15 July ,2026,Wednesday

श्री गहवा माई रथयात्राअघि प्रसादको गुणस्तरबारे चिन्ता, लड्डु–पेढाको अनुगमन गर्न उपभोक्ता अधिकारकर्मीको माग

अभिलाष गुप्ता
वीरगंज, ३१ अषाढ । वीरगंजस्थित ऐतिहासिक शक्तिपीठ श्री गहवा माई मन्दिर पुनर्निर्माणको १४ औँ वर्ष तथा श्री गहवा माई रथमालाको चौथो वर्षको अवसरमा आयोजना हुन लागेको भव्य रथयात्रालाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासमा बिक्री हुने लड्डु, पेढा तथा अन्य प्रसादजन्य मिठाईहरूको गुणस्तरप्रति उपभोक्ता अधिकारकर्मीहरूले गम्भीर चासो व्यक्त गरेका छन्।

आगामी २०८३ साल असार ३२ गते बिहान ८ बजेदेखि विशेष पूजा, हवन तथा साँझ ६ः३० बजेदेखि प्रसाद वितरण कार्यक्रम सञ्चालन हुने भएकाले हजारौँ भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। यसलाई मध्यनजर गर्दै मन्दिर वरिपरि बिक्री वितरण हुने प्रसादजन्य खाद्य सामग्रीको गुणस्तर परीक्षण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन सरोकारवालाहरूले माग गरेका छन्।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले बजारमा प्रतिकिलो १८० रुपैयाँसम्मका सस्ता लड्डु तथा अन्य मिठाई ठूलो परिमाणमा बिक्रीका लागि ल्याइए पनि तिनको उत्पादन मिति, प्रयोग गरिएका कच्चा पदार्थ, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको प्रभावकारी परीक्षण नहुने गरेको बताए।

उनका अनुसार धार्मिक आस्थासँग जोडिएका कार्यक्रममा भगवानलाई चढाइने प्रसाद नै गुणस्तरहीन वा अखाद्य भए त्यसले हजारौँ भक्तजनको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। “यदि प्रसादका रूपमा वितरण गरिएका गुणस्तरहीन लड्डु, पेढा वा मिठाई सेवनबाट भक्तजन बिरामी भए त्यसको जिम्मेवारी कसले लिने?” भन्दै उनले सम्बन्धित निकायलाई समयमै सचेत हुन आग्रह गरेका छन्।

अधिकारीले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, माईस्थान सञ्चालक समिति, श्री गहवा माई तीर्थ विकास समिति तथा स्थानीय प्रशासनले संयुक्त रूपमा बजार अनुगमन गरी गुणस्तरहीन खाद्य सामग्रीको बिक्री वितरण रोक्नुपर्ने माग गरेका छन्।

उनले धर्म र आस्थाको नाममा अखाद्य तथा गुणस्तरहीन मिठाई बिक्री गर्ने व्यवसायीमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ तथा प्रचलित खाद्य ऐनअनुसार जरिवाना र कानुनी कारबाही गर्नुपर्ने पनि बताएका छन्।

उपभोक्ता अधिकारकर्मीहरूले धार्मिक पर्व, मेला तथा रथयात्राका अवसरमा खाद्य सामग्रीको नियमित अनुगमन, नमूना परीक्षण तथा मापदण्डविपरीत कार्य गर्ने व्यवसायीमाथि कडा कारबाही भए मात्र उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित हुने बताएका छन्।

उनीहरूले “रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्न नदिन समयमै सचेत र सजग हुनु नै सबैभन्दा प्रभावकारी उपाय हो” भन्दै सम्बन्धित निकाय, व्यवसायी तथा उपभोक्तालाई खाद्य सुरक्षाको विषयमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...