अभिलाष गुप्ता
बारा, ११ अषाढ । जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्ता सहित पदाधिकारी तथा सदस्यहरूको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। बिहीबार संघको कार्यालयमा आयोजित एक समारोहबीच नवनिर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेका हुन्।
कार्यक्रम संघका निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष अशोक टेमानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
सपथ तथा पदभार ग्रहण गर्ने पदाधिकारीहरूमा अध्यक्ष गुप्तासहित वरिष्ठ उपाध्यक्ष शिवजीप्रसाद साह सोनार, वाणिज्य उपाध्यक्ष रामबाबु कलवार, महासचिव प्रकाश गिरी, कोषाध्यक्ष रिना रौनियार पुरी तथा वाणिज्य सचिव रिता कँडेल रहेका छन्।कार्यक्रममा बिरगंज उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल एवं वरिष्ठ उधोगपति एवं पुर्व अध्यक्ष गनेश लाठको विशेष उपस्थिति रहेको थियोे।
त्यसैगरी, वाणिज्यतर्फ निर्वाचित सदस्यहरू अमरेन्द्रकुमार साह कलवार, विभा गुप्ता, मुकुन्द रिजाल, बलराम पौडेल, विजयकुमार गुप्ता, नवरत्नप्रसाद कलवार र मनोहरबाबु गुप्ताले समेत सपथ ग्रहण गरी पदभार सम्हालेको प्रमुख निर्वाचन अधिकृत शरदचन्द्र भट्टराईले जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टेमानीले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उद्योगी तथा व्यवसायीहरूको हकहित संरक्षण र प्रवर्द्धनका लागि संघले अझ सशक्त भूमिका खेल्नुपर्ने धारणा राखे।
यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरूको समस्या समाधान र व्यवसायमैत्री वातावरण निर्माणका लागि संघले निरन्तर पहल गर्नुपर्छ।टेमानीको भनाई अनुसार नेपालको सबै भन्दा ठुलो विशेष आर्थिक क्षेत्र (SEZ) यसै भेगमा अवस्थित रहेको छ।उक्त आर्थिक क्षेत्रमा लगानी गर्न सम्पुर्ण उधोगी ब्यवसायीहरुलाई आवाहन गर्नु भएको थियोे।उनले भने नवनिर्वाचित नेतृत्वले व्यवसायीहरूको विश्वासलाई कायम राख्दै प्रभावकारी ढंगले काम गर्ने अपेक्षा गरेको छु।
कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत भट्टराईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए।यसैबीच, नवनिर्वाचित समितिले संघमा आबद्ध ९५७ जना सदस्यका लागि एक वर्ष अवधिको एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।
नवनिर्वाचित अध्यक्ष गुप्ताले निजी क्षेत्रलाई आतंकित बनाउने गतिविधिका विषयमा सम्बन्धित सरकारी निकायसँग सहजीकरण गरी व्यवसायीहरूको सुरक्षा र हितका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
पथलैया–वीरगंज औद्योगिक करिडोरमा अवस्थित उद्योग तथा व्यवसायीहरूको सम्मान र प्रतिष्ठा अभिवृद्धि गर्ने एजेन्डालाई प्राथमिकतामा राखेर काम गर्नेछौं,अध्यक्ष गुप्ताले भने,उद्योगी तथा व्यवसायीको समस्या समाधान र निजी क्षेत्रको प्रवर्द्धनका लागि संघ सधैं अग्रसर रहनेछ।कार्यक्रममा उद्योगी, व्यवसायी, संघका पूर्व पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


