वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेश आठ विकेटले पराजित गरेको हो । सुरुआती ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रन जोडेको थियो । टोलीका सन्तोष यादवले ७७ बलमा ८२ र सल्लाहद्धिन खानले ७७ बलमा ६० रन जोडेका थिए ।
गण्डकीका विपिन खत्रीले चार विकेट र अपराजित पौडेलले तीन विकेट लिए ।
जवाफी ब्याटिङमा उभिएको गण्डकीले ४४ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै दुई सय ११ रन जोडेको थियो । यस टोलीका अर्जुन कुमालले एक सय ३० बल खेल्दै एक सय तीन र सिब्रिन श्रेष्ठले ७७ बलमा ४३ रन जोडे ।
लुम्बिनी प्रदेशका दिनेश बोहरा र सन्तोष यादवले समान एक/एक विकेट लिए । आजको खेलमा गण्डकीका अर्जुन कुमालले ‘प्लेयर अफ दि म्याच’ घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाए ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब गरी तीन विभागीय टोली र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी वैशाख ४ गते हुँदैछ ।
रासस





