वीरगंज, १० फागुन । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा घरदैलो गर्दै स्थानीय मतदाताहरूसँग सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
आइतबार बिहानदेखि नै वडामा रहेको विभिन्न टोल–टोलमा पुगेर स्थानीय मतदातासँग घरदैलोका क्रममा भेटघाट र लामो संवाद गर्दै यादवले आफूलाई मतदान गर्न आग्रह गरे ।
मतदाताहरूसँग कुराकानी गर्दै पूर्व मन्त्री समेत रहेका यादवले पर्साको विकास, समृद्धि र स्थिर सरकारका लागि सूर्य चिन्हमा मतदान गर्दै आफूलगायत एमाले का उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरे ।
आफूले यसअघि सांसद र मन्त्रीका रूपमा गरेको कामको विषयमा जानकारी गराउँदै उनले भने, “मैले विगतमा खानेपानी मन्त्रीका रूपमा यो क्षेत्रमा गरेका काम र आगामी योजनाहरू पूरा गर्न एमालेको जित अनिवार्य छ । जनताको विश्वास र साथले नै हामीले क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सक्छौँ ।”
घरदैलोका क्रममा स्थानीयवासीहरूले सडक, ढल निकास, खानेपानी, बिजुली, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्या तथा मागहरू राखेका थिए । यादवले प्रत्येक मुद्दालाई ध्यानपूर्वक सुनेर तत्काल सम्बोधन गर्ने र क्षेत्रको समग्र विकासका लागि ठोस योजना बनाउने प्रतिबद्धता जनाए । उनले विगतका चुनावमा गरेको कामको समीक्षा गर्दै “जनताले देखेका र महसुस गरेका विकासलाई निरन्तरता दिने” बताए ।
कार्यक्रममा स्थानीय नेकपा (एमाले) का नेता–कार्यकर्ता तथा वडाका जनप्रतिनिधिहरूको समेत उपस्थिति थियो ।







