Blog

  • एक घर, एक बिरुवा’ अभियान अन्तर्गत हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

    एक घर, एक बिरुवा’ अभियान अन्तर्गत हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

    अभिलाष गुप्ता
    वीरगंज,  ०६ साउन । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “एक घर, एक बिरुवा” भन्ने मूल नारासहित वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेजमा ४ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

    कलेजमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा आयोजित कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्ने उद्देश्यले बिरुवा वितरणसँगै कलेज परिसरमा वृक्षारोपण गरिएको थियो।

    कार्यक्रममा विद्यार्थीहरूलाई प्रत्येक घरमा कम्तीमा एउटा बिरुवा रोपेर त्यसको संरक्षण गर्न आग्रह गरिएको थियो।ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देविसहाय मीणा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, हरि खेतान बहुमुखी कलेजका अध्यक्ष रामवतार खेतान, समाजसेवी सुरेश रुङटा, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्र मल्ल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, युवा समाजसेवी दिलीप कार्की लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वातावरण संरक्षण अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हरियाली संरक्षण बिना स्वच्छ वातावरणको परिकल्पना गर्न सकिँदैन। ‘एक घर, एक बिरुवा’ अभियानलाई जनस्तरसम्म पुर्‍याएर प्रत्येक नागरिकलाई वृक्षारोपण र संरक्षणमा सहभागी गराउनु हाम्रो उद्देश्य हो। बिरुवा रोप्नु मात्र होइन, त्यसको संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी हो।”

    प्रमुख अतिथि महावाणिज्यदूत देविसहाय मीणाले यस्ता वातावरणमैत्री अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै युवा पुस्तालाई प्रकृति संरक्षणमा अग्रसर हुन आग्रह गर्नुभयो।

    कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि वातावरण संरक्षण, स्वच्छ र हरित शहर निर्माण तथा सामुदायिक प्रहरी–नागरिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।

    कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई विभिन्न प्रजातिका ४ सयभन्दा बढी बिरुवा वितरण गर्नुका साथै कलेज परिसरमा सामूहिक वृक्षारोपण गरिएको आयोजकले जनाएको छ।

  • सांसद पन्तको ध्यानाकर्षण पछि मन्त्रालयको एक्सन

    सांसद पन्तको ध्यानाकर्षण पछि मन्त्रालयको एक्सन

    अभिलाष गुप्ता

    वीरगंज, ०५ साउन । पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले सदनमा सिर्सियाको बिषय उठाएपछी उद्योग मन्त्रालयले सिर्सिया नदी प्रदूषण गर्ने उद्योगहरुलाई जरिवाना भराउन शुरु गरेकाे छ ।

    सिर्सिया नदि प्रदुषणको बिषयमा सर्बत्र बहस शुरु भएपछि केही दिन अघि मात्र सांसद पन्तले सदनमा आबाज उठाएर संसदको ध्यानाकर्षण गराएका थिए । त्यस लगत्तै गृहमन्त्री सुदन गुरुङले सिर्सियाको अनुगमन पनि गरेका थिए ।

    यसरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनपछि सिर्सिया नदी प्रदूषणमा संलग्न १० उद्योग कारबाहीमा परेका हुन् । ती उद्योगलाई सरकारले प्रति उद्योग १० लाख रुपैयाँका दरले जरिवाना गरेको मन्त्रालयको सचिवालयले जनाएको छ ।

    लगत्तै उधाेग मन्त्रालयले छानविन गरी कार्वाहि प्रकृया अगाडि बढ्दा जरिवाना पर्ने उद्योगमा जगदम्बा स्टिल, हुलास स्टिल इन्डस्ट्रिज, शिवशक्ति घिउ उद्योग, सुशील वनस्पति प्रालि, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स, अशोक स्टिल इन्डस्ट्रिजलगायत १० उद्योग रहेका छन् ।

    प्रयोगशाला परीक्षणबाट १० उद्योगले सरकारले तोकेको वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती उद्योगलाई जनही १० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कारबाहीमा परेका उद्योगमध्ये मधेस प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने ६ उद्योगलाई वातावरण संरक्षण ऐन, २०७६ अनुसार थप कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।

    मन्त्रालयका अनुसार सिर्सिया नदी आसपास रहेका अन्य उद्योगहरूको अनुगमन अझै जारी रहेको छ । वातावरण विभाग, उद्योग विभाग, प्रदेश सरकारअन्तर्गतका सम्बन्धित निकाय र स्थानीय तहको संयुक्त प्राविधिक टोलीमार्फत थप निरीक्षण गरी आवश्यक कारबाही अघि बढाइने जनाइएको छ ।

    तोकिएको समयभित्र जरिवाना रकम नतिर्ने उद्योगलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ३५ अनुसार तेब्बर जरिवाना गरिने मन्त्रालयले चेतावनी दिएको छ । वीरगंज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौंदेखि प्रशोधन नगरिएको रसायनयुक्त फोहोर पानी नदीमा मिसिँदा सिर्सिया नदी अत्यधिक प्रदूषित बन्दै गएको छ। नदी प्रदूषणका कारण आसपासका बासिन्दाले दुर्गन्ध, स्वास्थ्य समस्या, खेतीपातीमा असर र पशुचौपायामा समेत समस्या भोग्दै आएका छन् ।

    स्थानीयवासीले लामो समयदेखि उद्योगहरूले प्रशोधन नगरी फोहोर पानी नदीमा नहाल्न र प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गर्दै आएका छन् ।

  • आत्माको जग सद्गुण र शक्ति हो, र शरीरको जग खाना हो: बिमल सर्राफ

    आत्माको जग सद्गुण र शक्ति हो, र शरीरको जग खाना हो: बिमल सर्राफ

    रक्सौल, पूर्वी चम्पारण ०५ साउन । शत्रु भन्दा बढी, व्यक्तिले त्यो व्यक्तिबाट सावधान रहनु आवश्यक छ जो तपाईंको शत्रुको मित्र र तपाईंको मित्र दुवै हो।

    लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ई का जोनल चेयरपर्सन संग डिस्ट्रिक्ट चेयरपर्सन संग सामाजिक कार्यकर्ता तथा रक्सौलको भारत विकास परिषद्का सेवा संयोजक र मिडिया इन्चार्ज बिमल सर्राफले प्रेससँग यी विचारहरू साझा गरे। प्रत्येक व्यक्तिको स्वभाव उनीहरूको जीवनका अनुभवहरू र उनीहरूले भोगेका घाउहरूको परिणाम हो। त्यसकारण, कसैको कुरालाई हृदयमा नलिनुहोस्। धोका दिने व्यक्तिले वास्तवमा आफू भित्र सबैभन्दा बढी डर र असुरक्षा राख्छ।

    प्रेम बाँड्ने व्यक्तिले जीवनमा गहिरो पीडा सहेको हुन्छ, त्यसैले तिनीहरू अरूलाई त्यही प्रेम दिन चाहन्छन् जुन तिनीहरू आफैंमा थिएन। सधैं सम्झनुहोस्, जब तपाईं कसैलाई “खराब” भन्नुहुन्छ, यसको मतलब तिनीहरू वास्तवमा खराब छैनन्, बरु तपाईं आफूलाई “राम्रो” साबित गर्न खोज्दै हुनुहुन्छ भन्ने हो।त्यसैले, एक्लोपनमा नबस्नुहोस्। मानिसहरूको बारेमा चिन्ता गर्न छोड्नुहोस्, चाहे त्यो राम्रो होस् वा नराम्रो, र केवल यो जान्नुहोस् कि प्रत्येक आत्मा आफ्नै अनुभवको यात्रामा छ। जसरी खाना यस शरीरको जीवनको जग हो, त्यसरी नै सद्गुण र शक्ति आत्माको जीवनको जग हो।

    यो प्राप्त गर्न र बढ्न सजिलो छ, तर प्राप्त गरेपछि उस्तै रहनु ठूलो चुनौती हो। क्षमा गर्न वा क्षमा माग्नाले विगत परिवर्तन हुँदैन, तर यसले भविष्यलाई निश्चित रूपमा परिवर्तन गर्न सक्छ। प्रेम बुझ्न हृदय, यसलाई कायम राख्न धैर्य र यसलाई प्राप्त गर्न सौभाग्य चाहिन्छ।सबैजना भित्रबाट छरिएका छन्, बाहिरबाट आफूलाई सुधार गर्न मात्र खोजिरहेका छन्। चाहे त्यो १०० गजको घर होस् वा ३,००० गजको घर, एक्लोपनको अनुभूति उस्तै हुनेछ। प्रत्येक जीवित प्राणीमा समझ हुन्छ; केवल मानिससँग बुद्धिको प्रमाणपत्र हुन्छ।

  • कर्मचारी माथि कुटपिट गरेको आरोपमा कालिकामाई–३ का वडाध्यक्ष पक्राउ, अन्य फारार

    कर्मचारी माथि कुटपिट गरेको आरोपमा कालिकामाई–३ का वडाध्यक्ष पक्राउ, अन्य फारार

    वीरगंज, ०५ साउन । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेललाई गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

    इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले वडाध्यक्ष पटेललाई उनकै गाउँ कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहारसम्बन्धी मुद्दाअन्तर्गत उनलाई पक्राउ गरिएको हो।

    प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ। पक्राउ परेका वडाध्यक्षलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ।

    गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको आरोप लागेको थियो। कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलन समेत गरेका थिए।

    घटनापछि कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारी आन्दोलित हुँदै दोषीमाथि कडा कारबाहीको माग गरिरहेका थिए। कर्मचारीहरूको आन्दोलन र उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै वडाध्यक्ष पटेललाई पक्राउ गरेको जनाएको छ।

  • जीतपुर–सिमरा उपमहानगरले इँटा, काठ, कोइला र क्लिङ्करमा लगाएको कर गैरकानुनी भएको उद्योगीहरूको दाबी, फिर्ता गर्न माग

    जीतपुर–सिमरा उपमहानगरले इँटा, काठ, कोइला र क्लिङ्करमा लगाएको कर गैरकानुनी भएको उद्योगीहरूको दाबी, फिर्ता गर्न माग

    अभिलाष गुप्ता
    वीरगंव, ०५ साउन । जीतपुर–सिमरा उपमहानगर पालिकाले ठेक्कामार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी व्यवसायीले उक्त कर गैरकानुनी भएको दाबी गरेका छन्। उनीहरूले असुल गरिएको कर तत्काल फिर्ता गर्न र यस्ता वस्तुहरूलाई स्थानीय करको सूचीबाट हटाउन माग गर्दै उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

    हरिप्रसाद गौतमद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उपमहानगरपालिकाले जडीबुटी, कवाडी तथा जीवजन्तु कर संकलनका लागि दिएको ठेक्काको दुरुपयोग गर्दै ठेकेदारले कानुनले कर नलाग्ने वस्तुहरूमा समेत कर उठाइरहेको उल्लेख गरिएको छ।

    ज्ञापनपत्रमा स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र ऐन–कानुनअनुसार मात्रै कर संकलन गर्न पाउने व्यवस्था भए पनि इँटा, काठ, कोइला र क्लिङ्करजस्ता वस्तुमा कर असुल्नु कानुनविपरीत भएको दाबी गरिएको छ।

    उद्योगीहरूले इँटा उद्योगको मुख्य उत्पादन इँटामा, जंगलबाट प्राप्त हुने काठमा, विदेशबाट आयात हुने कोइलामा तथा उद्योगको मुख्य उत्पादनका रूपमा रहेको क्लिङ्करमा स्थानीय कवाडी कर लगाउन नमिल्ने बताएका छन्। प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने र समग्र औद्योगिक क्षेत्र प्रभावित हुने उनीहरूको भनाइ छ।

    ज्ञापनपत्रमा उपमहानगरपालिकालाई तत्काल यस्ता वस्तुहरूलाई स्थानीय करको सूचीबाट हटाउन, नियमविपरीत असुल गरिएको कर सम्बन्धित उद्योगी तथा व्यवसायीलाई फिर्ता गर्न तथा भविष्यमा यस्ता कार्य दोहोरिन नदिन आवश्यक कदम चाल्न आग्रह गरिएको छ।

    उक्त ज्ञापनपत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा तथा जिल्ला प्रशासन कार्यालय बारामा समेत पठाइएको जनाइएको छ।

  • नवजात शिशु र सुत्केरीका लागि तेरापंथ युवक परिषद् वीरगंजकाे तत्काल रक्तदान व्यवस्थापन

    नवजात शिशु र सुत्केरीका लागि तेरापंथ युवक परिषद् वीरगंजकाे तत्काल रक्तदान व्यवस्थापन

    वीरगंज, ०५ साउन। तेरापंथ युवक परिषद् (तेयुप) बीरगञ्जले लगातार दुई दिनमा दुई आपतकालीन रक्तदान अभियान सञ्चालन गर्दै एक नवजात शिशु र एक सुत्केरी महिलाका लागि आवश्यक रगत उपलब्ध गराएको छ।

    परिषद्का अनुसार साउन ३ गते (१९ जुलाई २०२६) नेशनल मेडिकल कलेजमा उपचाररत श्रीमती रामपति देवीका ९ दिनका शिशुका लागि बी–पोजिटिभ (B+) समूहको एक युनिट रगतको अत्यावश्यक आवश्यकता परेको थियो।

    जानकारी प्राप्त हुनासाथ परिषद्को ‘ब्लड अन कल’ अभियानका संयोजक आशीष चौरडियाले रक्तदातासँग समन्वय गरी आवश्यक रगतको व्यवस्था गरेका थिए। त्यसक्रममा रक्तदाता करण शर्मा राति करिब ११ः३० बजे ब्लड बैंक पुगेर रक्तदान गरेपछि शिशुको उपचारका लागि आवश्यक रगत उपलब्ध भएको परिषद्ले जनाएको छ।

    त्यसैगरी साउन ४ गते (२० जुलाई २०२६) श्री राम अस्पतालमा उपचाररत ३० वर्षीया प्रीति यादवको सुत्केरी उपचारका क्रममा बी–पोजिटिभ (B+) समूहको एक युनिट रगत आवश्यक परेको थियो।

    परिषद्ले पंकज बैदको सहयोगमा पुनः ‘ब्लड अन कल’ अभियानमार्फत रक्तदाताको व्यवस्थापन गरेको थियो। सो क्रममा निर्मल सिंघानिया ब्लड बैंक पुगेर रक्तदान गर्दै बिरामीका लागि आवश्यक रगत उपलब्ध गराएका थिए।

    तेरापंथ युवक परिषद्र वीरगंजले दुवै रक्तदाताप्रति आभार व्यक्त गर्दै समयमै गरिएको रक्तदानले नवजात शिशु र सुत्केरी महिलाको उपचारमा महत्वपूर्ण सहयोग पुगेको जनाएको छ।

    परिषद्ले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवा भएको उल्लेख गर्दै आवश्यक पर्दा रक्तदान गर्न इच्छुक व्यक्तिहरूलाई सदैव तयार रहन आग्रह गरेको छ।

  • इक्विटी ट्याक्स लागू भए अभिभावकलाई थप आर्थिक भार : एन–प्याब्सन अध्यक्ष जियालाल गुप्ता

    इक्विटी ट्याक्स लागू भए अभिभावकलाई थप आर्थिक भार : एन–प्याब्सन अध्यक्ष जियालाल गुप्ता

    अभिलाष गुप्ता
    वीरगंज, ०४ साउन । आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत निजी शैक्षिक संस्थामा लागू गर्ने घोषणा गरेको ३ प्रतिशत शिक्षा समानता सेवा शुल्क (इक्विटी ट्याक्स) विद्यार्थी र अभिभावकका लागि थप आर्थिक बोझ हुने भन्दै नेशनल प्याब्सन (एन–प्याब्सन) वीरगञ्ज महानगर समितिका अध्यक्ष जियालाल गुप्ताले आपत्ति जनाएका छन्।

    अध्यक्ष गुप्ताले सरकारले लागू गर्न लागेको उक्त कर उपयुक्त निर्णय नभएको उल्लेख गर्दै यसले निजी विद्यालयको शुल्क वृद्धि हुने र त्यसको प्रत्यक्ष असर अभिभावकमाथि पर्ने बताए।

    उनले भने, “यो ३ प्रतिशत शिक्षा इक्विटी ट्याक्स विद्यार्थी र अभिभावकका लागि राम्रो निर्णय होइन। यदि यो लागू भयो भने विद्यालयले अतिरिक्त शुल्क अभिभावकबाट नै उठाउनुपर्ने हुन्छ, जसले शिक्षालाई अझ महँगो र अभिभावकका लागि थप बोझिलो बनाउनेछ।”

    गुप्ताले सरकारले उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै निजी शिक्षालाई थप भार थोपर्ने कुनै पनि नीति पुनर्विचार गर्न आग्रह गरे। उनका अनुसार यो करले गुणस्तरीय शिक्षामा पहुँचसमेत प्रभावित पार्नेछ र वीरगञ्जका सयौं निजी विद्यालय तथा हजारौं विद्यार्थी–अभिभावक प्रत्यक्ष रूपमा असर पर्नेछन्।

    सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत निजी शैक्षिक संस्थाले लिने विभिन्न शुल्कमा ३ प्रतिशत शिक्षा समानता सेवा शुल्क (इक्विटी ट्याक्स) लगाउने घोषणा गरेको छ। उक्त निर्णयको विरोधमा देशभरका निजी विद्यालयसँग सम्बन्धित संस्थाहरूले असन्तुष्टि जनाइरहेका छन्। एन–प्याब्सन वीरगञ्जले पनि कर खारेजको माग गर्दै स्थानीय अभिभावक र विद्यार्थीसँग छलफललाई तीव्रता दिएको जनाएको छ।

  • पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ वडा कार्यालयको नवनिर्मित भवन शुभारम्भ, अब सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा

    पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ वडा कार्यालयको नवनिर्मित भवन शुभारम्भ, अब सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा

    अभिलाष गुप्ता
    वीरगंज, ०४ साउन । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ नगवास्थित वडा कार्यालयको नवनिर्मित भवनको पूजा तथा शुभारम्भ कार्यक्रम सोमबार सम्पन्न भएको छ। धार्मिक विधिअनुसार वैदिक मन्त्रोच्चारण सहित पूजा–अर्चना गरी भवनको औपचारिक शुभारम्भ गरिएको हो।

    कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने वडा नं. १६ का वडा अध्यक्ष प्रसुराम चौरसियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    शुभारम्भ कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवा, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित सबैले नवनिर्मित वडा कार्यालय भवनबाट नागरिकले अझ सहज, व्यवस्थित, छिटोछरितो र प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर राजेशमान सिंहले स्थानीय सरकारको मुख्य उद्देश्य नागरिकलाई गुणस्तरीय र सहज सेवा उपलब्ध गराउनु रहेको बताउँदै भौतिक पूर्वाधारको विकाससँगै सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आधुनिक सुविधा सम्पन्न वडा कार्यालयले जनताको दैनिक प्रशासनिक आवश्यकतालाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो।

    त्यसैगरी वडा अध्यक्ष प्रसुराम चौरसियाले वडा कार्यालयको आफ्नै सुविधासम्पन्न भवन निर्माण सम्पन्न हुनु वडा नं. १६ का बासिन्दाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले आगामी दिनमा नागरिकमैत्री, पारदर्शी र उत्तरदायी सेवा प्रवाहलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो।

    स्थानीयवासीहरूले पनि नयाँ भवन सञ्चालनमा आएपछि सेवाग्राहीले सहज वातावरणमा सेवा पाउने, प्रशासनिक कार्यहरू छिटो सम्पन्न हुने तथा वडा कार्यालयप्रति नागरिकको विश्वास अझ मजबुत हुने अपेक्षा व्यक्त गरेका छन्।

    धार्मिक वातावरणमा सम्पन्न भएको शुभारम्भ कार्यक्रममा पूजा–अर्चनापछि उपस्थित अतिथिहरू बीच शुभकामना आदानप्रदान गरिएको थियो। नवनिर्मित भवन सञ्चालनसँगै वडा कार्यालयको सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।

  • कल्पना पटवारी र चन्दन प्रजापतिको स्वरमा ‘चुडी जब खनखन करे लागेला’ सार्वजनिक

    कल्पना पटवारी र चन्दन प्रजापतिको स्वरमा ‘चुडी जब खनखन करे लागेला’ सार्वजनिक

    अभिलाष गुप्ता
    वीरगंज, ०४ साउन । चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगंजका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सोमबार सार्वजनिक गरिएको छ।

    वीपीसी कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा गीतको औपचारिक विमोचन गरिएको हो। कार्यक्रममा भोजपुरी प्रतिष्ठानकी अध्यक्ष तथा कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक अनिता साह प्रमुख अतिथि रहनुभएको थियो भने लेखक तथा सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    गीतका गायक तथा मुख्य कलाकार चन्दन प्रजापतिले देशको सुरक्षामा खटिने सैनिकको पारिवारिक जीवनलाई केन्द्रमा राखेर गीत तयार गरिएको जानकारी दिए। उनले चर्चित गायिका कल्पना पटवारीको स्वरले गीतलाई थप आकर्षक बनाएको उल्लेख गर्दै दर्शक–श्रोताले गीतलाई मन पराउने विश्वास व्यक्त गरे।

    उनका अनुसार एनआर म्युजिक रेकर्ड्समार्फत निर्माण गरिएको उक्त गीत तयार गर्न करिब साढे चार लाख रुपैयाँ खर्च भएको छ। आगामी दिनमा पनि सामाजिक तथा पारिवारिक विषयवस्तुमा आधारित गीत निर्माणलाई निरन्तरता दिने उनले बताए।

    कार्यक्रममा विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति डा. पुरुषोत्तम दुबे, सदस्यहरू विभा साह र धीरज साह, भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, लेखक प्रमोद पाण्डे ‘हेरम्ब’, कलाकार निभा यादव, निर्माता नितेश मेहता, राज सोनी, लेखक उमालाल साह, भोजपुरी गायक सुनिल पण्डित, टिकटक कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पत्रकार जय यादवले गरेका थिए।

  • जीवनमा सुख–दुःखको मुख्य कारण भोग–विलासप्रतिको अत्यधिक आकांक्षा हो : बिमल सर्राफ

    जीवनमा सुख–दुःखको मुख्य कारण भोग–विलासप्रतिको अत्यधिक आकांक्षा हो : बिमल सर्राफ

    रक्सौल, पूर्वी चम्पारण ०४ साउन । संसारका दुर्लभभन्दा दुर्लभ र ठूला भन्दा ठूला भोगहरूले पनि मानिसलाई सुखी बनाउन सक्दैनन्, यदि उसको मनमा शान्ति छैन भने। अशान्त मन भएको व्यक्ति कहिल्यै सुखी हुन सक्दैन, र जबसम्म भोगप्रतिको कामना रहिरहन्छ, तबसम्म मनले वास्तविक शान्ति प्राप्त गर्न सक्दैन।

    यी विचार लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन, समाजसेवी तथा भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं मिडिया प्रभारी बिमल सर्राफले प्रेसलाई जारी गर्नुभएको सन्देशमा व्यक्त गर्नुभएको हो।उहाँले भन्नुभयो कि मानिसलाई भोगमा नै सुख छ भन्ने विश्वास रहुञ्जेल भोगप्रतिको कामना समाप्त हुँदैन। कामनाको स्वभाव नै यस्तो हुन्छ कि त्यो जति–जति पूरा हुँदै जान्छ, त्यति–त्यति अझ विस्तार हुँदै जान्छ। कामना कहिल्यै पूर्ण हुँदैन।

    बिमल सर्राफका अनुसार जसको मन कामनाले भरिएको हुन्छ, उसको विवेक बिस्तारै क्षीण हुँदै जान्छ र बुद्धि भ्रमित हुन थाल्छ। फलस्वरूप व्यक्ति कामनाको पूर्तिका लागि अनुचित तथा निषिद्ध कर्मतर्फ प्रवृत्त हुन्छ र अन्ततः दुःखको जालमा फस्दै जान्छ।

    उहाँले थप भन्नुभयो कि कामनासँगै क्रोध र लोभ पनि मनमा प्रवेश गर्छन्। कामना पूरा हुन नसकेमा क्रोध उत्पन्न हुन्छ, र कामना पूरा हुँदै जाँदा लोभ बढ्दै जान्छ। जहाँ काम, क्रोध र लोभ यी तीनै एकसाथ उपस्थित हुन्छन्, त्यहाँ पापकर्मले सहजै मानिसको मनमा स्थान बनाउँछ। यसको परिणामस्वरूप जीवनमा दुःख, कष्ट र मानसिक पीडा बढ्दै जान्छ।बिमल सर्राफले मानिसहरूलाई नश्वर भोग–विलासतर्फको अत्यधिक आसक्ति त्यागी सत्य, परम सुखदायक तथा शाश्वत ईश्वरको स्मरण गर्न आग्रह गर्नुभयो। उहाँले ईश्वरप्रतिको प्रेम र भक्तिले मनलाई स्थायी शान्ति प्रदान गर्ने बताउनुभयो।

    अन्त्यमा उहाँले भन्नुभयो, “सन्तोष नै सुखी जीवनको सबैभन्दा ठूलो रहस्य हो। जसको जीवनमा सन्तोष छ, उही व्यक्ति वास्तवमा सुखी र शान्तिपूर्ण जीवन बिताउन सक्छ।”