अभिलाष गुप्ता
पर्सा, ०९ साउन । प्रतिनिधिसभा सदस्य सुशील साह कानु ले पर्साको पर्सागढी नगरपालिका–५, जिगनामा स्थानीयवासीसँग भेटघाट गर्दै विकास निर्माण तथा जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेका छन्।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका यातायात विभाग प्रमुख राम आर्य, रास्वपा क्षेत्र नं. २ का सचिव किशन प्रसाद, रास्वपा वीरगञ्ज नगर सभापति दीपराज पटेल लगायत स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
छलफलका क्रममा किसानहरूले समयमै रासायनिक मलखाद उपलब्ध गराउनुपर्ने आवश्यकता, गाउँका सडक तथा नाला निर्माण, स्वास्थ्य सेवा विस्तार, शिक्षा क्षेत्रको सुधार तथा अन्य आधारभूत पूर्वाधार विकासका विषयमा आफ्ना समस्या र सुझाव राखेका थिए।
सांसद साहले स्थानीयले उठाएका विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले विकास निर्माणका योजनालाई स्थानीय आवश्यकताअनुसार प्राथमिकतामा राखेर अघि बढाइने तथा जनताको प्रत्यक्ष सहभागितामा विकासलाई प्रभावकारी बनाइने बताए।
स्थानीयवासीहरूले पनि जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न पाएकोमा खुशी व्यक्त गर्दै कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा शीघ्र कार्यान्वयनको अपेक्षा गरेका छन्। कार्यक्रम विकासका आवश्यकता पहिचान गर्दै जनप्रतिनिधि र स्थानीयबीच सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यका साथ सम्पन्न भएको थियो।


