गर्ने अवसर प्रदान गर्ने तथा बालबालिका र महिलाहरूमा नयाँ सिर्जना गर्ने उत्साह र आत्मविश्वास बढाउने बताउनुभयो।प्रतियोगिताका क्रममा सहभागीहरूले आफ्ना हत्केलामा आकर्षक तथा कलात्मक मेहेन्दीका उत्कृष्ट डिजाइन बनाएर निर्णायक मण्डललाई प्रभावित पारे। निर्णायक मण्डलमा श्रीमती मेनका गुप्ता, सुश्री मोनिका आर्य तथा श्रीमती बबली गुप्ता रहनुभएको थियो।

    निर्णायकहरूको निर्णयका आधारमा मुस्कान गुप्ता प्रथम, खुशी कुमारी द्वितीय तथा आराध्या गुप्ता तृतीय घोषित भइन्। विजेता तीनै जनालाई परिषद्को तर्फबाट पदक, प्रशस्तिपत्र, स्मृति–चिन्ह तथा बालसन हर्बलको उपहार प्रदान गरी सम्मानित गरियो। साथै प्रतियोगितामा सहभागी सबैलाई प्रशस्तिपत्र र पदक प्रदान गरी उनीहरूको उत्साहवर्द्धन गरियो।

    कार्यक्रमको समापनमा छवि सैलुन की सञ्चालिका सुश्री मोनिका आर्य तथा कैलाशचन्द्र काबरा लाई प्रतियोगिताको सफल आयोजनामा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै स्मृति–चिन्ह प्रदान गरी सम्मानित गरियो।

    कार्यक्रमको सफल सञ्चालन सुनील कुमार ले गर्नुभयो। कार्यक्रममा उपस्थित प्रमुख अतिथि अवर निबन्धक आशीष अग्रवाल तथा विशिष्ट अतिथि सुप्रिया ड्रोलिया ले भारत विकास परिषद्ले आयोजना गर्ने यस्ता सांस्कृतिक कार्यक्रमहरूको मुक्तकण्ठले प्रशंसा गर्दै यसलाई भारतीय संस्कृति, कला तथा परम्पराको संरक्षण र संवर्द्धनतर्फको सराहनीय पहल भएको बताउनुभयो।

    कार्यक्रमलाई सफल बनाउन नरेश कुमार, बिमल कुमार सर्राफ, अजय कुमार, नीतेश कुमार सिंह, अरविन्द जायसवाल, उमेश सिकारिया, सीताराम गोयल, सुरेश धानोठिया, विनोद रौनियार, विनोद कुमार, दिनेश प्रसाद, सन्तोष कुमार, अशोक कुमार (मुन्ना), प्रतीक कुमार, सुनील कुमार, बबली गुप्ता, सीमा गुप्ता, किरण गुप्ता, ममता गुप्ता तथा सोनी गुप्ता सहित परिषद्का धेरै सदस्यहरूको उल्लेखनीय योगदान रहेको थियो।

    यस सम्बन्धी जानकारी परिषद्का सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं मिडिया प्रभारी बिमल कुमार सर्राफले संयुक्त रूपमा दिनुभएको हो।