रौतहट, २७ फागुन। यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा कुटपिट गरेको घटनामा संलग्नलाई प्रहरीले आठ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।
पीडित बिर्जाराम चमारको उजुरीका आधारमा आज उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई पक्राउ गरिएको छ ।
अन्य आरोपीको खोजी जारी रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाले सात दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
गत फागुन १९ गते होली मनाउने क्रममा सामान्य भनाभनपछि स्थानीय भुनेश्वर यादवसहितको समूहले लाठी –भाटा लिएर साँझ बिर्जाराम चमारको घरमै प्रवेश गरी कुटपिट गरेको पीडित पक्षको आरोप छ । सो क्रममा घरभित्र रहेका श्रीमती, छोरीसहित ६ जनामाथि निर्घात कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरिएको र दुईवटा मोबाइलसमेत फोडिएको पीडित बिर्जाराम चमारले बताउनुभयो ।
कुटपिटबाट बिर्जाराम चमारको ढाड र घाँटीमा चोट लागेको छ, भने उनकी श्रीमती गायत्रीदेवी रामको शरीरभरि निलडाम परेको छ । चमारको छोरा राजकुमार रामको टाउकोमा चोट लागेको छ, भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेको बताइएको छ ।





