वीरगंज, १५ फागुन । प्रदीप यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारको रूपमा शुक्रबार वीरगंज महानगरपालिका वडा नम्बर १५ अन्तर्गत लक्ष्मणवा र भेडीयाही टोलमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै यादवले आफ्ना चुनावी एजेन्डा स्थानीयवासी समक्ष प्रस्तुत गरेका थिए। उनले पर्साको समग्र विकास, समृद्धि र जनताको जीवनस्तर उकास्ने स्पष्ट भिजन तथा कार्यान्वयन क्षमता आफूसँग रहेको दाबी गरे।
“काम गरेर प्रमाणित भइसकेको नेतृत्वलाई मत दिनुहोस्, बहरूपियाहरूको पहिचान गर्नुहोस् र सूर्य चिन्हमा मतदान गर्नुहोस्,” यादवले घरदैलोका क्रममा भने।
पूर्व मन्त्रीसमेत रहेका यादवले आफ्ना प्रतिद्वन्द्वीहरूलाई अराजनीतिक व्यक्तित्व भएको आरोप लगाउँदै चुनावका बेला मात्र जनतामाझ आएर ठूला आश्वासन बाँड्ने प्रवृत्तिबाट सचेत रहन मतदातालाई आग्रह गरे।
उनले पर्सा–१ का हरेक समस्या आफूले नजिकबाट बुझेको उल्लेख गर्दै विगतमा दुई पटक सांसद निर्वाचित हुँदा अधिकांश समस्याहरू समाधान गरेको दाबी गरे। “आगामी निर्वाचनमा विजयी भए बाँकी रहेका समस्याहरू पनि समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्छु,” उनले भने।
यादवले आफ्नो कार्यकालमा जिल्लाका विभिन्न स्थानमा सडक निर्माण, विद्यालय तथा अस्पताल भवन निर्माण, मन्दिर, मस्जिद र धर्मशाला निर्माणसँगै मसान घाट निर्माण गरेको उल्लेख गरे। खानेपानी समस्यामा विशेष ध्यान दिएको बताउँदै उनले अकाल परेका बेला एक साताभित्र विभिन्न स्थानमा बोरिङ जडान गरी तत्काल समस्या समाधान गरेको तथा दीर्घकालीन समाधानका लागि अर्बौँ रुपैयाँका परियोजना ल्याएको दाबी गरे।
संसद्मा जिल्लावासीको आवाज बुलन्द गर्दै पटक–पटक पर्साका समस्या उठाएको पनि उनले बताए।
कार्यक्रममा स्थानीयवासीले यादवलाई फूलमाला सहित स्वागत गरेका थिए। जनताले आफ्ना विभिन्न समस्या तथा मागहरू राखेका थिए भने यादवले ती समस्याहरू सम्बोधन गर्ने आश्वासन दिएका छन्।








