वीरगंज, ०४ चैत्र । उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा “तेस्रो लालबन्दी महोत्सव २०८२” भव्य रूपमा उद्घाटन गरिएको छ। “आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव चैत ४ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवको उद्घाटन मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय कनिश पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष तथा महासंघको केन्द्रीय कार्यकारी समिति सदस्य अशोक कुमार टेमानी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मन्त्री कनिश पटेलले आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तार अत्यावश्यक रहेको बताउनुभयो। उहाँले यस्ता महोत्सवहरूले कृषि, पर्यटन, उद्योग र व्यापारलाई एकै स्थानमा जोड्ने काम गर्ने उल्लेख गर्दै स्वरोजगार सिर्जना र स्थानीय अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। साथै, प्रदेश सरकार यस्ता रचनात्मक पहलहरूमा सहकार्य र सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो।
त्यसैगरी, विशिष्ट अतिथि अशोक कुमार टेमानीले महोत्सवले स्थानीय उत्पादन, कला र उद्यमशीलतालाई राष्ट्रिय स्तरसम्म चिनाउने अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो। उहाँले निजी क्षेत्रको सशक्तिकरण बिना आर्थिक विकास सम्भव नहुने बताउँदै उद्योग वाणिज्य संघहरूले यस्ता कार्यक्रममार्फत उद्यमशीलता प्रवर्द्धनमा खेलेको भूमिका प्रशंसनीय रहेको धारणा राख्नुभयो।
महोत्सवमा विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी, नेपाल प्रहरीका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा विभिन्न निकायका प्रमुख एवं प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम उद्घाटनअघि जनवादी चौकदेखि महोत्सव स्थलसम्म आकर्षक झाँकी प्रदर्शन गरिएको थियो, जसले स्थानीय संस्कृति र परम्परालाई झल्काएको थियो।
लालबन्दी नगरपालिका–९, बस्तिपुरस्थित भुदेव खाद्य उद्योग (गोल्छा) परिसरमा आयोजना गरिएको महोत्सवमा विभिन्न घरेलु उत्पादनका स्टल, कृषि तथा हस्तकलाका सामग्री, राष्ट्रिय तथा स्थानीय खानाका परिकार, विभिन्न ब्रान्डका कपडा, जुत्ता–चप्पल तथा कस्मेटिक सामग्रीका स्टल राखिएका छन्।
त्यस्तै, महोत्सवमा मनोरञ्जनका लागि झुलुवा, बाल उद्यान, रोटेपिङ, ड्रायागन रेल, लण्डन ब्रिज, आइफिल टावर लगायतका खेल तथा संरचनाहरू राखिएका छन्। साथै, मधेश प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता, अटोमोबाइल प्रदर्शनी, स्थानीय कला तथा सांस्कृतिक कार्यक्रमहरू समेत महोत्सवका मुख्य आकर्षणका रूपमा रहेका छन्।
उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश कुमार महतोको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा संयोजक दिपेन्द्र कुमार बलम्पाकीले महोत्सवलाई सफल बनाउन सबै पक्षबाट सहयोग प्राप्त भएको बताउँदै आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो।
महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार विस्तार तथा पर्यटन विकासमा टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।





