अभिलाष गुप्ता
वीरगंज, ११ पुष । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत ११ पुसमा पाँच खेल सम्पन्न भएका छन् । आदर्शनगरस्थित मैदानमा भएका खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरे ।
बोयजतर्फको पहिलो खेलमा लिटल फ्लावर स्कूलले फुर्कान स्कुललाई ५ विकेटले पराजित गर्दै विजय हासिल गर्यो । यस खेलमा अमन यादव म्यान अफ द म्याच घोषित भए ।
गर्ल्सतर्फको दोस्रो खेलमा अल्पाइन सेकेन्डरी स्कुलले ज्ञान वाटिका सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्यो । रिया यादव उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच बनिन् ।
तेस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले जीवन ज्योति सेकेन्डरी स्कुललाई ७ विकेटले पराजित गर्यो । यस खेलका म्यान अफ द म्याच नितेश पटेल घोषित भए ।
चौथो खेलमा माउन्ट मकालु सेकेन्डरी स्कुलले लिटल एन्जल सेकेन्डरी स्कुललाई ३ विकेटले पराजित गर्दै जीत निकालेको हो । अनु यादव म्यान अफ द म्याच बनिन् ।
दिनको अन्तिम खेलमा ब्लु हेभेन सेकेन्डरी स्कुलले एसआर ग्यालेक्सी एकेडेमीलाई २५ रनले पराजित गर्यो । पृथ्वी पटेल यस खेलका म्यान अफ द म्याच घोषित भए ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकाको खेल प्रतिभा उजागर गर्नुका साथै क्रिकेटप्रति रुचि र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।




