अभिलाष गुप्ता
वीरगंज, ११ पुष । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय समस्यामा केन्द्रित हुँदै अपराध तथा सुरक्षा चुनौती उत्पन्न गर्ने मूल कारण (Root Cause) पहिचान गर्ने उद्देश्यसहित रौतहट जिल्लामा “एक जिल्ला, एक समस्या” अवधारणाअनुसार लागूऔषध विरुद्ध अभियान सञ्चालन गरिएको छ ।
जिल्ला रौतहट बौधीमाई नगरपालिकाको आयोजनामा, जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त सहकार्यमा बौधीमाई नगरपालिका वडा नं. ५ स्थित सामुदायिक भवनको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल सहभागी रहनु भएको थियो । साथै नगरपालिकाका उप–प्रमुख, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिन कार्की, सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, वरिष्ठ सई तेज प्रताप सिंह राजपुत लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बौधीमाई नगरपालिका भित्रका सम्पूर्ण विद्यालयमा अध्ययनरत विद्यार्थीहरू तथा युवा वर्गलाई लक्षित गरी लागूऔषधले मानिसको शरीर, मानसिक अवस्था र समग्र समाजमा पार्ने नकारात्मक असरबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । साथै लागूऔषध सम्बन्धी विद्यमान कानुनी प्रावधान, कसुर ठहर भएमा हुने दण्ड–सजायका विषयमा समेत प्रशिक्षण दिइएको थियो ।प्रशिक्षणका क्रममा सहभागी विद्यार्थी तथा युवाहरूलाई लागूऔषधको ओसार–पसार, बिक्री–वितरण, संचय, सेवन तथा तस्करी जस्ता अपराध नियन्त्रणमा उनीहरूले निर्वाह गर्न सक्ने भूमिकाबारे जानकारी गराइयो । लागूऔषध सम्बन्धी कुनै शंकास्पद गतिविधि देखेमा सुरक्षानिकायसँग सूचना आदान–प्रदान गरी अपराध नियन्त्रणमा सहयोग गर्न आग्रह गरिएको थियो ।

कार्यक्रममा स्थानीय भद्रभलादमी, बुद्धिजीवी, समाजसेवी, शिक्षक–शिक्षिकासहितको सहभागिता रहेको थियो । वक्ताहरूले लागूऔषधको समस्या केवल सुरक्षाको विषय मात्र नभई सामाजिक, पारिवारिक र भविष्यका पुस्तासँग जोडिएको गम्भीर चुनौती भएको उल्लेख गर्दै यसविरुद्ध सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिए ।
आयोजकका अनुसार, यस्तो प्रकारको सचेतनामूलक कार्यक्रमले विद्यार्थी तथा युवाहरूलाई लागूऔषधबाट टाढा राख्न, समाजमा सकारात्मक सोच विकास गर्न र सुरक्षित समुदाय निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।




