अभिलाष गुप्ता
वीरगंज, २४ अषाढ । वीरगंज महानगरपालिका–१०, आदर्शनगरस्थित श्री आदर्श माध्यमिक विद्यालयमा विद्यालयभित्र अनुशासन, सुशासन तथा विद्यार्थी नेतृत्व विकास गर्ने उद्देश्यका साथ विशेष विद्यार्थी निर्वाचन (मतदान) कार्यक्रम सम्पन्न गरिएको छ।
विद्यालयको आन्तरिक व्यवस्थापनलाई थप व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउने लक्ष्यसहित कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा लोकतान्त्रिक विधिबाट प्रतिनिधि छनोट गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममार्फत विद्यार्थीहरूलाई सानै उमेरदेखि जिम्मेवारीबोध, नेतृत्व क्षमता, अनुशासन तथा लोकतान्त्रिक अभ्यासको व्यावहारिक अनुभव दिलाउने प्रयास गरिएको हो।
निर्वाचनमा कक्षा ६ देखि १० सम्मका कुल २०० जना विद्यार्थीले उत्साहपूर्वक आफ्नो मताधिकार प्रयोग गरेका थिए। मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र पारदर्शी रूपमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका कोर्डिनेटर राम नरेश पाण्डेयका अनुसार विद्यालयमा अनुशासन र सुशासनको वातावरणलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीहरूमा नेतृत्व विकास गर्ने उद्देश्यले यस्तो अभ्यास गरिएको हो। उहाँले भन्नुभयो, “विद्यार्थीहरूले आफैंले मतदान गरेर चयन गरेका प्रतिनिधिहरूले विद्यालयमा अनुशासन कायम राख्न, विद्यार्थीका समस्या तथा सुझाव विद्यालय प्रशासनसमक्ष पुर्याउन र विभिन्न रचनात्मक तथा सकारात्मक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।”
उहाँका अनुसार विद्यालयमा केवल शैक्षिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षा, नेतृत्व विकास र नागरिक चेतनासमेत आवश्यक भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
मतदानमा सहभागी विद्यार्थीहरूले पनि आफ्ना प्रतिनिधि आफैंले चयन गर्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार यस कार्यक्रमले निर्वाचन प्रक्रिया, मताधिकारको महत्व, नागरिक कर्तव्य तथा लोकतान्त्रिक मूल्य–मान्यताबारे व्यवहारिक ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको छ।
विद्यालयले सञ्चालन गरेको यस प्रकारको उदाहरणीय अभ्यासले विद्यार्थीहरूमा आत्मविश्वास, जिम्मेवारीबोध, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। साथै, विद्यालयभित्र लोकतान्त्रिक संस्कारको विकास गर्दै अनुशासित, जिम्मेवार र सक्षम विद्यार्थी उत्पादन गर्ने दिशामा यो कार्यक्रम प्रभावकारी कदमका रूपमा हेरिएको छ।


