अभिलाष गुप्ता
वीरगंज, २६ मंसिर । वीरगंज पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध ट्रामाडोल क्याप्सुल ७६ हजार १ सय ७० पिससहित चार जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा वीरगंज महानगरपालिका–२४ स्थित प्रतिमा चोकमा गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले शुक्रबार पत्रकार सम्मेलन मार्फत घटना सार्वजनिक गर्दै बरामद गरिएको ठूलो परिमाणको लागुऔषधबारे विस्तृत जानकारी दिए । उनका अनुसार सवारी जाँचका क्रममा रोकिएको बागमती प्रदेश ०८–००१ ज ०११७ नम्बरको गाडीमा झोलाभित्र लुकाइएका क्याप्सुल फेला पारेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

एसपी पाठकका अनुसार पक्राउ परेकाहरू केही समयदेखि अवैध रूपमा लागुऔषध ओसारपसारमा संलग्न रहेको गोप्य सूचनाका आधारमा निगरानीमै राखिएको थियो । पक्राउ पर्नेहरूमा वीरगंज –२४ का युवराज पटेल र अफजल देवान, तथा धादिङका रामहरि मगर र राजकुमार मगराती रहेका छन् ।
घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद समेत लिइएको छ ।



