अभिलाष गुप्ता
वीरगंज, ९ पुस । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत पुस ९ गते आठौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै तर्फका विद्यालय टोलीहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका छन् ।
आठौँ दिनको पहिलो खेल (जुनियर छात्र) कालीकमाई स्कुल र सुर्योदय सेकेन्डरी स्कुलबीच सम्पन्न भयो । टस जितेर ब्याटिङ गरेको कालीकमाई स्कुललाई सीमित रनमै रोक्दै सुर्योदय सेकेन्डरी स्कुलले ७ विकेटको सहज जित हात पार्यो । यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोहन ठाकुर म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेल (छात्रा) रोयल एकेडेमी र नवदीप एकेडेमीबीच खेलिएको थियो । उत्कृष्ट बलिङ र अनुशासित ब्याटिङको प्रदर्शन गर्दै रोयल एकेडेमीले ९ विकेटको फराकिलो जित दर्ता गर्यो। टोलीको जितमा निर्णायक भूमिका खेलेकी सोनी कुमारी म्यान अफ द म्याच घोषित भइन् ।

तेस्रो खेल (जुनियर छात्र) ज्ञान वाटिका स्कुल र मिनिल्यान्ड सेकेन्डरी बोर्डिङ स्कुलबीच सम्पन्न भयो । प्रतिस्पर्धात्मक खेलमा ज्ञान वाटिका स्कुलले ७ विकेटको जित निकाल्न सफल भयो । उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका आयान अली म्यान अफ द म्याच बने ।
चौथो खेल (छात्रा) लिटल फ्लावर सेकेन्डरी स्कुल र मुनलाइट एकेडेमीबीच खेलिएको थियो । रोमाञ्चक प्रतिस्पर्धापछि लिटल फ्लावर सेकेन्डरी स्कुलले ५ विकेटको जित हात पार्यो। टोलीको जितमा महत्वपूर्ण योगदान पुर्याएकी अर्चना ठाकुर म्यान अफ द म्याच घोषित भइन् ।
आठौँ दिनको अन्तिम खेल (जुनियर छात्र) सेन्ट जेभियर्स र गोल्डेन फ्युचरबीच सम्पन्न भयो। उत्कृष्ट ब्याटिङ र सशक्त बलिङ प्रदर्शन गर्दै गोल्डेन फ्युचरले ८ विकेटको शानदार जित दर्ता गर्यो। यस खेलमा नितेश कुशवाहा म्यान अफ द म्याच घोषित भए ।
आयोजक प्याब्सन वीरगंजका अनुसार प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिताले प्रतियोगितालाई थप उत्साहपूर्ण बनाएको आयोजकले जनाएको छ ।



