Blog

  • खुसीका लागि किन कसैको प्रतीक्षा गर्ने? आफ्नै जीवनका शिल्पकार तपाईं स्वयं हुनुहुन्छ : बिमल सर्राफ

    खुसीका लागि किन कसैको प्रतीक्षा गर्ने? आफ्नै जीवनका शिल्पकार तपाईं स्वयं हुनुहुन्छ : बिमल सर्राफ

    रक्सौल / पूर्वी चम्पारण १० साउन । “तपाईं जतिसुकै दक्ष, बुद्धिमान, विवेकी, गुणवान र धैर्यवान किन नहुनुहोस्, जीवनका प्रत्येक परिस्थितिमाथि तपाईंको पूर्ण नियन्त्रण हुन सक्दैन।”

    यी विचार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन तथा भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक, मिडिया प्रभारी एवं समाजसेवी बिमल सर्राफ ले पत्रकारहरूसँग साझा गर्नुभयो।

    उहाँले भन्नुभयो कि मानिसको कर्तव्य आफ्नो तर्फबाट उत्कृष्ट प्रयास गर्नु हो। प्रयासको पनि सीमा हुन्छ, र त्यस सीमापछिको डोरी परमेश्वरको हातमा हुन्छ। त्यसैले खुसीका लागि अरू कसैको प्रतीक्षा नगरी आफ्नै जीवनका शिल्पकार स्वयं बन्नुहोस्।उहाँले भन्नुभयो, सत्कर्म नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो। मानिसले आफ्नै कर्मबाट आफ्नो भाग्य निर्माण गर्छ। पीडाले हामीलाई आफ्नाहरूको महत्त्व बुझाउँछ भने धन–सम्पत्तिले कहिलेकाहीँ आफ्नै मानिसहरूबाट टाढा बनाइदिन्छ। त्यसैले ठूलो काम गर्नुहोस्, तर व्यवहारमा सधैं विनम्रता कायम राख्नुहोस्। यही नै महान व्यक्तित्वको साँचो पहिचान हो।

    बिमल सर्राफले भन्नुभयो, जीवन पाउनु भाग्यको कुरा हो, मृत्यु समयको कुरा हो, तर मृत्युपछि पनि मानिसहरूको हृदयमा जीवित रहनु भने आफ्ना कर्महरूको परिणाम हो।

    उहाँले भन्नुभयो, जसरी रुखलाई हरेक दिन पानी हाल्नुपर्छ तर फल भने आफ्नै मौसममा मात्र लाग्छ, त्यसैगरी जीवनमा पनि धैर्य आवश्यक हुन्छ। प्रत्येक काम आफ्नो निश्चित समयमा नै सफल हुन्छ।उहाँले भन्नुभयो, गुणले मानिसलाई सफल बनाउँछ, तर ती गुणसँग विनम्रता र विवेक पनि जोडिएमा मानिस सफलताको सर्वोच्च शिखरसम्म पुग्न सक्छ। मानिसहरूले हामीलाई नामले चिन्छन्, तर सम्झिने भने हाम्रो असल स्वभावका कारण हो।

    उहाँले भन्नुभयो, सबैभन्दा खुसी मानिसहरू ती होइनन्, जो केवल लिन जान्दछन्; बरु ती हुन्, जो अरूलाई दिन जान्दछन्। कुनै पनि समस्याको समाधान क्रोधबाट होइन, शान्त मनले विचार गरेर मात्र सम्भव हुन्छ।

    उहाँले भन्नुभयो, भयबाट मुक्त हुन उत्कृष्ट कर्म गर्नुका साथै आफूलाई अविनाशी आत्मा ठान्नु आवश्यक छ। जब जीवनको दिशा स्पष्ट हुन्छ, तब मार्गदर्शकहरू आफैं भेटिन्छन्। यदि कोही मार्गदर्शक नभए पनि, आफ्नै अन्तरआत्माले सही बाटो देखाउने काम गर्छ ।

  • पर्सागढी–५ जिगनामा सांसद सुशील साह कानुद्वारा विकास तथा जनसमस्याबारे छलफल, मलखाददेखि सडक र स्वास्थ्यसम्मका विषय उठान

    पर्सागढी–५ जिगनामा सांसद सुशील साह कानुद्वारा विकास तथा जनसमस्याबारे छलफल, मलखाददेखि सडक र स्वास्थ्यसम्मका विषय उठान

    अभिलाष गुप्ता
    पर्सा, ०९ साउन । प्रतिनिधिसभा सदस्य सुशील साह कानु ले पर्साको पर्सागढी नगरपालिका–५, जिगनामा स्थानीयवासीसँग भेटघाट गर्दै विकास निर्माण तथा जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेका छन्।

    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका यातायात विभाग प्रमुख राम आर्य, रास्वपा क्षेत्र नं. २ का सचिव किशन प्रसाद, रास्वपा वीरगञ्ज नगर सभापति दीपराज पटेल लगायत स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    छलफलका क्रममा किसानहरूले समयमै रासायनिक मलखाद उपलब्ध गराउनुपर्ने आवश्यकता, गाउँका सडक तथा नाला निर्माण, स्वास्थ्य सेवा विस्तार, शिक्षा क्षेत्रको सुधार तथा अन्य आधारभूत पूर्वाधार विकासका विषयमा आफ्ना समस्या र सुझाव राखेका थिए।

    सांसद साहले स्थानीयले उठाएका विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले विकास निर्माणका योजनालाई स्थानीय आवश्यकताअनुसार प्राथमिकतामा राखेर अघि बढाइने तथा जनताको प्रत्यक्ष सहभागितामा विकासलाई प्रभावकारी बनाइने बताए।

    स्थानीयवासीहरूले पनि जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न पाएकोमा खुशी व्यक्त गर्दै कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा शीघ्र कार्यान्वयनको अपेक्षा गरेका छन्। कार्यक्रम विकासका आवश्यकता पहिचान गर्दै जनप्रतिनिधि र स्थानीयबीच सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यका साथ सम्पन्न भएको थियो।

  • नौ बुँदे सहमति र लिखत सम्बन्धी निर्णयको विरोधमा पर्साका साहुहरूको प्रदर्शन

    नौ बुँदे सहमति र लिखत सम्बन्धी निर्णयको विरोधमा पर्साका साहुहरूको प्रदर्शन

    वीरगंज, ०९ साउन । सरकार र मिटरब्याज पीडित बीच भएको नौबुँदे सहमति तथा लिखत, कपाली तमसुक, चेक र दृष्टिबन्धक सम्बन्धी सरकारका निर्णयको विरोधमा पर्साका ऋण लगानीकर्ता तथा साहुहरूले आज वीरगंजमा विरोध प्रदर्शन गरेका छन् ।

    लेनदेन पीडित संघर्ष समिति, पर्साको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले जुलुससहित वीरगंज बजारका विभिन्न भागमा परिक्रमा गर्दै सरकारको निर्णयप्रति विरोध जनाएका हुन्। पर्सा जिल्ला समन्वय समिति अगाडिबाट सुरु भएको र्‍याली वीरगंजकाे घण्टाघरमा पुगेर सभामा परिणत भएको थियो।प्रदर्शनमा सहभागी साहुहरूले मिटरब्याजको नाममा भइरहेको आतंक बन्द गर्न, कानुनबमोजिम गरिएको लगानी फिर्ता पाउने व्यवस्था गर्न, आपसी लेनदेनलाई मिटरब्याजको आरोप नलगाउन, ठगी गर्ने ऋणीहरूसँग गरिएका एकलौटी सम्झौता खारेज गर्न तथा विधिको शासन कायम गर्न माग गरेका छन्।

    त्यस्तै, न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर्न, कानुनसम्मत रूपमा भएका लेनदेनको संरक्षण गर्न, लगानीकर्तालाई एकपक्षीय रूपमा दोषी ठहर नगर्न तथा ‘मिटरब्याजी’ शब्दको दुरुपयोग बन्द गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।प्रदर्शनका क्रममा पाँच वर्षअघि खरिद गरेको घरका कारण आफू अहिले मिटरब्याजीको आरोप खेप्नुपरेको भन्दै एक साहुले आफ्नो पीडा व्यक्त गरे। उनले कानुनबमोजिम गरिएको लेनदेनलाई समेत मिटरब्याजको आरोप लगाएर आफूहरूलाई पीडित बनाइएको गुनासो गरे।

    सरकारले मिटरब्याज पीडितसँग गरेको सहमतिको आधारमा लेनदेन सम्बन्धी लिखतलाई अवैध ठहर गर्ने निर्णय गरेको भन्दै समितिले त्यसप्रति आपत्ति जनाएको छ। आर्थिक संकटका बेला आवश्यक परेका व्यक्तिलाई सहयोग स्वरूप रकम उपलब्ध गराई प्रचलित कानुन अनुसार लिखित कागजात तयार गरेर गरिएको लेनदेनलाई एकतर्फी रूपमा अवैध ठहर गर्नु न्यायोचित नभएको समितिको दाबी छ।समितिले ऋणी र लगानीकर्ता दुवै पक्षको कुरा सुनेर निष्पक्ष छानबिन गर्न, दोषीलाई मात्र कानुनी कारबाही गर्न र निर्दोष लगानीकर्तालाई अनावश्यक रूपमा प्रताडित नगर्न सरकारसँग माग गरेको छ।
    आफ्ना माग सम्बोधन नभए आगामी दिनमा थप शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत समितिले दिएको छ।

  • नेशनल प्याब्सन किड्स क्वेस्ट–२०८३ सम्पन्न, विद्यार्थीको सिर्जनात्मक प्रतिभा उजागर

    नेशनल प्याब्सन किड्स क्वेस्ट–२०८३ सम्पन्न, विद्यार्थीको सिर्जनात्मक प्रतिभा उजागर

    अभिलाष गुप्ता
    वीरगंज, ०९ साउन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) जिल्ला समिति पर्सा तथा नेशनल प्याब्सन वीरगंज महानगरपालिका समितिको संयुक्त आयोजनामा “नेशनल प्याब्सन किड्स क्वेस्ट–२०८३” कार्यक्रम शनिबार वीरगञ्जस्थित वीरगंज पब्लिक कलेज (बीपीसी) को सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

    जिल्लाभरिका नेशनल प्याब्सनमा आबद्ध सदस्य विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूको सिर्जनात्मक तथा बौद्धिक क्षमताको विकास गर्ने उद्देश्यले चित्रकला, हस्तलेखन तथा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बिरगंज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख डा. अर्बिन्द श्रेष्ठ ले गमलामा पानी हालेर गरेका थिए। कार्यक्रममा नेशनल प्याब्सन जिल्ला समितिका अध्यक्ष रामकुमार श्रेष्ठ को अध्यक्षता रहेको थियो।

    कार्यक्रममा नेशनल प्याब्सन वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष सोनालाल पटेल, नेशनल प्याब्सनका केन्द्रीय सचिव इन्द्र देव साह, हिसान पर्साका अध्यक्ष मुकेश गुप्ता, शिक्षाविद् मार्टिन मोक्तान, पवित्रा प्रधान, उत्तम गुप्ता, सन्तोष साह लगायत शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको विशिष्ट उपस्थिति रहेको थियो।

    प्रतियोगिताका निर्णायक मण्डलमा सुश्मा सिंह, मार्टिन मोक्तान र सञ्जय चौरसिया रहेका थिए।

    प्रतियोगिताको नतिजाअनुसार चित्रकला प्रतियोगितामा माउन्ट हर्मन विद्यालयका चञ्चल उपाध्याय प्रथम, लर्ड बुद्ध विद्यालयका निरज प्रजापति द्वितीय तथा एन्जल वर्ल्ड विद्यालयकी नायरा श्रेष्ठ तृतीय भइन्।

    हस्तलेखन प्रतियोगितामा ज्ञान उदय विद्यालयकी आइसा गुप्ता प्रथम, ओएसआईएस विद्यालयका निरज चौधरी द्वितीय तथा माउन्ट हर्मन विद्यालयकी ऐश्वर्या गुप्ता तृतीय भइन्।

    त्यसैगरी निबन्ध लेखन प्रतियोगितामा एन्जल वर्ल्ड विद्यालयका आयुष कुमार प्रथम, सोही विद्यालयकी उन्नति साह द्वितीय तथा ब्राइट पब्लिक विद्यालयका प्रेम चौरसिया तृतीय हुन सफल भए।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सबै विजेता विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

    कार्यक्रमको सञ्चालन नेशनल प्याब्सन जिल्ला समितिका सचिव प्रमोद रायमाझी ले गरेका थिए। आयोजकका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

  • पर्सागढीमा रास्वपाद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ६० जनाले गरे रक्तदान

    पर्सागढीमा रास्वपाद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ६० जनाले गरे रक्तदान

    अभिलाष गुप्ता
    पर्सा, ०९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर कमिटी, पर्साको आयोजनामा पर्सागढी नगरपालिका–३ बढनियारमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रम प्रतिनिधिसभा सदस्य सुशील साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा ३ महिलासहित कुल ६० जनाले आफ्नो अमूल्य रक्तदान गरेका थिए।

    कार्यक्रममा रास्वपा महाअधिवेशन प्रतिनिधि सुधिर पटेल, रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, रास्वपा क्षेत्र नं. २ का सचिव किशन प्रसाद, रास्वपा वीरगंज नगर सभापति दीपराज पटेल, स्थानीय बुद्धिजीवी, राष्ट्रिय स्वतन्त्र पार्टी पर्सागढी नगर कमिटीका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।रक्तदान गर्नेहरूमा प्रमुख अतिथि सांसद सुशील साह कानु, रास्वपा महाअधिवेशन प्रतिनिधि सुधिर पटेल, मुस्कान दाहाल, होम प्रसाद न्यौपाने, सन्तोष खवास, पोषण पटेल कुर्मी, हर्क बहादुर अर्याल, आशिक अधिकारी, रैतु आलम अन्सारी, कमलेश रायभर, मनोज रायभर तथा करण आचार्य लगायत सहभागी रहेका थिए।

    कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी रेशमको उपशाखाका सह-कोषाध्यक्ष अभिलाष गुप्ता तथा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ पाण्डे लगायतको विशेष सहयोग रहेको आयोजकले जनाएको छ।

  • रोटरी क्लब अफ वीरगंजकाे ३९ औँ पदस्थापन समारोह सम्पन्न, राकेश मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति गठन

    रोटरी क्लब अफ वीरगंजकाे ३९ औँ पदस्थापन समारोह सम्पन्न, राकेश मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति गठन

    अभिलाष गुप्ता
    वीरगंज, ०९ साउन । रोटरी क्लब अफ वीरगंजकाे ३९ औँ पदस्थापन (इन्स्टलेसन) समारोह शनिबार वीरगञ्जस्थित होटल भिस्वामा भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ।

    समारोहमा रोटरी क्लब अफ वीरगंजका अध्यक्ष (२०२६–२७) का रूपमा रोटेरियन राकेश मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा नेतृत्व सम्हालेका छन्। कार्यक्रम रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर (२०२६–२७) रोटेरियन विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

    पदस्थापन समारोहमार्फत अध्यक्ष रोटेरियन राकेश मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति समेत गठन गरिएको छ। नवगठित कार्यसमितिमा रोटेरियन श्वेता गुप्ता सचिव, रोटेरियन गोपाल खेतान तत्कालीन अध्यक्ष,रोटेरियन दीनदयाल केडिया अध्यक्ष–निर्वाचित,रोटेरियन अमित कुमार गुप्ता उपाध्यक्ष, रोटेरियन पियुष गुप्ता सहसचिव, रोटेरियन डा. अमर केयाल कोषाध्यक्ष, रोटेरियन डा. प्रेरणा प्रियदर्शिनी सह–कोषाध्यक्ष, रोटेरियन सोहन पोद्दार क्लब प्रशासन निर्देशक, रोटेरियन अभिषेक चौधरी सदस्यता निर्देशक, रोटेरियन रणजेश श्रेष्ठ क्लब प्रशासन समिति संयोजक तथा रोटेरियन पूजा खत्री सदस्यता समिति संयोजकको जिम्मेवारी पाएका छन्। साथै अन्य विभिन्न समिति तथा उपसमितिहरूमा समेत सदस्यहरूको मनोनयन गरिएको क्लबले जनाएको छ।समारोहमा नेपाल तथा भारतका विभिन्न स्थानबाट रोटरी क्लबका पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै विभिन्न सामाजिक व्यक्तित्व, उद्योगी, व्यवसायी, पेशाकर्मी तथा आमन्त्रित अतिथिहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले रोटरीका मानवीय सेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अघि बढाउन सबै सदस्यहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

    नवनिर्वाचित अध्यक्ष रोटेरियन राकेश मिश्रले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामुदायिक सेवाका विविध कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले रोटरीको आदर्श “सेवा नै सर्वोपरि” भन्ने भावनालाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

    पदस्थापन समारोहमार्फत निवर्तमान कार्यसमितिबाट नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो। कार्यक्रममै उत्कृष्ट योगदान पुर्‍याउने सदस्यहरूलाई सम्मान गरिएको तथा सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य र आपसी भेटघाटका साथ समारोह सम्पन्न भएको थियो।

  • आजको समयमा बढ्दो एक्लोपन : कारण र समाधान — बिमल सर्राफ

    आजको समयमा बढ्दो एक्लोपन : कारण र समाधान — बिमल सर्राफ

    रक्सौल, पूर्वी चम्पारण ०९ साउन । मानिसलाई सामाजिक प्राणी भनिन्छ। उसले आफ्ना विचार, भावना र अनुभवहरू अरूसँग बाँडेर मात्र जीवनको पूर्णताको अनुभूति गर्छ। तर विडम्बना के छ भने, आज सञ्चार र प्रविधिका साधनहरू पहिलेभन्दा धेरै विकसित भइसकेका भए पनि समाजका हरेक वर्गमा एक्लोपनको भावना तीव्र रूपमा बढिरहेको छ। यो समस्या केवल मानिसहरूमा मात्र सीमित छैन, प्रकृति र समाजबाट टाढिँदै जाँदा सम्पूर्ण जीव–जगत पनि यसको प्रभावबाट अछुतो रहन सकेको छैन।

    यी विचारहरू लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन, भारत विकास परिषद् रक्सौलका सेवा संयोजक, सञ्चार (मिडिया) प्रभारी तथा समाजसेवी बिमल सर्राफ ले प्रेससँग साझा गर्नुभएको हो।एक्लोपनको मुख्य कारण

    आज बढ्दो एक्लोपनको सबैभन्दा ठूलो कारण मानवीय सम्बन्धमा आत्मीयता, अपनत्व र संवादको कमी हो। आधुनिक जीवनको व्यस्तता, तीव्र प्रतिस्पर्धा र व्यक्तिगत सफलताको अन्धाधुन्ध दौडले मानिसहरूलाई भावनात्मक रूपमा एकअर्काबाट टाढा बनाएको छ। मानिसहरू पहिलेभन्दा बढी जोडिएका देखिए पनि उनीहरूबीचको सम्बन्धको गहिराइ भने निरन्तर घट्दै गएको छ।

    प्रविधि र डिजिटल जीवनको प्रभाव

    मोबाइल फोन, सामाजिक सञ्जाल र इन्टरनेटले संसारलाई नजिक ल्याएको छ। तर यी साधनहरूले प्रत्यक्ष भेटघाट र आत्मीय संवादलाई सीमित बनाइदिएका छन्। आज मानिसहरू घण्टौँसम्म स्क्रिनमा व्यस्त रहन्छन्, तर परिवार र साथीभाइसँग बसेर मनका कुरा गर्ने समय निकाल्न सक्दैनन्। परिणामस्वरूप, आभासी सम्पर्क बढिरहेको छ भने वास्तविक सम्बन्धहरू कमजोर बन्दै गएका छन्।संयुक्त परिवारको विघटन

    एक समय थियो, जब संयुक्त परिवार समाजको सबैभन्दा ठूलो शक्ति मानिन्थ्यो। एउटै परिवारमा धेरै पुस्ता सँगै बस्ने, सुख–दुःख बाँड्ने र प्रत्येक सदस्यले भावनात्मक सुरक्षा तथा अपनत्वको अनुभूति गर्ने वातावरण थियो। तर आज एकल परिवारको बढ्दो प्रवृत्तिले यस सामाजिक संरचनालाई कमजोर बनाएको छ। यसको परिणामस्वरूप वृद्धवृद्धा, युवा र बालबालिका—सबै कुनै न कुनै रूपमा एक्लोपनको अनुभव गरिरहेका छन्।

    स्वार्थ र भौतिकवाद

    वर्तमान समयमा धन, पद र प्रतिष्ठालाई अत्यधिक महत्व दिइँदै आएको छ। भौतिक उपलब्धिको होडमा मानवीय सम्बन्धको न्यानोपन र संवेदनशीलता ओझेलमा पर्दै गएको छ। जब सम्बन्धहरू केवल स्वार्थ र उपयोगितामा आधारित हुन्छन्, तब तिनमा स्थायित्व र आत्मीयता हराउन थाल्छ, जसका कारण व्यक्ति भित्रभित्रै एक्लो महसुस गर्न थाल्छ।प्रकृतिसँग बढ्दो दूरी

    एक्लोपनको अर्को महत्वपूर्ण कारण प्रकृतिसँग बढ्दो दूरी पनि हो। सहरीकरण, औद्योगिकीकरण र वातावरणीय असन्तुलनका कारण मानिस मात्र होइन, अनेकौँ जीवजन्तुको प्राकृतिक बासस्थान पनि नष्ट हुँदै गइरहेको छ। यसले जीवनको प्राकृतिक सन्तुलन बिगारेर अलगावको भावना झन् बढाएको छ।

    एक्लोपनका दुष्प्रभाव

    एक्लोपन केवल मानसिक अवस्था मात्र होइन, यसले व्यक्तिको शारीरिक, सामाजिक र भावनात्मक स्वास्थ्यमा समेत गम्भीर असर पार्छ। यसको कारण तनाव, अवसाद, आत्मविश्वासमा कमी, चिडचिडापन, निराशा तथा जीवनप्रति नकारात्मक दृष्टिकोण विकसित हुन सक्छ। लामो समयसम्म रहने एक्लोपनले समाजमा संवेदनहीनता, अविश्वास र सामाजिक दूरीलाई पनि बढावा दिन्छ।समाधान

    एक्लोपनबाट मुक्ति पाउन परिवार, समाज र प्रत्येक व्यक्तिले संयुक्त रूपमा प्रयास गर्न आवश्यक छ। परिवारभित्र आत्मीय संवाद बढाउनुपर्छ, साथीभाइ र आफन्तसँग समय बिताउने बानी बसाल्नुपर्छ, सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय सहभागिता जनाउनुपर्छ र प्रकृतिसँग नजिक रहने संस्कार विकास गर्नुपर्छ। साथै, डिजिटल जीवन र वास्तविक जीवनबीच सन्तुलन कायम गर्नु पनि अत्यन्त आवश्यक छ।

    सबैभन्दा महत्वपूर्ण कुरा भनेको एकअर्काको भावना बुझ्ने, सुन्ने र सम्बन्धलाई समय दिने हो। साँचो अपनत्व नै एक्लोपनको सबैभन्दा प्रभावकारी औषधि हो।निष्कर्ष

    आजको समयमा बढ्दो एक्लोपनको मूल कारण घट्दो आत्मीयता, संवादहीनता, अत्यधिक व्यक्तिवाद र भौतिकवादी सोच हो। प्रविधिको विकासले जीवनलाई सहज र सुविधाजनक त बनाएको छ, तर यसले मानवीय संवेदना र भावनात्मक निकटताको स्थान लिन सक्दैन। यदि हामीले स्वस्थ, संवेदनशील र सन्तुलित समाज निर्माण गर्न चाहन्छौँ भने सम्बन्धको न्यानोपन, पारस्परिक सहयोग, प्रेम, विश्वास र मानवीय मूल्यलाई पुनः जीवनको आधार बनाउनुपर्छ। यही नै बढ्दो एक्लोपनको स्थायी र प्रभावकारी समाधान हो।

  • ताज होटल, पटनामा लायन्स डिस्ट्रिक्ट ३२२ ई को स्थापना समारोह ‘आरोहण’ सम्पन्न, रक्सौल लायन्स क्लब सम्मानित

    ताज होटल, पटनामा लायन्स डिस्ट्रिक्ट ३२२ ई को स्थापना समारोह ‘आरोहण’ सम्पन्न, रक्सौल लायन्स क्लब सम्मानित

    रक्सौल, पूर्वी चम्पारण ०९ साउन । लायन्स डिस्ट्रिक्ट ३२२ ई को स्थापना समारोह ‘आरोहण’ भारतको राजधानी पटनास्थित ताज होटलमा भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा देश–विदेशबाट आएका लायन्स पदाधिकारी, विशिष्ट अतिथि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको अध्यक्षता लायोनिस्टिक वर्ष २०२६–२७ की डिस्ट्रिक्ट गभर्नर लायन सङ्गीता नन्दाले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा लायन्स क्लब इन्टरनेशनल (२०२६–२७) का प्रथम अन्तर्राष्ट्रिय उपाध्यक्ष लायन डा. मनोज शाह (केन्या) तथा उहाँकी धर्मपत्नी लायन जेना शाह उपस्थित हुनुहुन्थ्यो।साथै पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन बी. के. लुथरा, बिहार सरकारका उपमुख्यमन्त्री श्री विजय कुमार चौधरी, डा. झा, श्री बिमल जैन लगायत पूर्व तथा वर्तमान डिस्ट्रिक्ट गभर्नरहरूको पनि सहभागिता रहेको थियो।

    यस अवसरमा लायन्स क्लब अफ रक्सौल का वरिष्ठ सदस्य लायन बिमल सर्राफ तथा लायन साइमन रेक्स लाई एलसीआईएफ (LCIF) मा उत्कृष्ट योगदान पुर्‍याएबापत एप्रिसिएसन अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। उक्त सम्मान प्राप्त भएपछि रक्सौल लायन्स क्लबका सदस्यहरूमा हर्ष र गौरवको वातावरण छाएको थियो।

    समारोहका क्रममा वर्ष २०२६–२७ का प्रथम उप–डिस्ट्रिक्ट गभर्नर लायन अविनाश चौधरी तथा द्वितीय उप–डिस्ट्रिक्ट गभर्नर लायन गीता शर्मा सहित डिस्ट्रिक्टका सम्पूर्ण पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ लायन्स क्लब इन्टरनेशनलका प्रथम अन्तर्राष्ट्रिय उपाध्यक्ष लायन डा. मनोज शाह ले गराउनुभयो। शपथ ग्रहण समारोहले सेवा, समर्पण तथा नेतृत्वका मूल्यहरूलाई अझ सुदृढ बनाउने सन्देश दिएको थियो।प्रमुख अतिथि लायन डा. मनोज शाहले आफ्नो सम्बोधनमा लायोनिज्मको भावना, मानव सेवाको महत्व तथा समाजप्रति लायन्स क्लबको जिम्मेवारीबारे विस्तृत रूपमा प्रकाश पार्दै लायन्स क्लबको उद्देश्य सेवा कार्यमा मात्र सीमित नभई समाजमा सकारात्मक र दीर्घकालीन परिवर्तन ल्याउनु पनि रहेको बताउनुभयो।

    यस भव्य समारोहमा लायन्स क्लब अफ रक्सौल का पूर्व अध्यक्ष लायन बिमल सर्राफ, लायन नारायण रुंगटा तथा पूर्व कोषाध्यक्ष लायन अमित कुमार ले पनि सक्रिय सहभागिता जनाउनुभयो। साथै रक्सौल क्लबका पूर्व अध्यक्ष लायन साइमन रेक्स तथा पूर्व सचिव लायन मोहम्मद निजामुद्दीन ले डिस्ट्रिक्ट क्याबिनेटमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छन्। उनीहरूको सहभागिताले रक्सौल क्लबको सशक्त उपस्थिति र सक्रिय भूमिकालाई थप उजागर गरेको छ।

    कार्यक्रमको सफल आयोजना तथा गरिमामय सञ्चालनका लागि उपस्थित अतिथि, पदाधिकारी तथा सदस्यहरूले आयोजक समितिको उच्च प्रशंसा गरेका थिए। यस समारोहले लायन्स डिस्ट्रिक्ट ३२२ ई को नयाँ सत्र २०२६–२७ का लागि सेवा, नेतृत्व, संगठनात्मक सुदृढीकरण तथा सामाजिक उत्तरदायित्वप्रति समर्पणको प्रेरणादायी सन्देश दिएको छ।

  • सही मार्गदर्शनले विद्यार्थीको भविष्य उज्ज्वल बन्छ’ : सशस्त्र प्रहरी उपरीक्षक मोहन बस्नेत

    सही मार्गदर्शनले विद्यार्थीको भविष्य उज्ज्वल बन्छ’ : सशस्त्र प्रहरी उपरीक्षक मोहन बस्नेत

    अभिलाष गुप्ता
    वीरगंज, ०८ साउन । वीरगंज  पब्लिक कलेज (बीपीसी) ले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै दुईदिने स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। वीरगंजस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा नवप्रवेशी विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नम्बर १३ गणका सशस्त्र प्रहरी उपरीक्षक मोहन बस्नेत रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा डा. अन्जय मिश्रा, कलेजका पूर्वविद्यार्थी एवं चार्टर्ड एकाउन्टेन्ट (सीए) मौजेलाल सहनी, कलेजका शैक्षिक निर्देशक डा. बिनय ठाकुर, प्राचार्य डा. बासु कर्ण, सहायक क्याम्पस प्रमुख डा. अर्बिन्द श्रेष्ठ, कलेजका ब्रान्ड एम्बासडर देवेश गुप्तालगायतको विशेष उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मोहन बस्नेतले कक्षा ११ विद्यार्थीको भविष्य निर्माणको महत्वपूर्ण आधार भएकाले सुरुदेखि नै सही लक्ष्य, अनुशासन र निरन्तर मेहनतलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीलाई केवल परीक्षामुखी नभई सीप, नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वमा समेत सक्षम बनाउने वातावरण बीपीसीले प्रदान गरिरहेको उल्लेख गर्नुभयो।

    कलेजका कार्यकारी निर्देशक युगल किशोर प्रसाद शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले बीपीसीले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभई व्यवहारिक सीप, नेतृत्व क्षमता, नैतिक मूल्य तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने वातावरण प्रदान गर्दै आएको बताउनुभयो। विद्यार्थीको सर्वाङ्गीण विकास नै कलेजको मुख्य उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो।

    कार्यक्रममा कलेजका शैक्षिक गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराइनुका साथै नवप्रवेशी विद्यार्थीलाई बीपीसी परिवारमा औपचारिक रूपमा स्वागत गरिएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रम प्रेरणादायी, जानकारीमूलक तथा उत्साहवर्द्धक भएको प्रतिक्रिया दिएका थिए।

  • अन्तर मनकाे यात्रा नै अशान्तिबाट शान्तिको खोज र मार्ग हो : बिमल सर्राफ

    अन्तर मनकाे यात्रा नै अशान्तिबाट शान्तिको खोज र मार्ग हो : बिमल सर्राफ

    रक्सौल, पूर्वी चम्पारण ०८ साउन । “मौन रहनुको आफ्नै आनन्द हुन्छ, किनकि जगका ढुङ्गाहरू कहिल्यै बोल्दैनन्।”

    यो प्रेरणादायी विचार लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन, समाजसेवी तथा भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं मिडिया प्रभारी बिमल सर्राफले सञ्चारकर्मीहरूसँग साझा गर्नुभएको हो।उहाँले भन्नुभयो, “जब संसारको अशान्तिले मनलाई विचलित बनाउन थाल्छ, तब मानिसले आफ्नै अन्तर मन तर्फ यात्रा गर्नुपर्छ। जीवनमा दुःखको सबैभन्दा ठूलो कारण भनेको सच्चा मानिसलाई मानिसहरूले बुझ्न नसक्नु र गलत मानिसलाई सही रूपमा पहिचान गर्न नसक्नु हो।”

    उहाँले आफ्नो चरित्र र व्यक्तित्वको रक्षा प्राणभन्दा पनि बढी गर्नुपर्ने बताउँदै भन्नुभयो, “मानिस एक दिन यो संसारबाट बिदा हुन्छ, तर उसका विचार, व्यक्तित्व र असल कर्महरू सधैं जीवित रहन्छन्। त्यसैले केवल व्यक्ति बनेर होइन, व्यक्तित्व बनेर बाँच्नुपर्छ।”श्री सर्राफले प्रेम केवल सुन्ने, पढ्ने वा गाउने विषय नभई जीवनमा व्यवहारमा उतार्नुपर्ने कुरा भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार साँचो प्रेम तब मात्र सम्भव हुन्छ, जब मानिसले आफ्नो अहंकार त्याग्छ। अहंकार समाप्त भएपछि मात्र प्रेमको वास्तविक अंकुर पलाउँछ।

    उहाँले पुस्तकहरू आफैं मौन रहने भए पनि तिनलाई पढ्ने व्यक्तिलाई सही सोच, सही आचरण र प्रभावकारी अभिव्यक्तिको मार्ग देखाउने बताउनुभयो। संसार जतिसुकै आकर्षक भए पनि आफ्नै घरको माया, अपनत्व र शान्ति अन्यत्र प्राप्त हुन नसक्ने उहाँको भनाइ थियो।चिन्ता गर्नु समय र ऊर्जाको सबैभन्दा ठूलो बर्बादी भएको उल्लेख गर्दै उहाँले जीवनमा सुख–दुःख तथा अनुकूल–प्रतिकूल परिस्थितिहरू आइरहने र गइरहने भएकाले आफ्नो नियन्त्रणभन्दा बाहिरका विषयमा अनावश्यक तनाव लिन नहुने बताउनुभयो। व्यर्थ चिन्तनले कहिल्यै समाधान नदिने उहाँले स्पष्ट पार्नुभयो।

    उहाँले वास्तवमा समस्या भन्ने कुनै वस्तु नभई केवल परिस्थितिहरू मात्र हुने बताउँदै तिनलाई हामीले कुन दृष्टिकोणबाट हेर्छौं भन्ने कुराले नै जीवनको दिशा र दशा निर्धारण गर्ने धारणा राख्नुभयो। साथै, यदि कसैको कुनै विरोधी छैन भने सम्भवतः उसले सत्य बोल्नुपर्ने अवसरहरूमा पनि मौनता अपनाएको हुन सक्ने उहाँको भनाइ थियो।

    अन्त्यमा उहाँले असल कर्मको अभाव दुःखको कारण, असल कर्मको प्रभाव सुखको आधार र खराब स्वभाव अशान्तिको मूल कारण भएको बताउनुभयो। त्यसैले जीवन केवल बिताउनका लागि नभई सार्थक, सकारात्मक र आनन्दमय रूपमा जिउनका लागि प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो।

    उहाँले सबैलाई सन्देश दिँदै भन्नुभयो, “मस्त रहनुहोस्, आनन्दित रहनुहोस् र आफ्नो उत्कृष्ट व्यक्तित्वमार्फत समाजमा सकारात्मक पहिचान स्थापित गर्नुहोस्।”