वीरगंज, २६ मंसीर । पर्सा जिल्लाबाट प्रकाशितहुने फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक तथा प्रेस चौतारी नेपाल पर्साका सदस्य पत्रकार शैलेश गुप्ता माथि बुधबार जीराभवानी गाउँपालिकाका केही कर्मचारीले दुर्व्यवहार गरेका छन् ।
पत्रकार गुप्ता स्थानीय अनियमितता, भ्रष्टाचार र कर्मचारी अनुपस्थितिका बारेमा समाचार संकलनका लागि गाउँपालिका कार्यालय पुगेका थिए । कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत, अध्यक्ष र उपाध्यक्ष अनुपस्थित थिए भने केही कार्यालय सहयोगी र गार्ड मात्र उपस्थित थिए ।
पत्रकारले कार्यालयमा खाली कुर्सीको फोटो खिच्ने प्रयास गर्दा कर्मचारी इन्द्रजीत हजरा, जितेन्द्र मिश्रा लगायतले मोबाइल खोसेर गालीगलौज गरेका थिए । पत्रकारको फोटो पनि डिलिट गरिएको थियो । कार्यालयमा उपस्थित कर्मचारीहरूले स्थानीयलाई बोलाएर पत्रकार माथि हातपात गर्न खोज्दा गुप्ताले आफूलाई जोगाउँदै कार्यालय छोड्नु परेको थियो ।
यस घटनाप्रति प्रतिक्रिया जनाउँदै प्रेस चौतारी नेपाल पर्साले विज्ञप्ति जारी गरी दोषी कर्मचारी विरुद्ध कडा कारबाही, घटना छानबिनका लागि सिसिटिभी फुटेज परीक्षण, र सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । अध्यक्ष निरंजन मिश्रका अनुसार, छानबिन र कारबाही नभएमा संगठन आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।



