अभिलाष गुप्ता
वीरगंज, ०८ अषाढ । पर्सा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा करिब १४ लाख ९ हजार ३०० रुपैयाँ बराबरका अवैध सामान तथा सवारीसाधन बरामद गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका सामानहरू वीरगञ्ज महानगरपालिका–१६ ईनर्वा, जगरनाथपुर गाउँपालिका अन्तर्गत मुरैया–दशौता क्षेत्र तथा बिन्दवासिनी गाउँपालिकाको मधवल सीमाक्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका सामानहरूमा विभिन्न किसिमका कपडा, ल्यापटप, फलफूल, किराना सामग्री, कस्मेटिक सामग्री, ब्याट्री, बाख्रा–खसी, ई–रिक्सा तथा मोटरसाइकल लगायत रहेका छन्। ती सामानहरू अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याउने प्रयास भइरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
सशस्त्र प्रहरीले सीमाक्षेत्रमा नियमित गस्ती तथा निगरानीलाई तीव्र बनाएको र तस्करी तथा राजस्व छलिका गतिविधिविरुद्ध निरन्तर अभियान सञ्चालन भइरहेको जनाएको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा अवैध आयात–निर्यात नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाएसँगै यस्ता बरामदका घटनामा वृद्धि भएको देखिएको छ।
बरामद भएका सम्पूर्ण सामान तथा सवारीसाधन आवश्यक मूल्याङ्कन र राजस्व सम्बन्धी प्रक्रिया पूरा गर्न वीरगञ्ज भन्सार कार्यालय मा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सुरक्षा निकायले सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि स्थानीयवासीसँग समेत सहकार्य गर्दै सूचनाको आधारमा कारबाहीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।







