वीरगंज, ०४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वीरगंव महानगरपालिका – १६ नगवामा चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सङ्गठन सुदृढीकरण र जनसम्पर्क विस्तारको लक्ष्यका साथ सञ्चालनमा ल्याइएको कार्यालयको एमालेबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले रिबन काटेर गरेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका यादवले कार्यालय उद्घाटनलाई पार्टीको वडा स्तरीय जनसम्पर्क अभियानको सुरुवातको रूपमा व्याख्या गरे । उनले एमालेले वीरगञ्जलाई समृद्ध, सफा, सुन्दर र बस्न योग्य सहर बनाउने दृढ रहेको बताए । “हामीले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने, युवाहरूलाई रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने, सडक, बिजुली, खानेपानी जस्ता आधारभूत पूर्वाधार विकासलाई प्राथमिकता दिने छौँ । समग्र वीरगंजलाई औद्योगिक केन्द्रका साथै पर्यटकीय हब बनाउने हाम्रो मुख्य चुनावी एजेन्डा हो,” उनले भने ।
यादवले आफ्नो विगतको सार्वजनिक सेवाको समेत स्मरण गर्दै वीरगंज र वीरगंजपासीका लागि गरेको कामको चर्चा पनि गरे । “मैले सांसद र मन्त्रीको जिम्मेवारी सम्हाल्दा जनताको सेवामा उल्लेखनीय सुधारको कामहरू गरेको छु । सबै अनुभवका आधारमा अब वीरगञ्जको समग्र विकासलाई नयाँ उचाइमा पुर्याउने छु र जनताको दैनिक जीवनलाई सहज बनाउने छु,” उनले थपे ।
त्यस्तै उनले वीरगंज – १६ का सम्पूर्ण मतदाता, शुभेच्छुक तथा समर्थकहरूलाई कार्यालयमा नियमित रूपमा आउन, आफ्ना सुझाव दिन र आफ्नो अभियानमा सक्रिय सहभागिता जनाउन अनुरोध पनि गरे । “तपाईँहरूको साथ र सहयोगले हाम्रो पार्टीको जनसम्पर्क अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउने छ,” उनले थपे ।
कार्यालय उद्घाटनसँगै नेकपा (एमाले) ले वीरगंज – १६ सहित सहरका विभिन्न वडाहरूमा जनसम्पर्क र सङ्गठन विस्तार अभियानलाई तीव्रता दिने भएको छ । कार्यालयलाई पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरू को नियमित सम्पर्क केन्द्रको रूपमा सञ्चालन गरिने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा पूर्व सांसद प्रभु हजरा, निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, सुन्दर कुर्मी, रामबाबु पासवान, अरुण यादव, भुसाल चौरसिया लगायतको उपस्थिति रहेको थियो ।
यसैबिच, आज बिहान वीरगंज–१८ सौराहामा प्रदीप यादवको घरदैलो कार्यक्रम तय गरिएको भए पनि स्थानीय बलिस्टर यादवको निधनका कारण उक्त कार्यक्रम स्थगित गरिएको क्षेत्रीय कमिटीले जनाएको छ । साथै, पार्टीका नेताहरू स्वर्गीय यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी हुने एमालेले जानकारी दिएको छ ।






