नयाँ दिल्ली, १४ माघ । बिहारका प्रख्यात मानवअधिकार पत्रकार, लेखक तथा संगठनकर्ता डा. शशि भूषण कुमारलाई श्रीलंकाको प्रतिष्ठित संस्था साउथ एशिया रिजन कोलाबोरेशन फाउन्डेसन द्वारा अन्तर्राष्ट्रिय सम्मान “साउथ एशिया हीरो अवार्ड–२०२५” प्रदान गरिने भएको छ।
फाउन्डेसनका एक्जिक्युटिभ डाइरेक्टर देशबन्धु अमिला मोरेमाडाले पत्रमार्फत दिएको जानकारी अनुसार उक्त सम्मान आगामी ६ फेब्रुअरी २०२६ मा भारतको नयाँ दिल्लीस्थित एक पाँचतारे होटलको सभागारमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ।
डा. कुमार मानवअधिकार पत्रकारिता, संस्कृति तथा मातृभाषा संरक्षणको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। सार्क मुलुकहरूमा पत्रकार तथा लेखकहरूको संरक्षण र अधिकारका लागि क्रियाशील संस्था सार्क जर्नलिस्ट फोरम, बिहारका अध्यक्षका रूपमा उनले देखाएको संगठन क्षमता, नेतृत्व कौशल तथा लगातार चार अन्तर्राष्ट्रिय अधिवेशन सफलतापूर्वक आयोजना गरेको योगदानको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको हो।
उल्लेखनीय छ कि डा. शशि भूषण कुमारले मानवअधिकार संरक्षण र मानवअधिकार पत्रकारिताको यात्रा बिहारका पूर्व मुख्यमन्त्री स्व. डा. जगन्नाथ मिश्रको निर्देशन तथा दर्शनशास्त्रका विद्वान गुरु प्रो. श्याम नारायण चौधरीको मार्गदर्शनमा गणतन्त्रको प्रथम भूमि वैशाली जिल्ला बाट सुरु गरेका थिए।
सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा तथा मोरिससका पूर्व उपप्रधान मन्त्री हरिश बुद्धुकी धर्मपत्नी, चर्चित लेखिका तथा पत्रकार डा. सरिता बुद्धुको निर्देशनमा उनले भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड तथा मोरिसससम्म आफ्नो नेतृत्व क्षमता प्रमाणित गरेका छन्।
डा. कुमार नेपाल सरकारद्वारा प्रदान गरिने धर्मादित्य धर्माचार्य अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान–२०२५ प्राप्त गर्ने भारतका पहिलो व्यक्ति हुन्। उक्त सम्मान उनलाई काठमाडौँमा नेपालकी पूर्व राष्ट्रपति विद्या देवी भण्डारी को हातबाट प्रदान गरिएको थियो।
यसका अतिरिक्त उनले काठमाडौँमा नेपालका उपराष्ट्रपतिको हातबाट गोल्ड स्टार एशिया इन्टरनेशनल अवार्ड–२०१५, बैंककमा थाइल्याण्डका उपप्रधानमन्त्रीको हातबाट ग्लोबल अचिभर्स इन्टरनेशनल अवार्ड–२०१६, सन् २०१९ मा गोवाको राजभवनमा राज्यपाल स्व. मृदुला सिन्हाको हातबाट सम्मान लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन्।
हाल डा. शशि भूषण कुमार मानवाधिकार टुडेका सम्पादक, विश्व हिन्दी परिषदका राष्ट्रिय कार्यकारिणी सदस्य, वैशाली हिन्दी साहित्य सम्मेलनका अध्यक्ष, भारत–मोरिसस मैत्री संघका सचिव, भारत–नेपाल संस्कृति सद्भावना मंच का अध्यक्ष तथा वैशाली अन्तर्राष्ट्रिय विद्यापीठ का संस्थापकको रूपमा सक्रिय छन्।
उनले सशक्त नारी, सशक्त भारत, मानवाधिकार: एक दृष्टि, भारतीय संविधान एवं मानवाधिकार तथा मानवाधिकार जागरण जस्ता पुस्तकहरूको लेखन तथा सम्पादनसमेत गरेका छन्।







