रक्सौल, पूर्वी चम्पारण १ पुस । सद्व्यवहार त्यो पुष्प जस्तै हो, जो शुद्ध र दृढ चरित्ररूपी वृक्षमा फुल्छ । उक्त विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, मिडिया प्रभारी तथा सामाजिक अभियन्ता लायन बिमल सर्राफले सञ्चारकर्मीसँग व्यक्त गर्नुभएको हो ।
उहाँका अनुसार सद्व्यवहार चिन्तनको सुरम्य वातावरणमा सुगन्ध फैलाउने तत्व हो, जुन कोमल भावनाबाट पोषित हुन्छ। व्यवहार शिष्टता, शालीनता, विनम्रता लगायत अनेक सद्गुणहरूको समष्टि हो । जसमा यो अमूल्य सम्पदा हुन्छ, त्यस्ता व्यक्तिको सामाजिक व्यवहार स्वाभाविक रूपमा उत्कृष्ट हुन्छ ।

व्यवहार कुशल व्यक्तिको सफलता सुनिश्चित हुने उल्लेख गर्दै सर्राफले भन्नुभयो, “सफलता उसका चरण चुम्छ, र असफलता समेत उसकै लागि सिकाइ बन्छ, किनकि त्यसले आफ्ना व्यवहारिक कमजोरी र त्रुटिहरू प्रति सजग बनाउँछ ।” व्यवहारकै कारण आफ्ना–पराया छुट्याउने भावना हटेर परायालाई पनि आफ्नै बनाउने चमत्कार सम्भव हुने उहाँको भनाइ छ ।
मधुर व्यवहारले पशु–पंक्षीसम्म प्रभावित हुने उल्लेख गर्दै उहाँले मानिसको हृदय जित्न त झनै सहज हुने बताउनुभयो । अन्तरभावना प्रस्फुटित हुँदा हृदय माखनझैँ कोमल बन्छ र वाणी तथा व्यवहारमा अमृत झरिरहन्छ । व्यवहारको शालीनताले अरूलाई मात्र प्रसन्न बनाउँदैन, ओठमा मुस्कान ल्याउँछ, स्वयंलाई पनि आनन्दित बनाउँछ ।
पारसमणिको अस्तित्व स्वीकार गरौँ वा नगरौँ, तर आफूभित्र रहेको व्यवहाररूपी पारसमणिबाट वरपरका सबैलाई ‘स्वर्णमण्डित’ अर्थात् आफ्नै बनाउन सकिने उहाँको भनाइ छ । यही लौकिक सामाजिक व्यवहारको गुप्त रहस्य र दिव्य मन्त्र हो, जसलाई हृदयमा आत्मसात् गरे सफलता र महानता प्राप्त गर्न सकिने सर्राफले बताउनुभयो ।



