वीरगंज, २६ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन केवल उम्मेदवार र दलबीचको प्रतिस्पर्धामा सीमित नरही वर्षौँदेखि थाती परेका जनजीवनसँग जोडिएका समस्याको समाधान खोज्ने बहसको केन्द्र बनेको छ।
यही सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक टेमानीले घरदैलो अभियानमार्फत स्थानीय समस्यासँग नजिकबाट परिचित हुने र निर्वाचित भएपछि नीतिगत तहबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार बिहान टेमानीले वीरगंज महानगरपालिका वडा नं. १७ को कोनिया टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै संवाद गरेका थिए।कार्यक्रममा मधेश प्रदेशका पूर्वमन्त्री एवं जसपाका नेता रमेश कुर्मी, सशिकपुर मियाँ, करिमा वेगमलगायत नेताहरूको सहभागिता रहेको थियो। प्रत्यक्ष संवादका क्रममा टेमानीले खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीसँग सम्बन्धित दीर्घकालीन समस्याबारे स्थानीयबाट विस्तृत जानकारी लिएका थिए।
पर्सा–२ अन्तर्गत वीरगंज, पर्सागढी र बहुदरमाईका शहरी, अर्धशहरी र ग्रामीण क्षेत्रबीच विकासको गति असमान रहेको उल्लेख गर्दै शहरी टोलहरूमा खानेपानी र ढल व्यवस्थापन चुनौती बनेको तथा ग्रामीण क्षेत्रमा आधुनिक सिँचाइ र कृषि प्रविधिको अभावले किसानहरू अपेक्षित आम्दानी गर्न नसकेको गुनासो स्थानीयले राखेका थिए।
टेमानीले भने, “घरदैलो अभियान केवल भोट माग्ने कार्यक्रम होइन, यो नीति निर्माणको आधार हो। जनताले भोगिरहेका वास्तविक समस्या संसदमा पुर्याउनु मेरो मुख्य जिम्मेवारी हुनेछ।” उनले निर्वाचित भएपछि खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकतामा राखी संघीय संसदमा बजेट तथा योजना वितरणमा न्याय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
टेमानीको घरदैलो अभियानले पर्सा–२ का मतदातामा विश्वास जगाएको र निर्वाचन बहसलाई मुद्दामुखी तथा सकारात्मक दिशातर्फ डोर्याएको विश्लेषकहरूको भनाइ छ।







