रक्सौल, १५ फागुन । शहरको बैंक रोडस्थित श्रीसत्यनारायण मारवाड़ी पंचायती मंदिर ट्रस्टको प्राङ्गणमा ट्रस्ट तथा अखिल भारतीय मारवाड़ी महिला सम्मेलन शाखा रक्सौलको संयुक्त आयोजनामा ‘श्री श्याम ज्योति महोत्सव’ अन्तर्गत श्री लड्डू गोपाल मिलन उत्सव हर्षोल्लासका साथ मनाइएको छ।
महिला सम्मेलनकी अध्यक्षा सोनू काबराले फाल्गुन शुक्ल रंगभरी एकादशीको पावन अवसरमा श्रद्धालुहरूले आफ्ना–आफ्ना घरबाट लड्डू गोपाल अर्थात भगवान श्रीकृष्णको बाल स्वरूपलाई भव्य श्रृंगार गरी मन्दिरमा ल्याई पंचोपचार पूजा–अर्चना, श्री श्याम पाठ तथा भजन–कीर्तन गर्दै रङ–गुलालसहित उत्सव मनाउने परम्परा रहेको बताइन्।
उनले लड्डू गोपाल मिलन उत्सव भगवानको बाल स्वरूपप्रति प्रेम, श्रद्धा र वात्सल्य भाव व्यक्त गर्ने अत्यन्त पावन अवसर भएको उल्लेख गरिन्। विशेषगरी फाल्गुन महिनामा, होलीको आगमनको सन्दर्भमा, भक्तजनहरूले बालकृष्णलाई फूल, इत्र तथा रंगीन वस्त्रले सजाई श्रद्धापूर्वक होली अर्पण गर्ने परम्परा रहेको बताइन्।
उत्सवमा सहभागी अधिकांश महिला श्रद्धालुहरू पहेंलो रंगको साडीमा उपस्थित भएका थिए। आज साँझदेखि १३ घण्टाको अखण्ड श्याम ज्योति तथा संगीतमय भजन–कीर्तन कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उनले चर्चित भजन गायकहरूको टोलीले श्रद्धालुहरूलाई भक्तिमय वातावरणमा सराबोर बनाउने विश्वास व्यक्त गरिन्।
भोलि शनिबार पूर्वाह्न ११:०० बजे भजन–कीर्तन समापन हुने र त्यसपश्चात मध्याह्नमा सामूहिक महाप्रसाद वितरण कार्यक्रम राखिएको छ। कार्यक्रममा ट्रस्टका सचिव कैलाशचन्द काबरा, शिवकुमार केशान, रमेश बंसल, राजकुमार अग्रवाल, उमेश सिकारिया तथा गणेश अग्रवाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम सफल बनाउन महिला सम्मेलनकी अध्यक्षा सोनू काबरा, पूर्व अध्यक्षा वीणा गोयल, सचिव संगीता धानोठिया, बबली सिकारिया, सुनीता केशान, अनुजा अग्रवाल, सारिका अग्रवाल, सुमन अग्रवाल, शिप्रा सिकारिया, बबिता रूंगटा, संगीता रूंगटा, अनुराधा शर्मा, रचना रूंगटा, ज्योति शर्मा, खुशबू भरतिया, मीना भरतिया, आभा केशान तथा शशि अग्रवालको उल्लेखनीय योगदान रहेको आयोजकले जनाएको छ।





