अभिलाष गुप्ता
वीरगंज, ०९ बैशाख । सामाजिक सेवामा सक्रिय संस्था उपकार सेवा नेपालले वीरगंज महानगरपालिका वडा नं. २२ मनोयारी निवासी शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका दलित मुसहर समुदायका एक असहाय व्यक्तिलाई ह्विलचेयर सहयोग प्रदान गरेको छ।
आर्थिक अभाव र शारीरिक अशक्तताका कारण दैनिक जीवनयापनमा कठिनाइ भोग्दै आएका ती व्यक्तिका लागि उक्त सहयोग महत्वपूर्ण मानिएको छ।
उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले एक कार्यक्रमका बीच ह्विलचेयर हस्तान्तरण गर्दै संस्थाले मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो। उहाँले यस्ता सहयोगले अपाङ्गता भएका व्यक्तिहरूको दैनिकी सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा समाजसेवी प्रकाश थारु लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले उपकार सेवा नेपालको यस मानवीय कार्यको प्रशंसा गर्दै आगामी दिनमा समेत यस्ता सहयोगात्मक गतिविधि निरन्तर जारी रहनुपर्नेमा जोड दिएका थिए।
उपकार सेवा नेपालले यसअघि पनि विभिन्न दुर्गम तथा पिछडिएका गाउँहरूमा पुगेर असहाय, विपन्न तथा निसहाय व्यक्तिहरूलाई खाद्यान्न, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक सहयोग प्रदान गर्दै आएको जनाएको छ। संस्थाले आगामी दिनमा समेत सामाजिक सेवाका कार्यक्रमहरूलाई अझ व्यापक बनाउँदै लैजाने योजना रहेको जनाएको छ।





