अभिलाष गुप्ता
वीरगंज, २० अषाढ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वीरगंज महानगरपालिकाको मेयर पदका आकांक्षी सुधीर पटेलको पक्षमा युवा भेला सम्पन्न भएको छ।
रन्दीप श्रीवास्तवको अध्यक्षतामा आदर्शनगरस्थित त्रिशला होटलमा आयोजित उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट करिब २२० जना युवा अगुवा तथा प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले जेन–जि आन्दोलनको मर्म, सिद्धान्त र उद्देश्यलाई आत्मसात् गर्दै आगामी स्थानीय निर्वाचनमा सुधीर पटेललाई मेयर पदमा विजयी गराउन सबै युवाहरू एकजुट भएर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
जेन–जि पर्साका मुख्य सल्लाहकार बिरेन्द्र कण्ठले सुधीर पटेलको पक्षमा जनस्तरमा व्यापक अभियान सञ्चालन गर्न आग्रह गर्दै परिवर्तनका लागि युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए।
विभिन्न वडाका प्रतिनिधिहरूले पनि आफ्नो धारणा राख्दै यसपटक वीरगञ्जमा नयाँ नेतृत्वको आवश्यकता रहेको उल्लेख गरे। उनीहरूले अवसरवादी राजनीति गर्ने तथा व्यक्तिगत स्वार्थका लागि मात्रै चुनावमा होमिने प्रवृत्तिको विरोध गर्दै त्यस्ता व्यक्तिहरूलाई राजनीतिक र सामाजिक रूपमा बहिष्कार गर्नुपर्ने धारणा व्यक्त गरे।
वक्ताहरूले विगतमा ठेकेदार तथा व्यापारी वर्गको प्रभावमा नेतृत्व चयन हुने क्रम दोहोरिएको उल्लेख गर्दै यसपटक वीरगञ्जवासीले परिवर्तनको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका उद्घोषक महादेव प्रसाद कुर्मीले जेन–जि आन्दोलनपछि देशमा परिवर्तनको वातावरण बनेको उल्लेख गर्दै अब स्थानीय तहको निर्वाचनमार्फत पनि परिवर्तनको लहर सिर्जना गर्नुपर्ने र वीरगञ्जलाई ठेकेदार तथा व्यापारी केन्द्रित राजनीतिक प्रभावबाट मुक्त गराउन सबै नगरवासीलाई आह्वान गरे।
कार्यक्रममा राम आर्य, महमुद अन्सारी, नितेश योगी, मुकेश राउत कुर्मी, सुरेश गुप्ता, सागिर अन्सारी (कावरवाला), अमर सराफ, अमित पटेल, विक्की सराफ, एम.डी. ओसामा लगायतले मन्तव्य व्यक्त गर्दै सुधीर पटेललाई मेयर पदमा विजयी गराउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको समापन अध्यक्ष रन्दीप श्रीवास्तवले गरेका थिए।


