अभिलाष गुप्ता
वीरगंज, १५ पुष । उपकार सेवा नेपालले निरन्तर सामाजिक सेवाअन्तर्गत ठोरी गाउँपालिका वडा नम्बर १ भगवाननगरमा अवस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित व्यक्तिहरूका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ ।
आश्रममा बसोबास गर्दै आएका १८ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकाको उपभोगका लागि चामल ३० किलोका २ बोरा, दाल ७ किलो, खाने तेल, नुन, स्वाबिन १० किलो १ बोरा, फिनाइल, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, डाइपर, धनिया, खुर्सानीलगायतका आवश्यक दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको हो ।

उक्त सामग्री हस्तान्तरणका लागि आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूले आश्रमका सदस्य थिङलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।
उपकार सेवा नेपालले उक्त आश्रमलाई प्रत्येक महिना नियमित रूपमा खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गर्दै आइरहेको जनाएको छ। संस्थाले समाजका असहाय, अपाङ्ग, वृद्ध तथा बालबालिकाको जीवन सहज बनाउन यस्ता मानवीय सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।



