रक्सौल, पूर्वी चम्पारण १३ पुष । भारत विकास परिषद् रक्सौल शाखा तथा श्रीराम जानकी मन्दिर सह विवाह भवन समितिको संयुक्त आयोजनामा आगामी मङ्गलबार, ३० डिसेम्बर का दिन पूर्वाह्न ११:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म पोस्ट अफिस रोडस्थित श्रीराम जानकी मन्दिर परिसरमा निःशुल्क नेत्र जाँच शिविर आयोजना गरिने भएको छ ।
यस सम्बन्धमा जानकारी दिँदै भारत विकास परिषद् रक्सौल शाखाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक एवम् मन्दिर समितिका मिडिया प्रभारी रजनीश प्रियदर्शीले आजको व्यस्त जीवनशैलीका कारण आँखासम्बन्धी गम्भीर रोगहरू बढ्दै गएको बताए । धेरै मानिसहरू जानकारीको अभावमा आँखाका रोगबारे अनभिज्ञ रहने भएकाले जनचेतना अभिवृद्धि गर्न तथा पछिल्ला दिनमा तापक्रम घटेसँगै नेत्ररोगीहरूको संख्या बढिरहेको अवस्थालाई ध्यानमा राख्दै यो शिविर आयोजना गरिएको उनको भनाइ छ ।

शिविरमा वीरगञ्जको बिर्तास्थित सिद्धि आई केयरका सञ्चालक तथा नेपालका सुप्रसिद्ध नेत्र चिकित्सक डा. आदित्य प्रसाद र डा. बिपिशा श्रेष्ठले सेवा प्रदान गर्नेछन्। दुवै संस्थाका पदाधिकारीहरूले शहरवासीहरूलाई आफ्नो आँखाको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न यो शिविरको अधिकतम लाभ लिन आग्रह गरेका छन् ।
शिविरमा सहभागी हुने व्यक्तिहरूको नेत्र जाँचपछि चिकित्सकीय परामर्श प्रदान गरिनेछ। आवश्यक परेमा निःशुल्क औषधि पनि उपलब्ध गराइनेछ । साथै, शिविरमा दर्ता भएका मोतियाबिन्दु वा अन्य नेत्ररोगीहरूलाई सिद्धि आई केयरतर्फबाट जाँच तथा शल्यक्रियामा अधिकतम छुट प्रदान गरिने जानकारी मन्दिर समितिका मिडिया प्रभारी रजनीश प्रियदर्शीले जानकारी दिए ।




