अभिलाष गुप्ता
वीरगंज, १७ वैशाख। वीरगंजस्थित पञ्चमुखी हनुमान मन्दिरमा सञ्चालन भइरहेको श्री रामकथा महायज्ञ आज नवौं दिन बिहानको पूजा–पाठ, हवन तथा विभिन्न धार्मिक अनुष्ठानसँगै भव्य रूपमा सम्पन्न भएको छ। नौ दिनसम्म सञ्चालन भएको यस महायज्ञमा हजारौं श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
महायज्ञका संयोजक गौरी प्रसाद गुप्ताको संयोजनमा सम्पन्न कार्यक्रममा भोला साह, दिपक कुमार गुप्ता, श्रावण बहादुर रायमाझी, अभिलाष गुप्ता, अमर सराफ, मनोज मिश्रा लगायत स्थानीय समाजसेवी तथा श्रद्धालुहरूको सक्रिय सहभागिता रहेको थियो।
पूजा–पाठ पण्डित राजीव रञ्जन भारद्वाजद्वारा विधिपूर्वक सम्पन्न गरिएको थियो भने कथा वाचनका रूपमा बनारस निवासी प्रख्यात कथावाचक मधुकरजी महाराजद्वारा दैनिक रूपमा श्रीरामकथाको प्रवचन गरिएको थियो। उहाँको प्रवचन सुन्न प्रत्येक दिन भक्तजनहरूको ठूलो भीड लागेको आयोजकले जनाएको छ।
आयोजक टिमका सदस्य अमर सराफका अनुसार, आज १७ गते सम्पन्न पूर्णाहुति तथा महाप्रसाद वितरण कार्यक्रममा ५ हजारभन्दा बढी भक्तजनहरूले महाप्रसाद ग्रहण गरेका थिए। करिब १४ लाख रुपैयाँको लागतमा सञ्चालन भएको यस धार्मिक महायज्ञ स्थानीय टोलबासी, श्रद्धालु तथा सहयोगी दाताहरूको आर्थिक तथा नैतिक सहयोगमा सम्पन्न भएको हो।
महायज्ञ अन्तर्गत प्रत्येक बिहान यज्ञ, पूजा तथा हवन कार्यक्रम सञ्चालन गरिएको थियो भने साँझ ६ बजेदेखि राति ९ बजेसम्म रामकथा प्रवचन हुँदै आएको थियो। यज्ञस्थलमा भगवानका विभिन्न मूर्तिहरू स्थापना गरिनुका साथै ५०० कलश स्थापना गरी धार्मिक वातावरणलाई अझ भव्य र आकर्षक बनाइएको थियो।
कथावाचक मधुकरजी महाराजले रामकथा केवल सुन्ने विषय मात्र नभई भगवान श्रीरामको आदर्श, मर्यादा र चरित्रलाई जीवनमा आत्मसात् गर्नुपर्ने सन्देश दिनुभयो। उहाँले सत्य, धर्म र कर्तव्यको मार्गमा अघि बढ्न प्रेरित गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैलाई आग्रह गर्नुभयो।
यस महायज्ञले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै सामाजिक एकता, सद्भाव र नैतिक मूल्यहरूको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ। कार्यक्रम समापनका अवसरमा सहयोगीहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
भव्य रूपमा सम्पन्न भएको यस महायज्ञले वीरगंजमा धार्मिक उत्साह र भक्तिमय वातावरण सिर्जना गरेको स्थानीयवासीहरूले बताएका छन्।





