वीरगंज, १२ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ यतिबेला राजनीतिक रूपमा अत्यन्तै चासोको केन्द्र बनेको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट युवा उम्मेदवार रूपेश कुमार पाण्डे, नेपाली काँग्रेस बाट सुरेन्द्र चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट छोटेलाल यादव र राष्ट्रिय स्वतन्त्र पार्टी बाट रमाकान्त चौरसिया चुनावी मैदानमा उत्रिएका छन्। साथै जनमत पार्टीकी मालती कुशवाहाको उम्मेदवारीले पनि प्रतिस्पर्धालाई बहुकोणीय बनाएको छ।
यद्यपि मैदानमा बहुपक्षीय प्रतिस्पर्धा देखिए पनि मुख्य भिडन्त भने एमालेका रूपेश पाण्डे र काँग्रेसका सुरेन्द्र चौधरीबीच केन्द्रित भएको स्पष्ट देखिन्छ।
युवाशक्ति बनाम पुरानो संरचना
पर्सा–३ को राजनीतिक धरातल विगतमा परम्परागत दलहरूको प्रभावमा रहँदै आएको थियो। तर पछिल्ला तीन वर्ष आठ महिनादेखि निरन्तर रूपमा गाउँ–बस्ती र टोल–टोल पुगेर जनताको समस्या प्रत्यक्ष बुझ्दै आएका रूपेश पाण्डेले यस समीकरणमा परिवर्तन ल्याउने प्रयास गरिरहेका छन्।
स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक, रोजगारी तथा सीमावर्ती व्यापार व्यवस्थापनजस्ता मुद्दा उठाउँदै आएका पाण्डे आफूलाई ‘मैदानमै काम गर्ने नेतृत्व’का रूपमा प्रस्तुत गरिरहेका छन्। उनको अभियानले युवा मतदाता, पहिलोपटक मतदान गर्ने समूह तथा वैकल्पिक सोच खोजिरहेका मतदातामा उत्साह थपेको दाबी गरिन्छ।
काँग्रेसको परम्परागत आधारमा चुनौती
काँग्रेसका उम्मेदवार सुरेन्द्र चौधरी क्षेत्रीय रूपमा परिचित अनुहार भए पनि विकासको ठोस खाका र निरन्तर जनसम्पर्कको अभाव रहेको आरोप लाग्दै आएको छ। मतदाताबीच “पुरानै शैलीको राजनीति” प्रति असन्तुष्टि बढिरहेको चर्चा स्थानीय स्तरमा सुनिन्छ।
२०४८ सालदेखि सक्रिय राजनीतिमा रहेका चौधरीले विगतमा सांसददेखि मन्त्रीसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन्। तर क्षेत्रीय विकासमा अपेक्षित उपलब्धि नदेखिएको आरोप विपक्षी पक्षबाट लाग्दै आएको छ। चौधरी पक्षले भने आफ्ना कार्यकालमा पूर्वाधार र प्रशासनिक सुदृढीकरणमा योगदान दिएको दाबी गर्दै आएको छ।
बहुकोणीय प्रतिस्पर्धा, तर ध्रुवीकरण स्पष्ट
माओवादी केन्द्रका छोटेलाल यादव र रास्वपाका रमाकान्त चौरसियाको उम्मेदवारीले केही मत विभाजन गर्ने आकलन गरिए पनि निर्णायक प्रतिस्पर्धा एमाले–काँग्रेसबीच नै हुने विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ।
वडास्तरमा एमालेको संगठनात्मक सक्रियता, युवाहरूको परिचालन र घरदैलो अभियानको तीव्रताले रूपेश पाण्डेको पक्षमा माहोल निर्माण भइरहेको समर्थकहरूको दाबी छ। यता काँग्रेसले आफ्नो परम्परागत मत आधार जोगाउन सक्रियता बढाएको जनाएको छ।
विकास र सुशासनका एजेन्डा
रूपेश पाण्डेले पर्सा–३ लाई “उद्योग, कृषि र व्यापारको नमुना क्षेत्र” बनाउने योजना अघि सारेका छन्। उनका प्रमुख प्रतिबद्धतामा सीमावर्ती व्यापार सहजीकरण, सिँचाइ तथा कृषि आधुनिकीकरण, युवालाई स्वरोजगार तथा सीपमूलक तालिम, सडक पूर्वाधार विस्तार र पारदर्शी शासन प्रणाली समावेश छन्।
चौधरीले भने अनुभव र संस्थागत समन्वयमार्फत स्थायित्व र दीर्घकालीन विकास सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
जनमतको संकेत
स्थानीय राजनीतिक वृत्तमा “यसपटक पुस्तान्तरणको संकेत देखिँदैछ” भन्ने चर्चा चुलिएको छ। युवा नेतृत्वको उदय र विकासमुखी एजेन्डा एकातिर छन् भने अनुभव र परम्परागत राजनीतिक संरचना अर्कोतर्फ उभिएका छन्।
अन्ततः पर्सा–३ का मतदाताले निरन्तरता वा परिवर्तनमध्ये कुन विकल्प रोज्ने भन्ने निर्णय मतदानमार्फत गर्नेछन्। हालको चुनावी गतिविधि र माहोल हेर्दा प्रतिस्पर्धा कडा हुने संकेत देखिएको छ।





