अभिलाष गुप्ता
वीरगंज, ४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साको आयोजनामा शुक्रबार वीरगंजस्थित राणीसती मन्दिर धर्मशालामा अन्तर–विद्यालय आर्ट एन्ड ह्यान्डराइटिङ (कला तथा हस्तलेखन) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । विद्यार्थीहरूमा सृजनात्मक सोच, कलात्मक क्षमता र सुन्दर हस्तलेखनको महत्त्व अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पर्सा जिल्लाका प्याब्सनसँग आबद्ध ३५ वटा विद्यालयका ४०० भन्दा बढी विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतियोगिताबारे जानकारी दिँदै प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले शैक्षिक पाठ्य क्रमसँगै अतिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले डिजिटल प्रविधिको बढ्दो प्रयोगबीच पनि राम्रो हस्तलेखन र कलात्मक अभिव्यक्तिको आफ्नै पहिचान र मूल्य रहेको उल्लेख गर्नुभयो । यस प्रकारका प्रतियोगिताले विद्यार्थीको एकाग्रता, धैर्यता र सृजनात्मक क्षमतालाई मजबुत बनाउने उहाँको भनाइ थियो ।
प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन तथा समन्वय प्याब्सन पर्साका वरिष्ठ सदस्य तथा मुनलाइट स्कुलका संस्थापक सुशील केसीको नेतृत्वमा गरिएको थियो । आर्ट प्रतियोगिता तर्फ नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई ६ समूहमा र ह्यान्डराइटिङतर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई ४ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो, जसले उमेर र कक्षाअनुसार निष्पक्ष मूल्याङ्कन गर्न सहज बनाएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मूल्याङ्कन पूर्ण रूपमा निष्पक्ष र तटस्थ बनाउन काठमाडौँबाट विशेष निर्णायक मण्डल बोलाइएको थियो । निर्णायकहरूले कलात्मक प्रस्तुति, रचनात्मकता, विषय वस्तुको स्पष्टता, रंग संयोजन, सफाइ तथा हस्तलेखनको सुन्दरतालाई आधार मानेर मूल्याङ्कन गरेका थिए । उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा समूहलाई मेडल, शिल्ड, प्रमाणपत्रलगायत विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रम प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा तथा जिल्ला शिक्षा समन्वय समिति इकाइ प्रमुख मोतीराम भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, हिसान उपाध्यक्ष आलोक चौरसिया तथा प्याब्सनका केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो । आयोजकका अनुसार यस्ता प्रतियोगिताले विद्यालयहरू बीच आपसी सहकार्य र स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्नुका साथै विद्यार्थीहरूको बौद्धिक, मानसिक र सृजनात्मक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।




