वीरगंज, ०३ फागुन । वीरगंज महानगरपालिका वडा नं. १३ मा आयोजित एक कार्यक्रमबीच जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गरी सयौं नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) मा प्रवेश गरेका छन्।
कार्यक्रममा जसपा नेपालका भोला अंसारी, नबी रसूल अंसारी र मुन्ना अंसारीलगायतका युवा नेताहरूको नेतृत्वमा करिब एक सय जनाको संख्यामा नेता–कार्यकर्ता एमालेमा समाहित भएका हुन्।
पार्टी प्रवेश कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादव तथा एमालेका केन्द्रीय नेताहरूले नवप्रवेशीहरूलाई फूलमाला र गम्छा लगाएर स्वागत गरेका थिए।
उम्मेदवार यादवले देश विकास, सुशासन र ‘समृद्ध नेपाल’ निर्माणको साझा लक्ष्यलाई आत्मसात गर्दै नवप्रवेशीहरू पार्टीप्रति प्रतिबद्ध भएको बताए। सचेत र ऊर्जावान युवाहरूको आगमनले विकास अभियानलाई थप मजबुत बनाउने उल्लेख गर्दै उनले सबैको एकता, सामूहिक प्रयास र दृढ संकल्पबाट जनताको विश्वासलाई सार्थक बनाउँदै राष्ट्र निर्माणको यात्रामा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
यादव उम्मेदवार बनेयता अन्य पार्टी परित्याग गरी नेता–कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने क्रम निरन्तर बढिरहेको एमालेका नेताहरूले दाबी गरेका छन्। उनीहरूले यसलाई पार्टीप्रति बढ्दो जनविश्वास र संगठन सुदृढीकरणको संकेतका रूपमा व्याख्या गरेका छन्।






