अभिलाष गुप्ता
वीरगंज, ०२ चैत। वीरगंजस्थित श्री नेपाल रेलवे माध्यमिक विद्यालयमा आजदेखि २ दिने वित्तीय साक्षरता (Financial Literacy) सम्बन्धी कार्यक्रम सुरु गरिएको छ। ग्लोबल मनी वीकको अवसर पारेर ज्योति विकास बैंक वीरगञ्ज शाखाले उक्त कार्यक्रम को आयोजना गरेको हो।
विद्यालयका प्रिन्सिपल प्रभु प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कक्षा ९ का ६५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई वित्तीय ज्ञान, बचतको महत्व, बैंकिङ सेवा प्रयोग गर्ने शाखाका अधिकृत लक्ष्मण कुमार रौनियार, राहुल बरनवाल र राजा बाबु लगायतले प्रशिक्षण दिएका थिए। कार्यक्रम का क्रममा बोल्दै अधिकृत लक्ष्मण कुमार रौनियारले विद्यार्थीहरूलाई सानै उमेरदेखि नै बचत गर्ने बानी विकास गर्नुपर्ने बताए।
उनले आर्थिक रूपमा सचेत भएमा भविष्यमा व्यक्तिगत तथा पारिवारिक जीवन व्यवस्थापन गर्न सजिलो हुने उल्लेख गरे। रौनियारले आधुनिक बैंकिङ प्रणाली, डिजिटल कारोबार र वित्तीय अनुशासनबारे जानकारी हुनु आजको आवश्यकता भएको पनि बताए।
विद्यालयका प्रिन्सिपल रौनियारले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आर्थिक चेतना बढाउने विश्वास व्यक्त गर्दै आयोजकप्रति आभार व्यक्त गरे।उक्त कार्यक्रम मंगलबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।







