अभिलाष गुप्ता
वीरगंज, ०३ पौष । आन्दोलनको बहानामा व्यक्तिका घर तथा सम्पत्तिमा आगजनी र लुटपाट गर्नेहरु विरुद्ध पर्सा प्रहरीले कारबाही सुरु गरेको छ । भदौं २३ र २४ गते युवापूस्ता (जेन–जेड) को आन्दोलनका क्रममा वीरगंजका विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता भएपछि अनुसन्धान अघि बढाइएको हो ।
यसै क्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको घरमा आगजनी गरेको अभियोगमा प्रहरीले वीरगंज–१० रानीघाट निवासी रञ्जन सिंह राजपुतलाई पक्राउ गरेको छ । नगरप्रमुख सिंहका परिवारले दिएको किटानी जाहेरीका आधारमा राजपुतलाई बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकले जानकारी दिनुभयो ।

एसपी पाठकका अनुसार भदौं २४ गते अपराह्न वीरगंज–३ स्थित नगरप्रमुख सिंहको निजी निवासमा पुगेर राजपुत सहितको समूहले आगजनी गरेको आरोपमा आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो । राजपुतले नेतृत्व गरेको भीडले सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउँदै आगजनी गरी जनधनको जोखिम बढाएको भन्दै उनीमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, भदौं २४ गते वीरगंजका विभिन्न स्थानमा भएको निजी तथा सार्वजनिक क्षतिको विषयमा थप उजुरीहरू दर्ता भइसकेको र ती उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी प्राप्त गरी घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य समेत सुरु गरिएको प्रहरीले जनाएको छ ।



