अभिलाष गुप्ता
वीरगंज, १४ पुष । नेशनल इन्फोटेक कप २०८२ अन्तर्गत आयोजित इन्टर–कलेज टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज वीरगंजस्थित टी.बी. शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको छ । फाइनल खेलमा नेशनल इन्फोटेक कलेजले ग्याण्डा एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको छ ।
पहिले ब्याटिङ गरेको ग्याण्डा एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । टोलीका लागि विवेक प्रजापतिले २७ बलमा ३६ रन तथा अंकित के. कुर्मीले ३६ बलमा ३५ रनको योगदान दिएका थिए । बलिङतर्फ नेशनल इन्फोटेकका निरज पटेलले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए भने अभय यादवले ४ ओभरमा २६ रन दिएर १ विकेट लिए ।
१३८ रनको लक्ष्य पछ्याएको नेशनल इन्फोटेकले १९.१ ओभरमै ५ विकेटको क्षतिमा १४० रन बनाउँदै जित सुनिश्चित गर्यो । टोलीका लागि मोहताब आलमले ४३ बलमा ४८ रन तथा परिमार्जन यादवले ३९ बलमा ४९ रनको उत्कृष्ट पारी खेले। ग्याण्डा एकेडेमीका बलर रोबिन कुमालले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए भने अंकुश गुप्ताले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।
फाइनल खेलका उत्कृष्ट खेलाडी मोहताब आलम घोषित भए । उनले ४८ रनको प्रभावशाली पारी खेलेबापत रु. २,००० नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेल क्रिकेट एशोसिएसन अफ नेपाल (CAN) मधेश प्रदेश क्रिकेट संघ तथा क्रिकेट एशोसिएसन अफ पर्साको सहकार्यमा सम्पन्न भएको हो । टुनामेन्टका संयोजक तथा युवा नेता सुधीर पटेलको विशेष उपस्थितिमा तथा क्यान पर्साका अध्यक्ष मनिष सिंहको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
आयोजकका अनुसार विजेता टोलीलाई शील्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताले वीरगंज तथा आसपासका कलेजस्तरका खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।




