अभिलाष गुप्ता
वीरगंज, ०२ साउन । महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्दै साना तथा घरेलु उद्यमलाई प्रोत्साहन गर्ने उद्देश्यले विमेन्स क्रिएशन्स क्लबद्वारा आयोजित २२ औँ समर फेयर प्रदर्शनी शनिबार वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोमा भव्य रूपमा सम्पन्न भएको छ।
क्लबकी अध्यक्ष रुपा अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देबिसहाय मीना प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा समाजसेवी जसपाल सिंह, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका उपाध्यक्ष तथा उद्योगपति सञ्जय अग्रवाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख टीकाराज चौलागाईं, नेपाल–भारत मैत्री संघका पूर्व राष्ट्रिय अध्यक्ष राजकुमार सिन्धी, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ उद्योगपति अशोक वैद्य, प्रभु अस्पतालकी सञ्चालिका डा. लक्ष्मी थापालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी क्लबकी उपाध्यक्ष श्वेता गुप्ता, पूजा खत्री, मनीषा सचदेवा, नूतन सरावगीसहित क्लबका पदाधिकारी, सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रदर्शनीमा नेपालका विभिन्न जिल्लासँगै भारतबाट आएका व्यवसायीहरूले हस्तकलाका सामग्री, रेडिमेड तथा डिजाइनर परिधान, गृह सजावटका सामग्री, सौन्दर्य सामग्री, खाद्य परिकार, ज्वेलरी, घरेलु उत्पादनलगायत विविध वस्तुका आकर्षक स्टलहरू राखेका थिए। प्रदर्शनी अवलोकन गर्न ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देबिसहाय मीनाले यस्ता प्रदर्शनीले महिला उद्यमशीलताको विकास, नेपाल–भारतबीचको व्यापारिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले महिलालाई आत्मनिर्भर बनाउने अभियानमा यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।
क्लबकी सदस्य नुतन सराउगीले विमेन्स क्रिएशन्स क्लबले विगत २२ वर्षदेखि महिला उद्यमीलाई आफ्नो उत्पादन बजारसम्म पुर्याउने अवसर उपलब्ध गराउँदै आएको बताइन्। उनले स्थानीय उत्पादनको प्रवर्द्धन, महिला उद्यमीको क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणका लागि क्लब निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।
आयोजकका अनुसार प्रदर्शनीले स्थानीय तथा भारतीय व्यवसायीबीच व्यापारिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउनुका साथै महिला उद्यमीलाई आफ्नो उत्पादनको बजारीकरण गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। कार्यक्रम सांस्कृतिक प्रस्तुतिसहित सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।


