अभिलाष गुप्ता
वीरगञ्ज, १२ अषाढ । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित “Strengthening Cholera Preparedness: Lessons Learned Workshop” शीर्षकको दुईदिने कार्यशाला शुक्रबार सम्पन्न भएको छ।
वीरगञ्जस्थित होटल क्लार्क रिसोर्ट गण्डकमा आयोजित कार्यशालाको उद्देश्य हैजालगायत जलजन्य तथा सरुवा रोगको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई सुदृढ बनाउनु, विगतका अनुभव तथा सिकाइको आदानप्रदान गर्नु तथा प्रभावकारी प्रतिकार्यका लागि सरोकारवाला निकायबीच समन्वय अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा रहेका थिए। समापन समारोहमा Global Task Force on Cholera Control का एशिया क्षेत्रीय प्रबन्धक डा. अभिषेक रिमाल, नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुल महम्मद मियाँ, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वृजकिशोर पटेल, कोषाध्यक्ष दयाशंकर सिंह, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रतिनिधि रचित ओझा, स्वास्थ्य सेवा विभागका डा. हेमन्त ओझा तथा लक्ष्मी पाण्डे लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय पर्सा तथा बारा जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विश्व स्वास्थ्य संगठन (WHO) का डा. प्रकट अर्याल, युनिसेफका अनिश शर्मा सुवेदी र मेघराज मगर तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा सरकारी तथा गैरसरकारी संघसंस्था, स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले हैजा रोकथाम तथा नियन्त्रणका लागि हालसम्म अपनाइएका अभ्यास, प्राप्त उपलब्धि, सिकाइ, चुनौती तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरेका थिए।
कार्यक्रममा वक्ताहरूले जलजन्य तथा सरुवा रोगको जोखिम अझै कायम रहेकाले समयमै पूर्वतयारी, प्रभावकारी निगरानी प्रणाली, जनचेतना अभिवृद्धि, सुरक्षित खानेपानीको सुनिश्चितता, सरसफाइ प्रवर्द्धन तथा स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यशालाबाट प्राप्त अनुभव, सिकाइ तथा सुझावलाई आगामी कार्ययोजनामा समावेश गर्दै हैजाविरुद्धको पूर्वतयारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका थिए। साथै सरकारी निकाय, विकास साझेदार संस्था तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै सम्भावित प्रकोपको प्रभावकारी व्यवस्थापनमा जोड दिने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।


