रक्सौल/वीरगंज, २६ चैत्र । मधेश प्रदेश नेत्रहीन क्रिकेट संघको आयोजनामा दृष्टिविहीन खेलाडीहरू का लागि पाँच दिने क्रिकेट प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ।
मधेश प्रदेशसहित देशका विभिन्न १२ जिल्लाबाट सहभागी २४ जना दृष्टिविहीन खेलाडीहरूले उक्त प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका थिए। कार्यक्रममा पर्वत, तनहुँ, चितवन, गोरखा, पर्सा लगायतका जिल्लाका खेलाडीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम आइज नेपाल पर्साकी कोषाध्यक्ष रूपशिला जयसवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) वीरगञ्ज महानगर अध्यक्ष अमन अली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
विशेष अतिथिहरूमा प्रहरी नायब उपरीक्षक राजु कार्की, लायन्स क्लब सेस्मी एकेडमी वीरगंजका अध्यक्ष पिया सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, राउन्ड टेबलका अध्यक्ष मोहित राजपाल तथा लायन प्रसिद्धि आनन्द सिंहको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अमन अलीले आयोजक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद व्यक्त गर्दै समाजका खाँचोमा परेका व्यक्तिहरूको सेवामा सधैं तत्पर रहन आग्रह गर्नुभयो। उहाँले दृष्टिविहीन तथा अन्य प्रतिभाशाली व्यक्तिहरूलाई सरकारले आवश्यक सहयोग र सम्मान प्रदान गरिरहेको पनि बताउनुभयो।
त्यसैगरी, प्रहरी नायब उपरीक्षक राजु कार्कीले दृष्टिविहीन खेलाडीहरूको प्रतिभाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कडा परिश्रममार्फत सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै खेलाडीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिनुभयो।
लायन्स क्लब सेस्मी एकेडमी वीरगंजकि अध्यक्ष पिया सिंहले दृष्टिविहीन खेलाडीहरूको हौसला बढाउँदै उनीहरूले आफ्नो मेहनतबाट देशको गौरव बढाइरहेको बताउनुभयो। उहाँले समाजका सबै वर्गले यस्ता प्रतिभालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै विशेषगरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर दिन आवश्यक रहेको बताउनुभयो।
साथै, यस्ता कार्यक्रमहरूमा आफूले निरन्तर आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।





