न्यायाधीश जगतबहादुर पौडेलको इजलासले थप अनुसन्धान गर्ने तथा प्रमाणहरु बुझ्न र अनुसन्धानसम्बन्धी थप कार्यहरु बाँकी नै रहेकाले हिरासतमा राख्न मनासिव देखिएको उल्लेख गर्दै म्याद थप गर्न अनुमति दिएको हो ।
आदेशमा भनिएको छ, “थप अनुसन्धान गर्ने तथा प्रमाणहरु बुझ्नेसमेतका अनुसन्धानसम्बन्धी थप कार्यहरु बाँकी नै रहेको देखिँदा उल्लेखित अनुसन्धानको प्रयोजनका लागि प्रतिवादीलाई हिरासतमा राख्न मनासिव देखिँदा निज प्रतिवादी प्रतिवादी पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हिरासतमा राखी उपर्युक्त लेखिएबमोजिमको कार्यहरु सम्पन्न गर्ने प्रयोजनका लागि चैत २१ गतेदेखि लागू हुने गरी ५ (पाँच) दिनको म्याद थपको अनुमति प्रदान गरिएको छ ।”
अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अदालतले यही चैत २१ गतेदेखि लागू हुने गरी पाँच दिन म्याद थपको अनुमति दिएको हो । यसअघि, अदालतले सुरूमा पाँच दिन र पछि दुई दिन म्याद थप गरेको थियोे ।
सरकारी वकिलले अध्यक्ष ओली र नेता लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो । जेनजी आन्दोलनको बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता लेखक गृहमन्त्री हुनुहुन्थ्यो । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर यही चैत १४ गते शनिबार दुवै जनालाई पक्राउ गरिएको थियो ।
रासस





